मन्दी र औद्योगिक सुस्तताका बाबजुद पूर्वी नेपालको औद्योगिक क्षेत्रमा कामदारको अभाव कायमै रहेको देखिएको छ। सुनसरीको इटहरीमा जारी ‘सीप तथा रोजगार इटहरी–२०८३’ मेलामा विभिन्न उद्योग, प्रतिष्ठान तथा व्यावसायिक घरानाहरूले एकैपटक ६ हजारभन्दा बढी जनशक्तिको माग अघि सारेका छन्।
युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा सोल्टी वेस्टेन्ड परिसरमा आयोजित मेलामा प्रस्तुत तथ्यांकले पूर्वाञ्चलको उत्पादन तथा सेवा क्षेत्रमा अझै पनि ठूलो संख्यामा औद्योगिक मजदुर र प्राविधिकको माग रहेको देखाएको हो। रोजगार मेला पोर्टलमा उपलब्ध अद्यावधिक तथ्यांक अनुसार ४०१ भन्दा बढी पद र शीर्षकमा ६ हजार १ सय ८७ जना जनशक्तिका लागि आवेदन खुला गरिएको छ। थपिने क्रम जारी रहेकाले मेला अवधिभर यो माग १० हजार नाघ्ने आयोजकको अनुमान छ।
मन्त्रालयका अनुसार माग गरिएका कूल अवसरमध्ये ८० देखि ९० प्रतिशत कोशी प्रदेशकै उत्पादनमूलक उद्योग तथा स्थानीय व्यवसायसँग सम्बन्धित छन् । यसले मोफसलको औद्योगिक अर्थतन्त्रमा रोजगारी सिर्जनाको क्षमता अझै बलियो रहेको देखाउँछ ।
प्राविधिक र उत्पादन क्षेत्रमा उच्च माग
प्राप्त तथ्यांक अनुसार औद्योगिक क्षेत्र ‘अदक्ष र अर्ध–दक्ष’ श्रमिकको अभावसँग जुधिरहेको स्पष्ट हुन्छ । मेलामा उत्पादन र टेक्सटाइल क्षेत्रका ठूला उद्योगहरूबाट सबैभन्दा धेरै माग आएको छ।
मुख्यगरी फ्याब्रिकेटर हेल्पर ५ सय, स्पिनिङ लूम–मिसिन अप्रेटर ५ सय, डाइङ अप्रेटर ४ सय ७३, मिसिन अप्रेटर ४ सय ७३, विभर २ सय ५०, स्पिनर २ सय ५० र सेक्युरिटी गार्ड १ सय ५० जना माग गरिएको छ । यसबाहेक मेकानिकल टेक्निसियन, इलेक्ट्रिसियन, सिलाइ कर्मचारी, सेल्स स्टाफ, प्याकर, कुक र स्टोर किपर जस्ता पदमा पनि बहुराष्ट्रिय र राष्ट्रिय कम्पनीहरूको चासो उच्च छ ।
मेलामा भाटभटेनी सुपरमार्केट, एशियन थाई फुड्स, रिलायन्स स्पिनिङ मिल्स, सीजी फुड्स, गोल्डस्टार, सोल्टी वेस्टेन्ड, एनसेल, वल्र्डलिंक र हुवावे जस्ता ठूला निजी क्षेत्रका रोजगारदाताहरूको सहभागिता छ। परम्परागत रूपमा मेलास्थलमै पुगेर दिइने अन्तर्वार्ताका अलावा यसपटक श्रम मन्त्रालयले अनलाइन ‘जब पोर्टल’ लाई प्राथमिकतामा राखेको छ। अनलाइनमार्फत प्रोफाइल निर्माण, बायोडाटा प्रविष्टि र सीप अनुसारको रोजगारी छान्न सकिने प्रणालीले कोशी प्रदेश बाहिरका युवालाई पनि श्रम बजारमा पहुँच पुर्याएको छ।
विराटनगर–इटहरी औद्योगिक कोरिडोरमा लामो समयदेखि भारतीय श्रमिकमाथिको निर्भरता घटाउन र स्थानीय युवालाई औपचारिक श्रम बजारमा भित्र्उन यो मेला सेतु बन्ने अपेक्षा गरिएको छ । असोज १४ देखि सुरु भएको ‘सीप र रोजगारी ः साझा जिम्मेवारी’ नारासहितको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा युवाको सीप प्रोफाइलिङ तथा रोजगारदाता र तालिम प्रदायकसँग सम्बन्धित सूचना तथा परामर्श सेवा सञ्चालन भइरहेको छ । तालिमका सहभागी छनोट तथा प्रशिक्षार्थी समूह विभाजनको कामसमेत गरिने युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले जानकारी दिएका छन् ।
असोज १५ गतेदेखि १९ गतेसम्म १० वटा विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम, रोजगार मिलान, प्रदर्शनी, सूचना तथा परामर्श र उद्यमशीलतासम्बन्धी कार्यक्रमसमेत निरन्तर सञ्चालन हुनेछन् । मन्त्रालयका अनुसार मेलाको उद्देश्य युवालाई तालिममा सहभागी गराउनु मात्र नभई उनीहरूको सीपलाई रोजगारी तथा उद्यमसँग जोड्नु रहेको छ ।