रेमिट्यान्स ३९.८ प्रतिशतले बढ्यो, सात महिनामा भित्रियो साढे १२ खर्ब रुपैयाँ

12 March, 2026

Yagya Banjade

रोजगारीका लागि देशबाहिर गएका नेपालीले गएको सात महिनामा करिब साढे १२ खर्ब रुपैयाँ मुलुकमा पठाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा साढे १२ खर्ब रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ३९.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यससँगै सात महिनामा कुल रेमिट्यान्स १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ मुलुक भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

आर्थिक वर्ष २०८२/८३ को सात महिनामा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।

२०८२ माघमा रेमिट्यान्स आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड छ । गत वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ३७ अर्ब ५० करोड थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो । गएको २८ महिनायता हरेक महिना १ खर्बभन्दा बढी रेमिट्यान्स मुलुक भित्रिँदै आएको छ । यसअनुसार गत असोजमा हालसम्मकै सबैभन्दा बढी २ खर्ब १ अर्ब रेमिट्यान्स मुलुक भित्रिएको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४५ हजार १ सय ५३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४ सय २४ छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७४ हजार ६ सय २२ र १ लाख ९० हजार ८ सय ८६ थियो ।

रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । तर केही सातायता पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा तनाव बढ्दै जाँदा नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर पर्ने देखिएको छ ।

खाडी मुलुकमार्फत हुने हवाई सेवा प्रभावित भएको छ । हाल खाडी क्षेत्रमा करिब १९ लाख नेपाली श्रमिक छन् । रोजगारीका लागि हरेक वर्ष बिदेसिने ७ लाख नेपालीमध्ये खाडी मुलुकमा मात्रै करिब ६५ प्रतिशत अर्थात् साढे चार लाख पुग्छन् । अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानले खाडी मुलुकस्थित अमेरिकी सैन्य क्याम्पमा भन्दै यत्रतत्र प्रत्याक्रमण गरिरहेको छ ।

खासगरी इन्धन आयातमा गिरावट आउने र मूल्यवृद्धिसमेत हुने भएकाले नेपालको समग्र अर्थव्यवस्थामा असर पुग्ने विज्ञहरूको अनुमान छ । नेपाल भित्रिने कुल रेमिट्यान्सको करिब ४१ प्रतिशत खाडी क्षेत्रबाट आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १० खर्ब ३० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, त्यसमा खाडी मुलुकबाट आएको रेमिट्यान्स ४ खर्ब २२ अर्ब छ ।

आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २ अर्ब रेमिट्यान्स भित्रिएको थियो । त्यसमा खाडी मुलुकको हिस्सा ६ खर्ब ७३ अर्ब थियो । खाडी क्षेत्रबाट नेपालमा थोरै भए पनि पर्यटक आउने गरेका छन् । गत आर्थिक वर्षमा खाडी मुलुकबाट २० हजार ५ सय ४ पर्यटक आएको पर्यटन बोर्डको तथ्यांक छ । अघिल्लो वर्ष (१६ हजार ६ सय ४८) को तुलनामा गत वर्ष खाडी मुलुकबाट नेपालमा बढी पर्यटक आएका थिए । गएको आर्थिक वर्ष खाडी मुलुकबाट आएका पर्यटकको संख्या नेपालको कुल पर्यटकको १.८ प्रतिशत हो । गत आर्थिक वर्ष नेपालमा ११ लाख ५८ हजार ४ सय ५९ पर्यटक भित्रिएका थिए ।

पश्चिम एसिया क्षेत्रमा तनाव कायम रहिरह्यो भने नेपालको विदेशी मुद्रा आर्जनमा प्रभाव पर्नेछ । ती मुलुकबाट नेपाली उपभोक्ताका लागि आवश्यक ठानिएका सुन, चाँदी र तिनका गरगहना, तामाको तार, प्लास्टिक, प्याकेजिङ र पाइप उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ आयातसमेत प्रभावित हुनेछ ।

उपभोक्ताले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार मूल्य (उपभोक्ता मुद्रास्फीति) गत माघमा ३.२५ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.१६ प्रतिशत थियो । माघमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मूल्यवृद्धिदर क्रमशः ४.९५ प्रतिशत र ३.७४ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८२/८३ को सात महिनाको औसत मूल्यवृद्धिदर १.९२ प्रतिशत छ । गत वर्षको सोही अवधिको औसत मूल्यवृद्धिदर ४.८६ प्रतिशत थियो । यस्तै गत माघमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३, घिउ तथा तेलको ७.६१ र फलफूलको ७.४१ प्रतिशतले बढेको छ । तर, दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१९, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ र मरमसलाको २.६१ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २१.९८, शिक्षाको ७.४६, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८, सुर्तीजन्य पदार्थको ४.१५ र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ । सञ्चार उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.०८ प्रतिशतले घटेको छ ।

मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति ३३ खर्ब नाघेको छ । गत असारको तुलनामा माघसम्म यस्तो सञ्चिति ६ खर्ब २५ अर्बले बढेर ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ थियो । २०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड थियो । असारको तुलनामा यो २३.३ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ । २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकामा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशतले वद्धि भई ३ खर्ब ७५ अर्ब ६७ करोड कायम भएको छ । २०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको जनाइएको छ ।

गत माघमा मुलुकको शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोडले बचतमा छ । गत वर्षको सात महिनामा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ३ करोडले बचतमा छ । गत माघ मसान्तसम्म चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले बचतमा छ । गएको सात महिनामा १० अर्ब २२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ७ अर्ब ४३ करोड थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024