सिप र श्रमको सम्मान हुँदा खुसी

3 July, 2025

सीता शर्मा

काठमाडौँ, असार १९ गते । “रोजगारी खोज्दै मलेसिया र खाडीमा हन्डर खाई देशमा आएर उद्यमी बनेपछि सरकारी सम्मानको लायक भइयो । काम गरेपछि ढिलो वा चाँडो कदर हुँदो रहेछ,” यो भनाइ ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’ २०८१ बाट पुरस्कृत राजीव पोखरेलको हो ।

उहाँले मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) मा नौ वर्ष काम गरी स्वदेश फर्केर आफ्नो जन्मथलो झापाको दमकमा भूमिका सिपमूलक तालिम केन्द्रमार्फत विभिन्न सिप सिकाउने र उद्योग सञ्चालन गर्ने काम गर्दै आउनुभएको छ । उहाँको तालिम केन्द्र सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त छ । पोखरेलको भूमिका तालिम केन्द्रमा हाल ३५ जनाले नियमित रोजगारी प्राप्त गरेका छन् ।

पोखरेलका अनुसार तालिम केन्द्रमा ब्युटिसियन, सिलाइ बुनाइ, कफी सप, धुप बनाउने, गुडिया बनाउनेदेखि खानेकुरामा जाम, अचार बनाउने, हर्बल साबुन बनाउनेलगायतका छोटो अवधिको सिप सिकाइन्छ । उहाँका अनुसार सो केन्द्रमार्फत हालसम्म पाँच हजारभन्दा बढीले सिप सिकेका छन् र तीमध्ये लगभग एक तिहाइ रोजगार तथा स्वरोजगार छन् । कुनै बेला वैदेशिक रोजगारीमा जान ऋण नपाउने आफन्त र छिमेकी अहिले पोखरेलको कर्मको चर्चा गरेर थाक्दैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर देशमा सफल उद्यमी बन्न सफल पोखरेलसहित आठ युवा उद्यमीलाई पुरस्कृत गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमी सफल भएकामध्येबाट उत्कृष्ट आठ जनालाई श्रममन्त्री शरतसिंह भण्डारीले मङ्गलबार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

वैदेशिक रोजगारीबाट फर्केका युवालाई देशमा नै रोजगारीका अवसर सिर्जना गर्न प्रेरित गर्न मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यमी बनेका उद्यमीलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ ।

राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि उद्यमीलाई सार्वजनिक रूपमा नै आवेदनको माग गरिएको थियो । इमेलमार्फत ५६ जना उद्यमीको पुरस्कारका लागि आवेदन आएको थियो । विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’ बाट पोखरेल र ‘उद्यमी राष्ट्रिय पुरस्कार’ बाट प्रत्येक प्रदेशबाट एक/एक जनाको दरले सात जना सफल उद्यमी युवालाई पुरस्कृत गरिएको हो ।

‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार २०८१’ बाट पुरस्कृत पोखरेललाई एक लाख ५० हजार नगदसहित पुरस्कृत हुनुभयो । ‘उद्यमी राष्ट्रिय पुरस्कार २०८१’ बाट क्रमशः कोशी प्रदेशको मोरङमा आमा कृषि फार्म सञ्चालक राजीव खड्का, मधेश प्रदेशको बारामा निम्तो एग्रो फार्मका सञ्चालक शङ्कर सिम्खडा, बागमती प्रदेशको दोलखामा वैतेश्वर रेस्ट एन्ड क्याटरिङ सर्भिसका सञ्चालक कुमार श्रेष्ठ ७५ हजार नगदसहित पुरस्कृत हुनुभएको छ ।

यसै गरी सोही पुरस्कारबाट गण्डकी प्रदेशको तनहुँमा वसन्त पोल्ट्री फार्मका सञ्चालक वसन्तबहादुर खड्का, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा न्यु सन्ध्या होटेल एन्ड रेस्टुरेन्ट र सासूबुहारी कृषि तथा पशुपालन फार्मका सञ्चालक शोभाखर पौडेल, कणाली प्रदेशको सुर्खेतमा देउती होजियारी उद्योग एन्ड टे«डिङ सेन्टरका सञ्चालक लक्ष्मीप्रसाद ढकाल र सुदूरपश्चिम प्रदेश बैतडीमा कैलपाल बहुद्देश्यीय कृषि फार्मका सञ्चालक तकसिंह विष्ट ७५ हजार पुरस्कारसहित पुरस्कृत हुनुभयो ।

श्रम मन्त्रालयले २०७६ सालदेखि हरेक वर्ष प्रत्येक प्रदेशबाट एक/एक जना र देशभरबाट उत्कृष्ट एक जना गरी आठ जनालाई पुरस्कार दिँदै आएको छ ।

कार्यक्रममा श्रममन्त्री भण्डारीले एक पटक विदेश गएर सिकेका ज्ञान, सिप र पुँजीलाई मुलुकभित्रै प्रयोग गरी उद्यमी बनाउन आवश्यक वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024