काठमाडौँ — इजरायल र इरानबीच तेस्रो दिनपनि युद्ध जारी छ । बिहीबारदेखि सुरु भएको युद्ध झन् बढ्दै गइरहेको छ ।
इजरायलको मिसाइल आक्रमणबाट इरानको राजधानी तेहरानमा उच्च सुरक्षा अधिकारीहरुसहित २ सय २० जनाको मृत्यु भइसकेको अलजजिराले उल्लेख गरेको छ । तेहरानमा उच्च जोखिम भएको भन्दै स्थानीय सर्वसाधारणहरु ग्रामीण भेगतिर जान थालेका छन् । तेहरानमा काम गरिरहेका नेपाली भने के गरिरहेको छन् त ? एक विदेशी दूतावासमा ८ वर्षदेखि काम गरिहेको सागर पौडेलसँग कान्तिपुरकर्मी होम कार्कीले गरेको कुराकानीको सम्पादित अंश :
तेहरानमा १२ जना नेपाली कार्यरत छन् । उनीहरु ८ देखि ३५ वर्षसम्म काम गरेर बसेका नेपाली छन् । जसमध्ये अधिकांश जना विभिन्न विदेशी दूतावासको सहयोगी कर्मचारीको रुपमा कार्यरत छन् । तेहरानको सहरमा अन्धाधुन्ध मिसाइल खसेकोजस्तो लाग्दैन । इजरायलले टार्गेट गरिएको स्थानमा बढीजसो मिसाइल खसिरहेको छ । हामी विभिन्न देशका राजदूतावास भएको स्थानमा बस्छौं । सबै विदेशी राजदूत र कूटनीतिक कर्मचारी पनि यतै बसेका छन् । सबैले यो परिस्थिति कसरी अगाडि बढ्छ ? त्यो अनुसार अगाडि बढ्ने तयारी गरिरहेका छन् । सबै विदेशी नागरिक इरानबाट निस्किने परिस्थति बन्यो भने हामी पनि निस्कने योजनामा छौं ।
मेरो आफन्त पनि मेरो साथमा नै छ । हरेक वर्षजसो बिदामा आउने जाने चलिरहेको थियो । पहिला त निकै शान्त थियो । अहिले युद्धले अशान्त भइदियो ।
हामी दूतावासबाट बाहिर निस्किने गरेको छैनौं । कतिपयको एकातिर काम गर्ने र अर्कोतिर बस्ने गर्छन् । म जहाँ बस्छु, त्यहाँ नै काम गर्छु । बाहिर जानुपरेमा पनि अनलाइनमा गाडी बोलाउने गरेका छौं ।
हामी बसेको ठाउँको नजिक त मिसाइल खसिरहेको छ । हामी बस्ने भवन अग्लो छैन ।
इरानमा बस्न ठूलो सेल्टर कोठा छैन । बाहिरका धेरैजसो मेट्रो स्टेसनमा लुक्न जाने गरेको छौं । जमिनमुनि ७–८ सयमुनि मेट्रो चल्छ । धेरैजसो जमिनमुनि गएर बस्ने गर्छन् । हामी जाने गरेको छैनौं । सबै त्रासमा बसेका छौं । बाहिर बजार पनि चहलपहल नै छ । प्राय: आक्रमण राति भइरहेको छ । हामी ११ जना वरिपरि नै बसिरहेका छौं । बेला बेला भेट्छौं । एकजना मात्रै आफ्ना बालबच्चासहित बसिरहेका छन् । अरुको परिवार छैन ।
हामी नेपालको इरानी अवैतनिक महावाणिज्यदूतसँग नियमित सर्म्पकमा छौं ।