नुवाकोट : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधिश कल्याण श्रेष्ठले अहिलेको राजनीति निराशावादी भएका कारण जनशक्ति पलायन भइरहेको बताएका छन्। नुवाकोटको बट्टार बजारमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधिश श्रेष्ठले अब सबैले निराशालाई अन्त्य गर्नुपर्ने समय आइसकेको बताएका हुन्।
श्रेष्ठले पहिले जस्तै अहिले पनि अर्थतन्त्र उही र उस्तै अवस्थामा रहेको, देशमा उत्पादकत्व नबढेको, जनशक्ति विदेसिएको, आयात अवस्था बढेको, ऋणभार थपिएको, अनुत्पादनशील क्षेत्र वढेको र केहि रेमिट्यान्सको भरमा मात्र देश थामिएको बताए।
देशमा व्यवस्था फेरिएपनि अवस्था उस्तै रहँदा नेपाली जनतामा निराशा छाएको श्रेष्ठको आरोप छ। विदेशिएका जनशक्तिले पठाएको रेमिट्यान्ससमेत अनुत्पादक क्षेत्रमा खर्च भइरहेको श्रेष्ठको भनाई छ।
श्रेष्ठले भने, ‘देशमा चुनाव त हुन्छ, नेताले चुना जित्छन्। नेपालको सबै दलमा नेताहरू त अवश्य छन्। तर, देशले खोजेको नेतृत्व अहिलेसम्म पाउन सकेको छैन।’
जनतालाई समृद्धिको मार्गमा लैजान युवा जनशक्तिलाई देशमै रहन दिने वातावरण बनाउन अग्रसर हुनु पर्ने बताए।
संवाददाता भट्ट र विद्यार्थी पुरस्कृत
नुवाकोटको विदुरमा गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ। यसका साथै उत्कृष्ट नतिजा ल्याएका विद्यालयलाई सम्मानित गरिएको छ।
नुवाकोट र रसुवामा शिक्षा, स्वास्थ्य र सामाजिक गतिविधिमा रहेको यशोदादेवी-भगवानसिंह केसी मेमोरियल ट्रष्टले सोमबार विदुरमा चार जना विद्यार्थी र एक जना पत्रकार र सात वटा विद्यालयलाई सम्मान गरेको हो। गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरू रेजिना भण्डारी, आविस्कार ओस्ती, आरभ कोइराला र यमुना पौडेललाई ट्रष्टले कदर पत्रका साथ जनही नगद १० हजार रुपैयाँ दिएर पुरस्कृत गरेको हो।
उत्कृष्ट नतिजा ल्याएवापत सम्मानित गरिएका विद्यालयहरुमा विनायक मावि सुर्यगढी, शिलादेवी मावि वेलकोटगढी, शहिद जगत प्रकाशजंग शाह संस्कृत मावि देवीघाट, पृथ्वी मावि विदुर तथा कालिका हिमालय मावि कालिकास्थान रसुवालाई सम्मानित गरिएको छ।
आम सर्वसाधारणमा सचेतना फैलाउन पत्रकारितामार्फत योगदान पुर्याएबापत अन्नपूर्ण पोष्टका नुवाकोट सम्वाददाता देवचन्द्र भट्टलाई सम्मान गरेको छ। अदालतका पूर्व प्रधानन्यायाधिश श्रेष्ठले आयोजककातर्फबाट नगद १० हजार रुपैयाँ राशीसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरेको हो। २५ वर्षदेखि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकास तथा प्रवर्द्धनमा पत्रकारितामार्फत योगदान गरेको मूल्यांकन गर्दै ट्रष्टले संवाददाता भट्टलाई सम्मान गरेको हो। २०६५ सालमा स्थापित ट्रष्टको सामाजिक गतिविधिलाई उच्च प्राथमिकताका साथ जनपक्षीय कलम चलाएको कारण सम्मान तथा पुरस्कृत गरिएको ट्रष्टका सहसचिव सरोज केसीले बताए।