मकींपक्स पुष्टि भएका बिरामीको शरीरभरि ५० भन्दा बढी फोका

31 December, 2024

Prashant Mali

आइतबार मकींपक्स पुष्टि भएका बिरामीको शरीरभरी ५० भन्दा बढी फोका उठेर प्रापा बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकहरूका अनुसार ती पुरुषको शरीरको भित्री अंगमा भने असर गरेको देखिएको छैन ।

छाला रोग विशेषज्ञ डा.सिवेन्द्रकुमार झाका अनुसार मकींपक्स पुष्टि भएका ती पुरुषको मृर्गौला, फोक्सो, कलेजो जस्ता संवेदनशील अंगमा भने असर गरेको छैन । ‘अनुहार, छाती, हातखुट्टालगायत शरीरभरि सङ्क्रमण देखिएको छ,’ उनले भने, ‘छालाको दृष्टिकोणबाट हेर्दा संवेदनशील छ ।’

उनका अनुसार अस्ति देखिएको केस भन्दा यो जटिल छ । यसअघि गत पुस ५ गते साउदीबाट नेपाल फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा पनि मंकीपक्स पुष्टि भएको थियो ।

हाल मकींपक्स पुष्टि भएका सिन्धुलीका ४४ वर्षीय ती पुरुष साउदी अरबमा करिब १६ वर्षदेखि काम गर्दै आइरहेका हुन् । मकींपक्स रोग लागेपछि साउदी अरबको अस्पतालमा विगत १७ दिनदेखि उपचारार्थ थिए । त्यहाँ राम्रो उपचार नपाएपछि उनी उपचारकै लागि नेपाल फर्केको छाला रोग विशेषज्ञ डा झाले बताए ।

शनिबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनी साउदी अरबस्थित काम गर्ने कम्पनीबाटै टिकट बुकिङ गरेर दोहा हुँदै नेपाल आएका थिए ।

उनी विमानस्थलबाट सिधै स्वयम्भुस्थित आफन्तमा गए । भोलिपल्ट आइतबार उपचारका लागि सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पुगे । त्यहाँ शङ्का लागेर नमुना परीक्षण गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । बेलुका साढे ७ बजे आएको रिपोर्टमा मंकीपक्स पुष्टि भएको थियो । उनी यो भन्दा एक वर्ष अगाडि नेपाल आएका थिए ।

यसअघि मंकीपक्स पुष्टि भएका तनहुँका ३६ वर्षीय एक पुरुषको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026