विदेशबाट आउँदा ल्याएको मोबाइल बिक्री गर्न नपाइने, उपहारमा नयाँ नियम

4 June, 2025

भागवत भट्टराई

विदेशबाट फर्किँदा आफू वा आफन्तका लागि सामान ल्याइदिनु सामान्य कुरा हो। तपाईं पनि विदेशबाट आउँदै हुनुहुन्छ र साथमा सामानहरू ल्याउँदै हुनुहुन्छ भने नयाँ बजेटले ल्याएका नयाँ नियम याद गर्नुहोला।

विदेशबाट आउँदा ल्याउन पाइने सामानका हकमा बजेटले केही नियम परिमार्जन गरेको भन्सार विभागले जनाएको छ।

नयाँ नियम अनुसार श्रम स्वीकृति लिएर कम्तीमा ६ महिना काम गरेर फर्केको व्यक्तिले एउटा नयाँ मोबाइल फोन ल्याउन पाउनेछ। यसअघि नयाँ र पुरानो गरी दुइटा मोबाइल ल्याउन पाउने व्यवस्था थियो।

त्यो व्यवस्था दुरूपयोग भएको र पुरानोका नाममा पनि नयाँ मोबाइल नै ल्याउने प्रवृत्ति देखिएको भन्सारको भनाइ छ। त्यही भएर यसलाई संशोधन गरेर प्रस्ट रूपले एउटा मात्र नयाँ मोबाइल ल्याउन पाउने भनी किटान गरिएको हो।

विदेशबाट फर्किँदा भन्सार छुटको रक्सी किनेर ल्याउने सुविधा पनि छ। नयाँ बजेटले एक जना व्यक्तिलाई एक लिटरसम्मको रक्सी भन्सार नतिरी (ड्युटी फ्री) ल्याउन पाउने व्यवस्था गरेको छ।

भन्सार छुट सुविधामा ल्याइने मोबाइल, रक्सी वा अन्य सामान बेचबिखन गर्न पाइने छैन। यसका लागि भन्सार सुविधामा ल्याइएका सामानमाथि विशेष छाप लगाइनेछ। उक्त छापमा ‘यो सामान व्यावसायिक रूपमा खरिद-बिक्री गर्न पाइने छैन’ भनेर लेखिएको हुनेछ।

कसैले खरिद-बिक्री गरेको पाइए जफत हुने विभागले जनाएको छ।

बजेटले झिटिगुन्टा अन्तर्गत ल्याइने सामानको मूल्यांकन प्रणाली पनि परिवर्तन गरेको छ। पहिले सामान ल्याउने व्यक्तिले नै मूल्य घोषणा गर्न पाउने नियम थियो। भन्सार निर्धारण गर्दा त्यही मूल्यलाई आधार मानिन्थ्यो। यो व्यवस्थाको दुरूपयोग भएपछि भन्सारले आफूलाई शंका लागेको अवस्थामा सामानको वास्तविक मूल्य खोजी गर्ने छ।

उदाहरणका लागि, कसैले ५०० डलर पर्ने सामानलाई २०० डलर भन्यो भने भन्सारले वास्तविक मूल्य खोजेर त्यसै अनुसार कर असुल्नेछ। यसको निम्ति भन्सारले आफूसँग भएको सन्दर्भ मूल्यसूची वा त्यस्तै सामान अरूले कतिमा ल्याएका थिए भनेर हेर्नेछ।

पहिले वास्तविकभन्दा कम मूल्यांकन गरेर सामान ल्याउँदा जरिवाना लाग्ने व्यवस्था थिएन। अब भने कम मूल्यांकन गर्नेलाई जरिवाना तिराइनेछ।

यति मात्र होइन, केही समययता जापान, कोरिया वा अन्य देशमा रहेका व्यक्तिले उपहार पठाएको भन्दै पुराना सामानको नाममा कार्गो गर्ने प्रवृत्ति बढेको भन्सार विभागको अनुगमनमा देखिएको थियो। यसमा छानबिन गर्दा माथि माथि पुराना सामान राखेर त्यसभित्र नयाँ सामान पठाइएको पाइयो।

व्यक्तिगत झिटीगुन्टा अन्तर्गत भन्सार छुटमा भित्रिने पुराना सामान व्यावसायिक प्रयोजनमा ल्याइएको फेला परेपछि भन्सारले यस किसिमको चोरी पैठारी रोक्न नयाँ नियम लागू गरेको छ।

अबदेखि कार्गोमा कसैले पुरानो सामान पठायो भने त्यो सामान विमानस्थलले जफत गर्नेछ। भन्सार छुटमा त्यो सामान लैजान पाइँदैन। तर कसैले पुरानो सामानलाई नयाँ दाबी गर्छ भने, नयाँ सामानकै भन्सार महसुल तिरेर लैजान सक्नेछ।

यसको अर्थ हो, नयाँ वा पुरानो जुनसुकै सामान कार्गो भए पनि, भन्सार तिरेर मात्र ल्याउन सकिन्छ।

यो व्यवस्था सामान्य यात्रुका लागि भने होइन। कार्गो गरेर पठाइएका सामानका लागि मात्र हो।

त्यस्तै अबदेखि उपहारका रूपमा अधिकतम पाँच सय डलरसम्मको सामान मात्र ल्याउन पाइनेछ। त्योभन्दा बढीको सामान भए जरिवाना लाग्नेछ। उदाहरणका लागि, कसैले ८०० डलर बराबरका सामान पठाएको छ भने ३०० डलरको सामानमा जरिवाना लाग्नेछ।

लत्ताकपडा, जुत्ता, कस्मेटिक लगायत सामानको परिमाणमा पनि सीमा तोकिएको छ। एक जना व्यक्तिले अधिकतम पाँच वटा लुगा वा पाँच जोर जुत्ता मात्र नयाँ ल्याउन पाउनेछ।

उपहारका नाममा व्यावसायिक प्रयोजनका सामान भित्रिने क्रम बढेपछि यस्तो नियम लागू गरिएको हो।

भन्सार अधिकारीहरूका अनुसार केही समयअघि उपहारका नाममा २८० जोर मोजा पठाइएको थियो। नयाँ नियमले यस्तो प्रवृत्तिमा रोक लाग्ने अधिकारीहरू बताउँछन्।

विदेशबाट स्थायी रूपमा नेपाल फर्केका नेपालीलाई भने आफूले प्रयोग गरेका सबै व्यक्तिगत सामानमा भन्सार नलाग्ने सुविधा दिइएको छ।

यो सुविधा पाउन श्रम स्वीकृतिसहित विदेश गएको र स्थायी रूपमा नेपाल फर्किएकाहरूले मात्र पाउने छन्। यसको निम्ति श्रम स्वीकृति र नेपाल फर्किएको कागजपत्र पेस गर्नुपर्नेछ। सम्बन्धित व्यक्ति आफै उपस्थित हुन अनिवार्य छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026