श्रम, रोजगार मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरिने

12 December, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय मातहत रहने गरि आन्तरिक रोजगार महाशाखा स्थापना गरिने बताएका छन्। राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले स्वदेशभित्र नै रोजगारीको सम्भावनाहरुलाई अध्ययन गरि रोजगारी सिर्जना गर्ने उद्देश्यले आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको बताएको हो। 

यसका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको उनले बताए। मन्त्री भण्डारीले वैदेशिक रोजगारको क्षेत्रलाई हेर्ने निकायहरू रहेपनि आन्तरिक रोजगारको क्षेत्रलाई हेर्ने छुट्टै निकाय नभएकाले आन्तरिक रोजगार महाशाखाको अवधारणामा अघि बढेको जानकारी दिए।

उनले युवाहरूलाई रोजगारका लागि योग्य बनाउन आवश्यकता तालिम दिनुपर्ने र स्वदेशमा नै परिचालन गर्नुपर्नेमा जोड दिए। लागतभन्दा बढी रकम तिरेर वैदेशिक रोजगारमा जानुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि सरकारको ध्यान केन्द्रित रहेको उनको भनाइ छ। 

उनले वैदेशिक रोजगारमा गएका युवाहरूको सीपलाई स्वदेशमा फर्किएपछि नेपालमा नै प्रयोग गर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024