हजार वर्षदेखि बिदेसिइरहेका नेपाली

27 May, 2025

आजभन्दा १४ सय वर्षअघि राजा गुणकाम देवको शासनमा ७ सय नेपाली विदेशमा थिए भनेर आर्थिक इतिहासका विद्वान्हरू बताउँछन् । उनी स्वयं लिच्छवि राजा हुन् र लिच्छविकाललाई इतिहासकारहरू स्वर्णकालको संज्ञा पनि दिन्छन् । तसर्थ, नेपाली बिदेसिने र खास गरी रोजगारीका लागि बिदेसिने गरेको राज आजको होइन, यो एउटा सदावहार प्रवृत्ति भइरहेको छ ।

सय वर्षअघि पहिलो विश्वयुद्धताका लाख नेपाली युद्धका लागि गएका थिए भनिन्छ जबकि युद्धमा जानु भनेको मृत्युसँग पौंठेजोरी खोज्ने सुनिश्चितता हो । आजको दिनमा प्रत्येक दिन १५ सयको संख्यामा वैदेशिक रोजगारीका लागि नेपाली बिदेसिन्छन् भनेर चिन्ता गर्नुभन्दा पहिला सयौं वर्ष होइन, हजार वर्षअघिदेखि नै नेपाली किन बिदेसिन थालेका हुन् भनेर चिन्तन गर्नुपर्छ । विदेशको काम भनेर केवल भारतका उत्तर पहाडहरूमा नंग्रा खियाइरहेका कर्णाली प्रदेशका बासिन्दा अचेल खाडी, मलेसिया धाउन थाल्नु केवल गन्तव्य फेरिनु भए पनि प्रवृत्ति त उही नै हो ।

बरु, विक्रम् संवत्को १ हजारदेखि १४ सय सालसम्म गज्जब चलेको कर्णाली केन्द्रित खस साम्राज्यकै पालामा रोजगारीका लागि त्यहाँका बासिन्दा बिदेसिएको पढ्न पाइएको छैन । तर, समृद्ध खस साम्राज्यको केन्द्र कर्णाली आज किन समृद्धिको सूचीमा पछाडि छ र रोजगारीका लागि गन्तव्य फेराफेरी हिँडिरहन्छ, खोजीको विषय हो । सर्सति हेर्दा काठमाडौं केन्द्रित शासन चलेयता पछाडि पारिएकैले कर्णालीले समृद्धि भेट्न मुस्किल परिरहेको छ । तर, जसै गणतन्त्र आइसक्दा पनि बिदेसिने पीडा त्यहाँ ज्युँका त्युँ रहनु विडम्बना मान्नुपर्छ ।

जबकि, कर्णालीको भूगोल काठमाडौंका लागि दुर्गम हो, प्रकृतिका लागि होइन, सम्भावनाका लागि होइन । हिमाली र पहाडी मिश्रित भूगोल भएको कर्णालीबाट यो वर्ष ३० हजार कर्णालीबासी रोजगारीका लागि बिदेसिए, खासमा तिनलाई स्वदेशमै र प्रदेशमै रोजगारीका तमाम अवसर सिर्जना गर्न वा उनीहरूलाई उद्यमी, इलमी बनाउन राज्य चुकेको हो ।

सानातिनासमेत गरी २० हजार उद्योग र तिनमा झन्डै ६० हजारलाई रोजगारी मिलेको तथ्यांक कर्णालीसँग छ । जबकि, कर्णालीमा जडीबुटीका उद्योग चल्न सक्छन् । तरकारी तथा फलफूलको व्यापक व्यावसायिक खेती हुनसक्छ र त्यसलाई उद्योगको रूपमा विकास गर्न सकिन्छ । पर्यटन त्यहाँको अर्को अति सम्भावना भएको क्षेत्र हो, जसले राज्यलाई राजस्व र स्थानीयलाई रोजगारी दिन सक्छ । तर, भौतिक पूर्वाधार र शिक्षा, स्वास्थ्यका आधारभूत आवश्यकतामा पनि कर्णालीलाई काठमाडौंले जसरी पछि पारेको पार्‍यै छ, त्यसले यहाँका अभूतपूर्व सम्भावनालाई पनि चपरीमुनि पुरेको छ ।

त्यसैले युवा बिदेसिन अभिशप्त छन् । कहिले लाहुरे बनेर त कहिले भरिया वा मजदुर जुनसुकै बहानामा पनि नेपाली रोजगारीका लागि सधैं बिदेसिनुपर्ने हो भने देशले समृद्धि हासिल गर्ने कुरा फगत सपना मात्रै हुने निश्चित छ । त्यसैले खोजी गर्नुपर्छ, हजार वर्षदेखि किन बिदेसिन अभिशप्त छन् नेपाली ?

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026