भुटानी शरणार्थी काण्डबाट निहुरिएको नेपालको शीर भिजिट भिसा काण्डले थप निहुराएको छ : रिजाल

26 May, 2025

नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नक्कली भुटानी शरणार्थी काण्डबाट निहुरिएको नेपालको शीर भिजिट भिसा काण्डले थप निहुराएको बताएका छन्।

उनले बेरोजगार नागरिक बेचेर पैसा असुल्नेहरूले कानुनका छिद्र समातेर सरकारी अदालतबाट उन्मुक्ति पाइहाले पनि नागरिकको अदालतमा उनीहरू सदासर्बदा अपराधीकै रूपमा अभिलिखित हुने बताए।

रिजालले जुन देशको गृह मन्त्रालयकै उच्च नेतृत्वको योजना र संलग्नतामा मानव तस्करी हुन्छ, त्यस देशको हालत र अन्तर्राष्ट्रिय छवि कस्तो हुन्छ होला भन्दै प्रश्न समेत गरेका छन्।

‘जुन देशको गृहमन्त्रालयकै उच्च नेतृत्वको योजना र संलग्नतामा मानव तस्करी हुन्छ, त्यस देशको हालत र अन्तर्राष्ट्रिय छवि कस्तो हुन्छ होला? एकजना होनहार गृहमन्त्री भएको बेला भुटानी शरणार्थी काण्डबाट निहुरिएको नेपालको शीर अर्का होनहार गृहमन्त्री भएको बेला भएको ‘भिजिट भिसा’ काण्डले थप निहुराएको छ,’ सामाजिक सञ्जालमा रिजालले लेखेका छन्, ‘बेरोजगार नागरिक बेचेर पैसा असुल्नेहरूले कानुनका छिद्र समातेर सरकारी अदालतबाट उन्मुक्ति त मिलाइहाल्लान् तर नागरिकको अदालतमा तिनीहरू सदासर्वदा अपराधीकै रूपमा अभिलिखित हुनेछन्।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण कारागारमा रहेका थिए। पछि उनी १५ लाख धरौटीमा छुटेका थिए। यस्तै पछिल्लो समय भिजिट भिसा प्रकरणमा वर्तमान गृहमन्त्री रमेश लेखकको पनि नाम जोडिएको छ।

यस प्रकरणमा नाम जोडिएपछि उनको अलोचना भइरहेको छ भने राजीनामा समेत माग गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026