कोरिया जान परीक्षा उत्तीर्ण गरेका सबै नेपालीलाई लैजान राजदूतसँग श्रममन्त्रीको आग्रह

13 January, 2025

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका सबै नेपालीलाई लैजान कोरियाली राजदूतसँग आग्रह गरेका छन् ।

बिहीबार नेपालका लागि कोरियाली राजदूत पार्क ताई योङसँग भेट गर्र्दै उनले कोरिया जान सबै चरण पूरा गरी उडान पर्खाइमा रहेका कामदारलाई छिटो, सरल र सहज ढंगबाट लैजान आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

उनले राजदूत योङसँग आगामी दिनमा कामदारको माग संख्या बढाउन पहल गर्नुपर्ने समेत बताए । कोरिया भाषा उत्तीर्ण गरेका, तयारीमा रहेका, विगतमा रोस्टरमा नाम परेका तर कोरिया जान नपाएका व्यक्ति समेतलाई लक्षित गरी आगामी दिनमा विशेष व्यवस्था गर्न पनि उनले आग्रह गरे ।

भेटमा कोरियाली राजदूत योङले नेपाली कामदारको उच्च कदर गर्दै नेपालबाट निरन्तर कामदार लैजाने र थप लैजाने विषयमा आफू सकारात्मक रहेको बताएका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024