चिकित्सक पलायनको तथ्यांकले दिएको चेतावनी

16 January, 2025

एउटा बस्तीबाट अर्को बस्ती, एउटा क्षेत्रबाट अर्को क्षेत्र र एउटा देशबाट अर्को देश बसाइँ सर्नु मानव सभ्यताको नियमित अभ्यास हो । सुविधा, अध्ययन, रोजगारी र उद्यमको खोजीका लागि देशभित्रै वा बाहिर चलायनमान भएकैले मानव जाति उन्नत र समृद्ध भएको हो ।

यस्तो ओहोरदोहोरले नै ज्ञान, सीप, संस्कृति, विचार, सञ्चार र प्रविधिमा मानवले प्रगति गरेको हो । त्यसैले विदेश जाने विषयमा निरपेक्ष रूपमा नकारात्मक टिप्पणी गर्नु वाञ्छनीय हुँदैन । तर खास देशका मानिसहरू विदेश जाने विषयलाई नै आफ्नो मुख्य लक्ष्य बनाइरहेका छन् भने त्यो समाज र राज्यका लागि चिन्ताको विषय हो ।

चिकित्सक बन्ने प्रक्रिया तुलनात्मक रूपमा कठिन र खर्चिलो छ । यसका लागि सम्बन्धित व्यक्तिको कठोर परिश्रम, समय लगानी भएको हुन्छ । परिवार र राज्यको आर्थिक लगानी पनि उच्च हुन्छ । यसरी तयार हुने चिकित्सक बाहिरिने हो भने एउटा दक्ष जनशक्ति मात्रै बाहिरिँदैन, सम्बन्धित सबैको लगानीको प्रतिफलबाट पनि समाज र राज्य वञ्चित हुन्छ ।

अर्कोतिर, यसरी बाहिरिने जनशक्ति युवा वा सक्रिय उमेरका हुने गर्छन्, जोसँग अध्ययन र काम गर्ने हुटहुटी उच्च हुने गर्छ । यस्ता जनशक्ति बाहिरिँदा नेपालले जनसांख्यिक लाभ लिने अवसर पनि गुमाउँछ । राज्यले गम्भीर हुनुपर्ने यस्ता अनेकौं कोणहरू छन् । उसले व्यक्तिविशेषलाई बाध्यकारी ढंगले रोक्ने होइन, यहीं नै भविष्य राम्रो हुन्छ भनेर विश्वास गर्न सक्ने आधार निर्माण गर्नुपर्छ । त्यो प्रयत्न नै दिगो हुनेछ ।

सरकारले गठन गरेको समितिको प्रतिवेदनमा चिकित्सक विदेश जान चाहने केही कारण उल्लेख छन् । मुख्यतः न्यून तलब र सुविधा, अध्ययन–अनुसन्धान र वृत्ति विकासमा प्रोत्साहनको अभाव, स्वास्थ्य संस्थामा भइहरने हिंसाका घटना र परिष्कृत स्वास्थ्य संस्थाको अभावजस्ता कारणले उनीहरूलाई विदेश धकेलिरहेको छ । चिकित्सा क्षेत्रसँग जोडिएका व्यक्तिले व्यक्तिगत रूपमै राखिरहेका अनुभवजन्य धारणालाई पछ्याउने हो भने उल्लेखित कारण सही नै लाग्छन् ।

जस्तो कि, एमबीबीएस अध्ययनका लागि ४५ लाख ९५ हजार ७२० रुपैयाँ लाग्छ । तर उसको न्यूनतम मासिक तलब स्केल (ग्रेडबाहेक) भने ४८ हजार ७३७ मात्रै छ । उच्च लगानीबाट तयार हुने जनशक्तिले पाउने यो तलब असाध्यै कम हो । स्वाभाविक हो, त्यही जनशक्ति विशेष जाँदा कैयौं गुना बढी तलब र सुविधा पाउँछ । व्यक्तिगत क्षमताको प्रस्फुटनदेखि नयाँ सीप सिक्ने पाउने अवस्था पनि यहाँ असाध्यै न्यून छ ।

चिकित्सा पेसामा मात्रै समस्या छ भन्ने अवश्य होइन । जुनसुकै पेसालाई केन्द्रमा राखेर बहस गरे समस्या र सम्भावनाको लामो सूची तयार गर्न सकिन्छ । त्यसैले राज्यको प्राथमिक दायित्व हरेक पेसासँग जोडिएको जनशक्तिलाई सकारात्मक सम्भावनाको आभास दिलाउनु हो ।

कुनै पनि व्यक्तिले सकारात्मक व्यक्तित्व र सुरक्षित भविष्यको सम्भावना देखे मात्र राज्यका लागि योगदान गर्न सक्छ । तर वर्षमा २३ सय चिकित्सक बाहिरिएको तथ्यांकको स्पष्ट सन्देश छ– दक्ष जनशक्तिका लागि पनि उत्साहजनक छैन । चिकित्सा क्षेत्रलाई मात्र होइन, समग्र सामाजिक मनोविज्ञानलाई नै सकारात्मक मार्गमा डोर्‍याउन सरकारले तुरुन्तै हस्तक्षेपकारी नीति अवलम्बन गर्न जरुरी छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026