अमेरिकाले थप ७ नेपालीलाई गर्‍यो निष्कासन

7 May, 2025

काठमाडौं : अमेरिकाले थप ७ जनालाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बसिरहेका उनीहरूलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा गिरी, पाठक, डाँगी, पोखरेल र ओली थरका तीन जना रहेका छन्। उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको स्रोतले जानकारी दिएको छ। उनीहरू सबैलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो।

निष्कासन पर्नेमा चार जना अवैधरूपमा बसोबास गरिरहेका थिए। उनीहरूले नेपाली पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आएका थिए। अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काएको थियो। ट्राभल डकुमेन्टबाट एकतर्फी मात्रै यात्रा गर्न सकिन्छ।

त्यस्तै फर्काइएका मध्ये एक जनाले अवैधरूपमा अमेरिका प्रवेश गरेका थिए भने दुई जनाले अमेरिकी अध्यागमन कानुनको उल्लंघन गरेका थिए।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति लागू भएपछि नेपालीहरू निष्कासनमा पर्ने क्रम बढेको छ। स्रोतका अनुसार निष्कासनमा परेका नेपालीहरू प्रत्येक साता काठमाडौं अवतरण गर्ने गरेका छन्।

त्यसो त केही समयअघि अमेरिकाले चार्टर्ड विमानबाट नै नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको थिय। अवैधरूमा अमेरिका प्रवेश गरी लुकिछिपी बस्ने ती नेपालीहरूलाई अमेरिकाले फर्काएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024