वीरगन्ज : पर्साको ग्रामीण भेगमा दैनिक ज्यालादारीमा काम गर्दै आएका महिला श्रमिकले उचित ज्यालाको व्यवस्था गरिदिन स्थानीय सरकारसँग माग गरेका छन् ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ का वडाध्यक्ष विजय गैरेलाई ७ बुँदे ज्ञापनपत्र बुझाउँदै अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकले उचित ज्यालाको व्यवस्था गरिदिन माग गरेका हुन्।
महिला श्रमिकले स्थानीय स्तरमा कार्यविधि बनाएर श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न माग गरेका छन्। अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक ज्यालामा ठगिएको, पुरुष सरह नै काम गरे पनि महिला श्रमिकलाई ज्यालामा विभेद गरिएको, महिला श्रमिकले कृषि कर्म गर्दा ज्यालामा ४/५ किलो मात्र धान पाउने गरेको महिला श्रमिकको गुनासो छ ।
यस्तै कार्यक्षेत्रमा महिला श्रमिक असुरक्षित भएर काम गर्नु परेको पनि उनीहरूले बताएका छन्। यी सबै समस्याको समाधान गर्नु पर्ने माग गर्दै उनीहरूले महिला श्रमिकको दुर्घटना र स्वास्थ्य बीमाको व्यवस्था गराउन पनि माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै वडाध्यक्ष गैरेले अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकहरूले आफ्नो अधिकार खोजेकोमा खुशी व्यक्त गर्दै उचित र पुरुष सरह समान ज्याला लागू गराउन आफ्नो तर्फबाट प्रयास गर्ने बताए।
उनले भने, ‘गाउँघरमा खेतबारीमा काम गर्ने महिला श्रमिकले दैनिक ज्याला ४/५ किलो धान वा २५० रुपैयाँ मात्रै पाउँछन्। जबकी त्यही काम गर्ने पुरुष श्रमिकले दैनिक ज्याला ५०० रुपैयाँ लिन्छन्।’ आफ्नो वडामा यो विभेद हटाउनका लागि आफू अब गम्भीर भएर लाग्ने प्रतिबद्धता उनले जनाए ।