माल्टामा कति हुन्छ कमाइ? कामका लागि जान कति लाग्छ खर्च?

17 March, 2025

निर्मला घिमिरे

धेरै नेपालीले नाम सुनेको युरोपेली मुलुक हो माल्टा। यो भौगोलिक हिसाबले दक्षिणी युरोपमा पर्ने सानो टापू मुलुक हो, क्षेत्रफलका हिसाबले काठमाडौं उपत्यकाभन्दा पनि सानो।

कुल क्षेत्रफल ३१६ वर्ग किलोमिटर र जनसंख्या करिब पाँच लाख छ। यही सानो मुलुक माल्टा रोजगारीका लागि नेपाली युवाहरूको रोजाइमा छ।

वैदेशिक रोजगार विभागको पछिल्ला दुई वर्षको तथ्यांकले वार्षिक पाँच हजारभन्दा बढी युवाले माल्टाका लागि श्रम स्वीकृति लिएको देखाउँछ। आर्थिक वर्ष २०७९/८० मा माल्टा जान नयाँ तथा पुराना (पुनः) गरी ६ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका थिए। आर्थिक वर्ष २०८०/८१ मा नयाँ तथा पुराना पाँच हजार ६६८ जनाले श्रम स्वीकृति लिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए), माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) का अनुसार कोरोना महामारीपछि माल्टाले आप्रवासी प्रवेशमा केही कडाइ गरेको छ। त्यसअघि नेपाली श्रमिकले ‘वर्क पर्मिट’ पाइहाल्ने र भिसा लागिहाल्ने हुन्थ्यो।

‘कोभिडपछि रोजगारीका लागि मध्यपूर्वी मुलुकमा पुगेका धेरै नेपाली माल्टा छिरे। खास गरी दुबईमा काम गरिरहेकाहरू आए,’ खनालले भने, ‘आधारभूत (बेसिक) अंग्रेजी पनि नजान्ने मान्छे आउन थाले। त्यसले गर्दा अप्ठ्यारो पर्न थाल्यो।’

अंग्रेजी भाषामा र कामको सीपमा कमजोर मानिस प्रवेश गर्न थालेपछि पनि माल्टा सरकारले आप्रवासी कामदारलाई भिसा दिन केही कडाइ गरेको उनले बताए। अझ हस्पिटालिटी क्षेत्रमा त सीप परीक्षा उत्तीर्ण गरेको व्यक्तिलाई मात्र भिसा दिने नीति आयो।
Laxmi bank

हाल माल्टाको हस्पिटालिटी क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिले दुई चरणमा परीक्षा दिनुपर्छ। परीक्षा अनलाइन माध्यमबाटै हुन्छ। परीक्षा शुल्क ४७५ युरो तिर्नुपर्छ। सीप परीक्षा उत्तीर्ण भएपछि मात्र वर्क पर्मिटका लागि आवेदन दिन पाइन्छ।

हस्पिटालिटी क्षेत्रमा बार टेन्डर, सेफ, वेटर लगायतमा आप्रवासी कामदारको माग निकै उच्च छ।

खनाल पनि सन् २०१७ मा वेटर कामका लागि माल्टा गएका थिए। हाल उनी ट्याक्सी व्यवसायमा छन्। एउटा किराना पसलमा म्यानेजरका रूपमा पनि काम गर्दै छन्। माल्टामा मेहनती कामदारको कमाइ राम्रो हुने उनको भनाइ छ।

‘मेहनत गर्नेका लागि कमाइ राम्रो छ। ओभरटाइमसमेत खट्दा महिनामा १५ सयदेखि दुई हजार युरोसम्म कमाउन सकिन्छ,’ उनले भने, ‘इलेक्ट्रिसियन, ट्रेड वर्कर; टायल र मार्बलको काम गर्नेको कमाइ राम्रो छ। प्लम्बिङमा अझ राम्रो कमाइ हुन्छ।’

निकै मेहनती र मितव्ययी व्यक्तिले मासिक साढे दुई हजार युरोसम्म कमाई गर्न सक्ने उनले बताए। कति बचत हुन्छ भन्ने कुरा व्यक्तिको आनीबानीमा पनि पर्ने उनको भनाइ छ।

हाल एक युरो बराबर १५० रूपैयाँभन्दा बढी छ।

खनालका अनुसार माल्टामा धेरैजसो अंग्रेजी भाषा चल्छ। राम्रो कमाइ गर्न अंग्रेजी भाषामा राम्ररी दोहोरो कुरा गर्न सक्ने क्षमता हुनुपर्छ। सुरूमा सामान्य ढंगले दोहोरो कुरा गर्न सक्ने भए बिस्तारै क्षमता बढ्छ।

‘कामको सीप हुनुपर्‍यो। अंग्रेजी बोल्न जानेको हुनुपर्‍यो। यति भएपछि दुःख हुँदैन। अंग्रेजी नजानेको व्यक्तिले बेस्सरी दुःख पाउँछ,’ उनले भने।

खानेबस्ने खर्च श्रमिक आफैले बेहोर्नुपर्छ। यसमा मासिक करिब चार सय युरो खर्च हुन्छ। हरेक वर्ष भिसा नवीकरण गर्नुपर्छ। पाँच वर्ष पुगेपछि पनि बस्ने हो भने आवेदन गर्न सकिन्छ। यस प्रयोजनमा माल्टिज भाषा जान्नेको हुनुपर्ने सर्त छ।

सामान्यतया पाँच वर्ष बसेपछि माल्टामै बस्न चाहनेभन्दा अन्य युरोपेली मुलुकतिर सर्ने कामदार धेरै हुन्छन्। धेरैजसो नेपाली पोर्चुगल, स्पेन लगायत मुलुक पस्ने सपना लिएर माल्टा पुग्छन्।

‘माल्टामा लामो बसाइ गर्ने नेपाली धेरै छैनन्। यहाँबाट धेरै नेपाली युरोपका अन्य मुलुकतिर सरिसके,’ उनले भने।

पछिल्लो समय पोर्चुगल लगायत केही मुलुकले आप्रवासी प्रवेशमा कडाइ गरेकाले नेपालीहरू माल्टाबाट अन्य मुलुक सर्ने क्रम केही कम भएको पनि उनले बताए।

नेपालीहरू अर्को मुलुक पस्न नपाए केही वर्ष माल्टामै काम गर्ने र स्वदेश फर्किने चाहनामा हुन्छन्। माल्टामा नेपाली कामदारप्रतिको दृष्टिकोण निकै राम्रो छ। त्यहाँका बासिन्दाहरू नेपाली कामदारलाई निकै विश्वास गर्छन्।

‘नेपालीहरू इमानदार र कामप्रति लगनशील छन् भन्ने धारणा छ। यसकारण माल्टा सरकारले नेपालीलाई हेर्ने दृष्टिकोण फरक (राम्रो) छ। माल्टाले धेरै नेपाली श्रमिक लैजाने सम्भावना पनि छ,’ उनले भने।

नेपालले माल्टासँग श्रम सम्झौता गरेर श्रमिक पठाउन सके नेपालीका लागि निकै राम्रो अवसर हुने छ।

‘मलेसिया र खाडी मुलुकका तुलनामा माल्टामा निकै राम्रो कमाइ हुन्छ, सुरक्षित पनि छ,’ खनालले भने।

पर्यटकका लागि माल्टा निकै आकर्षक गन्तव्य हो। आम्दानीको मुख्य स्रोत पनि पर्यटन नै हो। यहाँ वार्षिक ३० देखि ३२ लाख पर्यटक आउँछन्। सेवा क्षेत्रमा नेपालीका लागि राम्रो अवसर भएको उनी बताउँछन्।

हाल माल्टामा कम्तीमा १० हजार नेपाली रहेको उनको अनुमान छ। त्यहाँ नेपालको आवासीय दूतावास छैन, स्पेनस्थित दूतावासले हेर्छ। पहिले बेलायतस्थित नेपाली दूतावासले हेर्थ्यो। युरोपेली मुलुकबाट पनि बेलायत जान भिसा चाहिने प्रावधान लागू भएपछि स्पेनस्थित नेपाली दूतावासले हेर्न थालेको हो।

माल्टामा आवासीय दूतावास नहुँदा अप्ठ्यारो हुने गरेको र नेपालीलाई कुनै समस्या आइपर्दा सहजीकरणको धेरैजसो काम त्यहीँको एनआरएनएले गरिरहेको उनले बताए।

‘कुनै घटना–दुर्घटना हुँदा र कोही जेलमा पर्दा साह्रै अप्ठ्यारो हुने गरेको छ,’ उनले भने, ‘यहाँ (माल्टामा) कसैको मृत्यु हुँदा शव नेपाल पठाउन समस्या छ। यसमा नेपाल सरकारले कुनै किसिमको सहजीकरण गर्दैन। एउटा शव नेपाल पठाउन ६ हजार युरोसम्म खर्च लाग्छ। यहाँ रहेका नेपालीले नै जुटाउने गरेका छौं।’

माल्टामा स्वरोजगार नेपालीहरू पनि छन्। कतिपय नेपालीले रेस्टुरेन्ट चलाएका छन त कसैले किराना पसल चलाएका छन्। केही नेपाली ट्याक्सी पनि चलाउँछन्।

रेम्सका अनुसार माल्टा जान त्यहाँको सरकारलाई तीन सय युरो शुल्क बुझाउनुपर्छ। भिसा आवेदन शुल्क २५० युरो छ। म्यानपावर एजेन्सीमार्फत जाने हो भने त्यो खर्च अलग्गै हो। यसमा १५ सयदेखि २५ सय युरोसम्म खर्च हुन्छ।

‘नेपालमा काम गर्ने एजेन्ट वा म्यानपावर कम्पनीको भर नपरी व्यक्तिगत ढंगले पनि श्रम स्वीकृति लिन सकिन्छ,’ खनालले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024