कतारको विकासमा नेपालीहरुको योगदान महत्त्वपूर्ण: कतारका अमिर

24 April, 2024

नेपालको दुई दिने भ्रमणमा रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीले कतारको विकासमा नेपालीहरुको ठूलो योगदान रहेको बताएका छन्।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न यहाँ आएका कतारका अमिर थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले यस्तो बताएका छन्।

उनले कतारमा कामदार नेपालीहरुको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए। अमिरले कतारमा नेपाली श्रमिकलाई अझ राम्रो क्षेत्रमा रोजगारी दिने विषयमा योजना बनिरहेको उल्लेख गरे।

अमिर थानीले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरुमा लगानीको नयाँ सम्भावनाहरू बढाउन सकिने विश्वास व्यक्त गरे।

उनले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे।

त्यस्तै नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट पारेका थिए।

कतार नेपाली कामदारहरूको लागि वैदेशिक रोजगारीको एक प्रमुख एवं आकर्षक गन्तव्य मुलुक रहँदै आएको र आधुनिक कतारको विकासमा नेपाली कामदारहरूले पनि उल्लेखनीय योगदान गरेको स्मरण गराएका थिए।

राष्ट्रपति पौडेलले अमिरको दूरदर्शी नेतृत्वमा कतारले गरेको दिगो विकास र समृद्धि देखेर धेरै खुसी लागेको बताउँदै मुलुकलाई एक उच्च विकसित राष्ट्र बनाउने अमिरको दीर्घकालीन सोच र दृढ अठोटको प्रशंसा गरेका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024