म्यानमारबाट २६ नेपाली काठमाडौं आइपुगे (फोटो फिचर)

5 June, 2020

सुनिता कार्की

 

काठमाडौं : अलपत्र परेका नेपाली लिएर म्यानमारको विमान काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । म्यानमारस्थित सेनाको एयरफोर्स विमानले २६ जना नेपाली यात्रुलाई लिएर बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

शुक्रबार  विमानले ४३ जना लिएर स्वेदश फर्किन कार्यतालिका रहेको क्षेत्रीले बताए । उक्त विमान बिहान ९:४५ बजे अवतरण गर्ने पूर्वनिर्धारित कार्यतालिमा हेरफेर भएको थियो । आज नै युएईबाट एयर अरेबियाको विमानले १६८ जना नेपाली लिएर अपराह्न ३ बजे काठमाडौं आउँदै छ ।

कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने पहलस्वरुप म्यानमारको पहिलो विमानले नेपाली लिएर आएको हो । विमानस्थलमा अवतरण गराएपछि कसरी सुरक्षित तरिकाले क्वारेन्टाइनसम्म पुर्‍याउने बारे एकिन भइसकेको क्षेत्रीले जानकारी दिए।

विमानबाट ओर्लिएपछि आएका यात्रुहरुलाई स्यानिटाइजर टनेलबाट निकालिने, सामाजिक दुरी कायम गरी हेल्थ डेस्कमा तापक्रम जाँच, इमिग्रेसन, कस्टम र व्यागेज लिने काम सम्पन्न गरेपछि होल्डिङ सेन्टरबाट नेपाली सेनाले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लैजाने व्यवस्था गरिएको प्रवक्ताले जानकारी दिए ।

सबै विमानहरुको ग्राउन्ड ह्यान्डिलिङ व्यवस्था गर्ने जिम्मेवारी पाएको नेपाल वायुसेवा निगमले पनि विमान अवतरण गरेपछि र अवतरण गर्नुअघि स्यानिटाइज गरिने निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए । ग्राउन्ड ह्यान्डलिङमा तोकिएको सुरक्षित उपाय  अपनाइएको उनको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024