मुबारक अल कबिर अस्पतालको मेडिकल मेल वार्ड नम्बर २१, बेड नम्बर २ बेडमा सेतो कम्बल ओढाइएका हर्कमान तुम्बापो एकोहोरो छततिर हेरिरहेका छन्। मोनिटरबाट निस्किरहेको ‘टिट–टिट’ आवाजले उनी जीवित रहेको छनक दिन्छ। नाकमा पाइप जोडिएको छ, घाँटीमा छेडिएको पाइपबाट घ्वार–घ्वार आवाज आइरहेको छ। शरीर निश्चल छ। करिब ४ वर्षदेखि उनको संसार यही अस्पतालको बेडमा सीमित छ।
पाँचथरको चोकमागु पुख्र्यौली घर भएका हर्कमान झापाको दुधेमा बस्थे। श्रीमती र एक छोराका पिता उनको सपना आम नेपालीहरूको जस्तै परिवारको आर्थिक अवस्था सुधार्ने र छोराको भविष्य बनाउने थियो। यही उद्देश्यले सन् २०१६ को अन्त्यतिर गाडी चालकको काम गर्न वैधानिक प्रक्रिया पूरा गरेर कुवेत पुगेका थिए।
तर, सन् २०२२ मा उच्च रक्तचापका कारण अचानक ढलेपछि उनको जीवनले अर्कै मोड लियो। उनी कहाँ ढले ? कसले अस्पताल पुर्यायो ? उपचारको सुरुवात कसरी भयो ? उपचार खर्च कसले बेहोर्दै छ ? यस्ता प्रश्नको पूर्णविवरण अझै स्पष्ट छैन। अस्पताल पुगेयता उनी घर फर्कन सकेका छैनन्। अचेत अवस्थामा अस्पतालको बेडमा रहेका उनको हेरचाह अहिले स्वास्थ्यकर्मीको भरमा छ।
लामो समयसम्म परिवार नै बेखबर, खबर पाए पनि जिम्मेवारी लिएन
हर्कमान बिरामी भएर अस्पतालमा रहेको खबर परिवारले लामो समयसम्म पाउन सकेन। नेपाली दूतावासको प्रयासपछि हर्कमानकी दिदीसँग सम्पर्क भएको बताइएको छ। उनका अनुसार हर्कमानका एक छोरा छन्। आमाबुवाको निधन भइसकेको छ। श्रीमतीको अवस्थाबारे स्पष्ट जानकारी छैन। छोरा पनि हाल सम्पर्कमा नरहेको बताइएको छ।
कुवेतका सञ्चारकर्मी राज मल्लका अनुसार हर्कमानका छोराले आर्थिक अवस्थाका कारण बुवालाई नेपाल ल्याइए आफूले उपचार गर्न नसक्ने र कुवेतमै उपचार भइरहेको अवस्थामा रहनु नै उचित हुने आशय व्यक्त गरेको बताएका छन्। त्यसपछि प्रश्न झन् गम्भीर बनेको छ—परिवारले जिम्मेवारी लिन नसक्ने अवस्थामा हर्कमानको जिम्मेवारी कसले लिने ? दूतावासले जानकारी गरायो, उद्धार कहिले ?
नेपाली दूतावास कुवेतका सूचना अधिकारी तथा द्वितीय सचिव शिव बानियाँका अनुसार दूतावासले हर्कमानको अवस्थाबारे सम्बन्धित निकायलाई पर्याप्त जानकारी गराइसकेको छ। केही समयअघि दूतावासले उनका छोरासँग सम्पर्क गरी समन्वयसमेत गरेको थियो। तर, त्यसपछि छोरा सम्पर्कबाहिर रहेको बताइएको छ।
दूतावासले जानकारी गराएका सम्बन्धित निकायमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र श्रम तथा रोजगार मन्त्रालय छन्। तर, हर्कमान अस्पतालमा भर्ना भएको करिब ४ वर्ष पुग्न लाग्दा पनि उनको उद्धार तथा भविष्यबारे ठोस निर्णय हुन सकेको छैन।
दूतावासले आफ्नो तहबाट जानकारी गराइसकेको अवस्थामा अबको जिम्मेवारी कसको हो ? वैदेशिक रोजगार विभागले हर्कमानको अवस्थाबारे के पहल गरेको छ ? वैदेशिक रोजगार बोर्डको भूमिकाले उनलाई कहाँसम्म समेट्छ ? श्रम तथा रोजगार मन्त्रालयले उनको उपचार, संरक्षण वा स्वदेश फिर्तीका लागि के योजना बनाएको छ ?
वर्षौंदेखि विदेशी अस्पतालमा उपचाररत आफ्नो अवस्थाबारे निर्णय गर्न नसक्ने र परिवारको समेत सहारा नपाएका हर्कमान जस्ता अलपत्र नागरिकहरूको लागि राज्यसँग दीर्घकालीन उपचार, संरक्षण र स्वदेश फिर्तीको कुनै स्पष्ट संयन्त्र छ कि छैन ? हर्कमानको प्रश्न अहिले यहीँ अडिएको छ, जानकारी पुगेपछि उद्धारको जिम्मेवारी कसले लिने ? हर्कमान एक्ला होइनन् हर्कमान कुवेतका अस्पतालमा रहेका नेपाली बिरामीको एउटा उदाहरण मात्र हुन्।
नेपाली दूतावासको जानकारीअनुसार कुवेतका विभिन्न अस्पतालमा उनीजस्तै करिब ७ जना नेपाली नागरिक उपचाररत छन्। उनीहरूको अवस्था, पारिवारिक सम्पर्क, उपचार खर्च र स्वदेश फिर्तीको सम्भावनाबारे राज्य बेखबर जस्तै छ। कति जनाका परिवार सम्पर्कमा छन् ? कति जनाको उपचार खर्च रोजगारदाता वा अन्य निकायले व्यहोर्दैछन् ? कति जनालाई नेपाल फर्काउन सकिने अवस्था छ? र परिवारले जिम्मेवारी लिन नसक्ने अवस्थामा उनीहरूको दीर्घकालीन हेरचाह कसले गर्ने ?
श्रमिक संकटमा पर्दा राज्यको जिम्मेवारी
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब एक चौथाइबराबर हिस्सा ओगट्ने रेमिट्यान्सले नेपाली परिवारको चुलो मात्र बालेको छैन, मुलुकको अर्थतन्त्रसमेत धानेको छ। राज्यले श्रम स्वीकृति दिन्छ, वैदेशिक रोजगारीको प्रक्रिया सञ्चालन गर्छ र वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत विभिन्न अवस्थामा सहयोगको व्यवस्था गरेको छ। सामाजिक सुरक्षा कार्यक्रम लागू भएको पनि वर्षौं भइसकेको छ ।
तर, त्यही श्रमिक गम्भीर बिरामी भएर वर्षौं विदेशी अस्पतालमा थलिँदा र परिवारले उपचारको जिम्मेवारी लिन नसक्ने अवस्थामा पुग्दा राज्यको भूमिका कहाँबाट सुरु हुन्छ ? हर्कमानको अवस्थाले यही प्रश्न उठाएको छ।
विदेशमा श्रम गर्ने नेपालीको मृत्यु वा दुर्घटनापछि परिवारसम्म सहयोग पुर्याउने विभिन्न संयन्त्र छन्। तर, लामो समय उपचार आवश्यक पर्ने, बोल्न वा आफ्नो अवस्थाबारे निर्णय गर्न नसक्ने र परिवारको सम्पर्कसमेत नहुने अवस्थामा पुगेका श्रमिकका लागि दीर्घकालीन उपचार, संरक्षण र हेरचाहको व्यवस्था के हो? यस्तो अवस्थामा जिम्मेवारी कुन निकायले लिने हो ?
परिवारले उपचारको जिम्मेवारी लिन नसक्ने अवस्थामा सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ। आवश्यक परे कुवेत सरकार, अस्पताल, रोजगारदाता, नेपाली दूतावास र नेपालका सम्बन्धित निकायबीच समन्वय गरेर हर्कमानको उपचार तथा भविष्यबारे निर्णय लिनुपर्ने हुन्छ। कुवेतमै उपचार जारी राख्ने हो भने त्यसको खर्च र दीर्घकालीन हेरचाहको व्यवस्था कसरी गर्ने ? नेपाल फर्काउन सकिने हो भने त्यसपछिको उपचार र पुनःस्थापनाको जिम्मेवारी कसले लिने ? परिवार सम्पर्कमा नआएमा कानुनी र मानवीय रूपमा राज्यले के विकल्प अपनाउने ? यी प्रश्नको जवाफ खोजिन बाँकी छ।
मुबारक अल कबीर अस्पतालको बेड नम्बर २ मा हर्कमानको प्रतीक्षा अझै जारी छ। करिब ४ वर्षदेखि रोकिएको उनको जीवन अब एउटा निर्णयको पर्खाइमा छ। दूतावासले सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ। अब प्रश्न यत्ति हो—त्यो सम्बन्धित निकाय को हो र सम्बन्धित निकायले हर्कमानको उद्धार कहिले गर्छ ?