हातमा छोराको फोटो लिएर हरेक निकायमा खोजिदिन आग्रह गर्दै भौँतारिएकी छिन् होमकला । बागलुङको जैमिनी नगरपालिका– २, दमेककी ७४ वर्षीया होमकला दमाईंका आफ्नो जेठो छोराको यादमा सायद कहिल्यै आँखा ओभाना भएनन् ।
हरेक दिन घरनजिकैको बाटोमा ओहोर–दोहोर गर्ने हरेक अनुहारमा उनी आफ्नो हराएको छोराको झल्को खोजिरहेकी हुन्छिन् । १८ वर्षको कोमल उमेरमा रोजगारीको सपना बोकेर भारत हिँडेका छोरा बलबहादुर परियार (मिठे) आजसम्म घर फर्किएनन् । समयले ३४ वर्ष पार गरिसक्यो, तर होमकलाको प्रतीक्षा अझै त्यत्तिकै ताजा छ जसरी हिजोको दिनजस्तै ।
आशा छ– एक दिन ढोका ढकढक्याउँदै आइपुग्नेछ
‘२०३० सालमा जन्मिएको मेरो छोरा, भर्खरै विवाह गरेर घरको अवस्था सुधार्ने सोचले बिदेसिएको थियो,’ होमकला भक्कानिँदै भन्छिन्, ‘त्यो जिउँदो छ कि छैन, केही थाहा छैन, तर मेरो मनमा अझै आशा छ- एक दिन ढोका ढकढक्याउँदै आइपुग्नेछ ।’ छोरा लामो समय नफर्किएपछि, उनले आफ्नै मन कठोर बनाएर बुहारीलाई दोस्रो विवाह गर्न प्रेरित गरिन् । ‘छोरा आएन, बुहारीलाई छोरीझैँ अर्कैसँग बिहे गर्न लगाएँ, त्यसको घरजम राम्रोसँग चलेको छ, त्यसमा मलाई खुसी छ,’ उनी भन्छिन्, ‘तर मेरो मनको खाली ठाउँ कसले भर्ने ?’
उनी र उनका श्रीमान् भारतसम्म पुगे, तर कहीँ भेटेनन्
छोरा मिठेको खोजीमा उनी र उनका श्रीमान् भारतसम्म पुगे, तर त्यहाँ पनि कुनै सुराक भेटिएन । निराश भएर फर्किएका उनको जीवनमा अर्को पीडा थपियो– छोराको प्रतीक्षा गर्दा गर्दै उनका श्रीमान् पनि संसारबाट बिदा भए । अहिले न श्रीमान् छन् छोरा फकिएर आउँछ । ‘अब त छोरा हरायो, बाउ पनि गयो,’ होमकला भन्छिन्, ‘म त कुर्दै छु, त्यो आउनेछ भनेर ।’
अहिले उनको साथमा कान्छो छोरा छन्, जो भारतको मद्रासमा काम गर्छन् र वेलावेलामा घर आउँछन् । छोरीको विवाह भइसकेको छ, घरमा कान्छी बुहारी र नातिनातिनाको चहलपहल पनि छ, तर यी सबैबिच पनि होमकलाको मनको एउटा कुनामा सधैँ एउटै अभाव गुन्जिरहन्छ– घर छाडेर नफर्किएका जेठो छोरा मिठेको ।
‘सास रहुन्जेल म बाटो हेर्नेछु मेरो छोरा फर्किने दिनको प्रतीक्षामा छु, आस मरेको छैन,’ उनी फेरि दोहोर्याउँछिन्, ‘सास रहुन्जेल म बाटो हेर्नेछु मेरो छोरा फर्किने दिनको प्रतीक्षामा छु ।’ आफ्नो छोराको खोजीका लागि उनी स्थानीय जनप्रतिनिधि र नगरपालिकामा रहेको आप्रवासी स्राेत केन्द्रसमेत पुगेकी छन् । त्यहाँबाट सम्बन्धित निकायमा खोजीका लागि प्रयास थालिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
शर्माका अनुसार विभिन्न निकायमा होमकलाको अपिलअनुसार बलबहादुरको विवरण पठाएको र खोजीका लागि नगरपालिकाले समन्वय गरेको छ । जैमिनी नगरपालिकाबाट बलबहादुरसहित विभिन्न देशमा गएर बेपत्ता यस वर्ष तीनजनाको खोजीका लागि विभिन्न निकायमा अपिल गरिएको स्राेत केन्द्रका मनोसामाजिक परामर्शकर्ता सुनिता आचार्यले बताइन् ।
पाँचजना बेपत्ता भएका, नाैजनाकाे उद्धार गर्नुपर्ने
जिल्लामा यस वर्ष मात्र पाँचजना बेपत्ता भएका र नाैजनाकाे उद्धार गर्नुपर्ने विवरण रहेको थियो । त्यसमध्ये ६ जनाको उद्धार भइसकेको र तीनजना परिवारमा सम्पर्कमा आएको आप्रवासी स्राेत केन्द्र बागलुङका सूचना तथा परामर्शकर्ता गंगा शर्माले जानकारी दिइन् । वैदेशिक रोजगारीमा गएर हराएका, मृत्यु भएका र रोजगारीको सिलसिलामा जाँदा ठगिएकाहरूलाई स्राेत केन्द्रले उद्धार गर्दै आएको छ ।