१२ वर्ष अरूकोमा काम गरे, अनि अस्ट्रेलियामा खोले आफ्नै रेस्टुरेन्ट

30 September, 2026

Nirmala Ghimire

अस्ट्रेलियाको भिक्टोरिया राज्यको मर्टलफोर्डमा नेपाली, भारतीय र इटालियन स्वाद एउटै ठाउँमा पाइन्छ — पिज्जादेखि नान, तन्दुरी, चाउमिन, मःम, थुक्पा, भेज तथा ननभेज तरकारी, पानीपुरी, चटपटेसम्म।

‘मर्टलफोर्ड पिज्जा एन्ड तन्दुरी हाउस’का सञ्चालक हुन् दिनेश सापकोटा।

यो रेस्टुरेन्ट गएको अगस्टमा खुलेको हो। मर्टलफोर्डमा नेपाली र इन्डियन स्वाद पस्किने रेस्टुरेन्ट, अझ नान र तन्दुरी बनाउने ठाउँ नै भेटिँदैनन्। त्यसैले यही ठाउँ रोजेर रेस्टुरेन्ट खोलेको उनले बताए।

‘हामी नेपाली खानेकुराहरू नेपालकै जस्तो स्वादमा पस्किन्छौं। नेपालीहरूलाई त स्वादले तान्छ नै। यहाँका स्थानीयहरूले समेत मन पराउँछन्,’दिनेशले भने।

मर्टलफोर्ड मेलबर्नबाट करिब २७० किलोमिटर टाढा पर्छ। उक्त ठाउँमा सधैं धेरै चहलपहल हुँदैन। जाडो यामका तीन–चार महिना भने हिउँ खेल्न जानेहरू त्यही बाटो भएर जान्छन् र चहलपहल बढ्छ।

नेपालको मलेखुजस्तै गाडी रोक्ने ठाउँका रूपमा मर्टलफोर्डलाई बुझ्न सकिने बताउँछन्।

उनको यो रेस्टुरेन्ट पारिवारिक लगानीमा खुलेको हो। यसमा डेढ करोड नेपाली रूपैयाँ बराबर लगानी भएको उनले बताए। अस्ट्रेलियामा कमाएको पैसा र केही सरसापट गरेर उनीहरूले लगानी जुटाएका हुन्।

‘अहिले रेस्टुरेन्टमा ६ जनालाई रोजगारी दिइएको छ। परिवारका सदस्यसहित स्थानीयहरू पनि काम गर्छन्,’ उनले भने।

रेस्टुरेन्ट सातामा सोमबार र मंगलबार बन्द हुन्छ। सातामा दुई दिन परिवारका लागि छुट्ट्याइएको हो। सातै दिन रेस्टुरेन्ट खोल्दा परिवारलाई समय दिन नसकिने भएकाले दुई दिन बन्द गरेको उनको भनाइ छ।

दिनेशले रामपुर क्याम्पसबाट कृषिमा स्नातक र स्नातकोत्तर गरेका छन्।

नेपालमा हुँदा उनले युएसएड, मेड नेपाल लगायत विभिन्न गैरसरकारी संस्थामा काम गरे। उनी थप पढाइको सिलसिलामा सन् २०१४ मा अस्ट्रेलिया गएका हुन्।

सुरूमा उनले पढाइसँगै सफाइ, स्वास्थ्य लगायत क्षेत्रमा काम गरे।

‘तर पिआर (स्थायी आवास) लिन किचनमा काम गरेकोलाई सहज हुने रहेछ। त्यसैले रेस्टुरेन्टमा काम गरेँ,’ उनले भने, ‘१२ वर्ष अरूकोमा काम गरेपछि बल्ल आफ्नै रेस्टुरेन्टमा लगानी गरियो।’

उनको रेस्टुरेन्टले कम समयमै ग्राहकको राम्रो प्रतिक्रिया पाएको छ। तर आफै लगानी गर्दा जोखिम र तनाव थपिन्छ। लगानीको प्रतिफल तत्काल नपाइने भएकाले धैर्य पनि चाहिन्छ।

त्यसैले पनि होला, दिनेशले रेस्टुरेन्टलाई व्यवसायका रूपमा मात्र हेरेका छैनन्। नेपालसँग जोडिने माध्यमका रूपमा पनि अघि बढाउने उनको सोच छ।

रेस्टुरेन्टमार्फत नेपालको संस्कृति र खाना चिनाउने उनको योजना हो। बुद्धको मूर्ति, सगरमाथाको फोटो, आँखिझ्याल लगायत नेपाली संस्कृति प्रवर्द्धन गर्ने सामग्रीहरू रेस्टुरेन्टमा राख्ने उनले सोचेका छन्। यसले नेपाल र नेपालीलाई जोड्न मद्दत पुग्ने उनको विश्वास छ।

दिनेशले पहिले विदेश जाने पनि सोचेका थिएनन्। नेपालमै सरकारी जागिर खाने वा कुनै संस्थामा काम गर्ने उनको सोच थियो।

‘म विदेश जान्छु भन्ने कल्पना पनि गरेको थिइनँ। नत्र त १२ कक्षा सक्नेबित्तिकै कुनै देश जान्थेँ होला,’उनले भने।

उनले रामपुर कलेजमा लेक्चररको जागिरका लागि आवेदन समेत दिएका थिए। लामो समय कुर्दा पनि कामको टुंगो लागेन। त्यसपछि उनी अस्ट्रेलिया हानिएका हुन्।

अहिले दिनेश अस्ट्रेलियाकै नागरिक हुन्। तर उनको मन नेपाल वरिपरि घुमिरहन्छ, आउने–जाने पनि गरिरहन्छन्। रेस्टुरेन्टमार्फत् नेपालीहरूसँग जोडिएर रहन पाइने भएकाले उनी थप खुसी छन्।

‘हामी यहाँ मेसिन हो। नेपालमा कोही बिरामी भयो र आफन्त कोही छैनन् भने छिमेकीले समेत पकाएर खुवाउने संस्कार छ। तर यहाँ छैन। विदेशमा सामाजिक मूल्य र मान्यताहरू बिर्सिन्छ मान्छेले,’ दिनेशले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026