होटेल व्यवसायी संघ काठमाडौंले नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघसँग आबद्ध व्यवसायीहरूका साथै रसुवाको टिमुरे र मैलुङ क्षेत्रका पीडित होटेल व्यवसायीहरूलाई प्रत्यक्ष राहत सामग्री र आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
बाढीमा परी ज्यान गुमाएका जिल्ला होटल व्यवसायी संघ काठमाडौंका सचिव कप्तान अधिकारीका भाइ ठाकुर अधिकारीको परिवारलाई समेत विशेष राहत प्रदान गरिएको संघका अध्यक्ष सुरेश बरालले जानकारी दिए।
यो मानवीय सहयोगका लागि संघका सल्लाहकार रविनकुमार नाल्बोको पहलमा हङकङमा रकम संकलन गरिएको थियो। हङकङमा संकलित सहयोग र संघको काठमाडौं परिवारले आन्तरिक रूपमा खडा गरेको कोषबाट धादिङको गल्छी र नुवाकोटमा राहत वितरण गरिएको हो।
अस्थायी आर्थिक सहयोगले मात्र पीडितको जीवन सहज नहुने निष्कर्ष निकाल्दै संघले बाढीमा परेका होटेलमा काम गरेका १०० जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ।
बाढीका कारण घरपरिवार तथा व्यवसाय गुमाएका प्रभावितहरूलाई दिगो आयआर्जनमा सहयोग पुर्याउन तिनको पूर्वअनुभव, सिप र क्षमताका आधारमा काठमाडौंका विभिन्न होटेल तथा रेस्टुरेन्टहरूमा पदस्थापना गरिने संघले जनाएको छ।