फोहोरलाई मोहरमा परिणत गरी उद्यमशीलता विकास गर्ने उद्देश्यले पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङमा आधारित ‘हरित रोजगारी सिर्जना कार्यक्रम’ सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) तथा इम्प्याक्ट हब काठमाडौँको सहकार्यमा मङ्गलबारदेखि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
सो परियोजना अन्तर्गत पुनप्र्रयोग र अपसाइक्लिङ (आरयु) बिजनेस इन्क्युवेसन कार्यक्रमको ‘डेमो डे’ मा सहभागीले आफ्ना व्यावसायिक योजना प्रस्तुत गरेका थिए । पहिलो समूहका १९ जना र अपाङ्गता भएका चार जना उद्यमीको विशेष समूह छनोट भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले परियोजनाले पोखरामा ‘फाल र फेर्ने’ परम्परागत अर्थतन्त्रको साटो चक्रीय अर्थतन्त्रको अवधारणालाई प्रवर्धन गर्दै पुनर्चक्रण र पुनप्र्रयोगमा आधारित उद्यम विकासमा जोड दिएको बताउनुभयो । उहाँले परियोजनाको लक्ष्य सन् २०२९ सम्म पोखरामा ३० वटा यस्ता उद्यम स्थापना गरी तीन सयभन्दा बढी हरित रोजगारी सिर्जना गर्नु रहेको बताउनुभयो ।
सन् २०२५ र २०२६ का दुई समूहबाट हालसम्म ३६ उद्यम तथा व्यावसायिक अवधारणालाई प्रवर्धन गरिएको र यसबाट हालसम्म करिब ३५ देखि ३८ हरित रोजगारी सिर्जना भएको प्रमुख आचार्यले बताउनुभयो ।
त्यस्तै युएनडिपी गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख सुदीप अर्यालले परियोजनाले प्लास्टिक, कपडा, कागज, सिसालगायतका फोहोरलाई मूल्य अभिवृद्धियुक्त उत्पादनमा रूपान्तरण गरी फोहोर व्यवस्थापन, वातावरण संरक्षण तथा दिगो जीविकोपार्जनमा योगदान पु¥याउने विश्वास लिइएको बताउनुभयो ।
कार्यक्रममा २३ उद्यमीले आफ्ना व्यावसायिक अवधारणा तथा उत्पादन प्रस्तुत गर्नुभएको छ भने उत्कृष्ट आठ उद्यमीलाई बढीमा २५ लाखसम्मको सहयोग गरिने बताइएको छ । सहभागीले प्लास्टिक (पिइटी, एचडिपिई, एलडिपिई, एबिएस तथा मल्टिलेयर प्लास्टिक), कागज, सिसा, कपडा, कृषि अवशेष तथा जैविक फोहोरलाई पुनप्र्रयोग गरी दिगो उत्पादन विकास गर्ने प्रयास गरेका छन् ।
कार्यक्रम अवधिभर सहभागीले व्यावसायिक मोडेल विकास, उत्पादन डिजाइन, वित्तीय व्यवस्थापन, कानुनी प्रक्रिया, ब्रान्डिङ तथा बजार व्यवस्थापनसम्बन्धी तालिमका साथै व्यावसायिक तथा प्राविधिक विज्ञबाट परामर्शसमेत प्राप्त गरेका छन् । यसले उद्यमीलाई बजारसँग जोड्न र व्यवसाय विस्तार गर्न सहयोग पुगेको आयोजकको विश्वास छ ।