हङकङ ट्रान्जिट भिषाका लागि पहल गर्न कांग्रेसको माग

22 December, 2019

नेपाली कांग्रेसले नेपालीहरूलाई हङकङमा ट्रान्जिट भिषा व्यवस्था गर्नका लागि पहल गरिदिन सरकारसँग माग गरेको छ।संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आइतबार भेटेर हङकङमा ट्रान्जिट भिषाको व्यवस्था गर्न माग गरेका हुन्।

‘वर्क पर्मिट’ पाएर करिब चार हजार जना नेपाली युवा रोजगारीका लागि मकाउ रहेको उल्लेख गर्दै खाँणले मकाउ आवतजावतमा छोटो बाटो पर्ने भएकोले हङकङ ट्रान्जिट राख्ने व्यवस्था मिलाउन ज्ञापन पत्र बुझाएका हुन्।

‘काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन सोझो हवाइ उडान नभएकोले मकाउमा रोजगारीका लागि पुग्ने र फर्कने युवाले कठीनाइ भोग्नु परेको छ,’ खाँणले भने, ‘हङकङ ट्रान्जिट भएर भिषा व्यवस्थापनका लागि पहल गर्न आग्रह गर्छौं।’

परराष्ट्रमन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिषा नहुँदा नेपालीले भोग्नु परेका समस्याबारे आफू गम्भीर भएको र तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिवद्धता जनाएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026