हङकङमा बास्यो रातो भाले

7 March, 2013

निर्मल श्रेष्ठ

हङकङ, फाल्गुन २४ – रातो भाले क्वाएँ क्वाएँ

सुत्केरीलाई ख्वाएँ

सुत्केरीको नाम गरी टाउको

मैले खाएँ …

यदि कसैले पुराना गीतका दिन गए भन्ने सोचेका भए हङकङमा आइतबार आयोजित ‘भोजपुर सांगीतिक साँझ’ दरो जवाफ हुन सक्थ्यो । पाका गायक गणेश रसिकले झन्डै चार दशकअघिदेखिका गीत गाएर श्रोताहरूलाई दहीझैं जमाए । संगीतकार, लेखक तथा कविको समेत परिचय बोकेका यी गायकले करिब १५ महिनाअघि समेत हङकङमा प्रस्तुति दिएका थिए । तर यिनलाई सुन्ने तलतल उः बेलाभन्दा अझ बढी देखियो ।

रातको करिब ९ बजेको हुँदो हो । ढाका टोपी, दौरा, सुरुवाल र कोटमा चिटिक्क सजिएका रसिक रसिकझैं स्टेजमा झुल्किएका के थिए, सयौं श्रोता उनको सम्मानमा जुरुक्क उठे अनि परर… ताली पिटे । खुसीले अनुहार उजिल्याउँदै रसिकले आजको साँझ आफ्नै समयको गीत गाउने सुनाए । यसो भन्दै गर्दा उनका औंला हार्माेनियममा चलमलाउन थालिसकेका थिए अनि लगत्तै

सुरु भए-

थोरै सम्झे थोरै हुन्छ

धेरै सम्झ धेरै हुन्छ

नसम्झेमा केही पनि हुन्न

तिमीलाई दिएको मेरो माया …

पृष्ठभूमिमा पुराना संगीतकर्मी दिनेश सुब्बा नेतृत्वको हिमालयन टोन्स म्युजिक एकेडेमीको वाद्यवादक टोलीले सांगीतिक धुन घोलिरहेको थियो । रसिकले २०२८ सालमा रचेको गीत भन्दै फेरि सुनाए, ‘याङजी नाना… ।’ कसैको पीडा देखेर उक्त गीत फुरेको समेत बताए उनले । ‘उकालीमा हिँड्दै गर्दा…’ गीत भने अभि सुवेदीले २०३० सालमा रचेका रहेछन् ।

श्रोताहरूले रसिकका गीत ध्यानस्थ भएर सुनिरहेका थिए । उनी फेरि २०२८ सालतिरको रोमान्टिक गीततर्फ फर्के । ‘मसँग एउटा…’ युगल गीतमा उतिबेला उनलाई विमला राईले साथ दिएकी रहिछन् । हङकङे साँझमा भने नेपालबाटै आइपुगेकी आभा मुकारुङ थिइन् ।

रात छिप्पिँदै गर्दा रसिकको सांगीतिक जादूमा हङकङेली श्रोताहरू लटठरहेको थियो । यो बुझसिकेका गायकले रोमान्टिक गीततर्फ}{माहौललाई डोर्‍याए । गीतले जोडीको साथ खोजेपछि हङकङेली गायिका रोसा लिम्बू स्टेजमा उत्रिइन् अनि गीत सुरु भो-

घरबेटी नानी

आँगनमा देऊ न मलाई बास…

यो गीतले श्रोताहरूको मन छुनु छोएछ, तालीमा मात्र सीमित उनीहरू लयमा लय हाल्न थाले । ‘माछी पर्‍यो जाल …’ गीतले भने श्रोताहरूलाई कुर्सीमा टाँसिइरहन दिएन । राम्रै नाचगान चल्यो । विगतमा राल्फा, लेकाली जस्ता चर्चित सांगीतिक समूहमा आबद्ध रसिक लोक, आधुनिक तथा काव्यात्मक शब्दलाई समेत संगीतमा ढाल्न खप्पिस मानिन्छन् । भोजपुर, काठमाडौं हुँदै इलामको फिक्कल बसाइँ सरेका रसिकका तीन कथा संग्रह, दुई गीति संग्रह, एउटा उपन्यास र दुई संस्मरण प्रकाशित छन् । पछिल्लो संस्मरण कृति ‘दसगजामा उभिएर’ ले पद्मश्री साहित्य सम्मान पाएको थियो ।

भोजपुर समाज हङकङद्वारा आयोजित सांगीतिक साँझमा गणेश रसिक मुख्य आकर्षण रहे पनि भीषण मुकारुङ, आभा मुकारुङ र श्याम साम्सोङले समेत युवा जमातको राम्रै मन जिते । भीषणले ‘म नेपाल आउने बेलामा…’, ‘पिरती लाउने बहाना…’ लगायत सुनाए । कुनै बेला नेपाली बजार राम्रै पिटेको आभाको चर्चित गीत ‘काली पारी दाइ हो…’ ले समेत माहौल तताउन सघायो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026