सुनौली नाकाबाट पाँच सय नेपाल भित्रिए, अझै करिब दुई हजार नेपाली सीमानाकामा रोकिए

14 May, 2020

भारतमा लकडाउनमा केही खुकुलो भएसँगै रोजगारीका लागि गएका नेपाली स्वदेश आउने क्रम तीव्र रूपमा बढेको छ । 

यसैक्रममा बुधबार सुनौली नाकाबाट पाँच सय नेपालीलाई प्रवेश दिइएको छ । 

स्वदेश प्रवेश गर्ने नेपालीले भारतीय क्वारेन्टाइनमा २५ दिन पूरा गरेका छन् । 

स्वदेश भित्रिएकामध्ये सिद्धार्थ नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइनमा दुई सय ७० र तिलोत्तमा नगरपालिकाका क्वारेन्टाइनमा दुई सय ३३ जनालाई राखिएको छ ।

बेलहिया नाकामा दैनिक सयौँ नेपाली आउने गरेका छन् । 

अझै करिब दुई हजार नेपाली सीमानाकामा रोकिएका छन् । 

स्थानीय तहहरूसँग समन्वय गरेर प्रवासी नेपालीलाई प्रवेश गराइने भएको छ ।

स्थानीय प्रशासनले प्रक्रिया पूरा गरेर बुधबार करिब एक हजार नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको थियो । तर, क्वारेन्टाइन अभावमा पाँच सयलाई मात्र प्रवेश गराइएको हो । तीन दिनअघि रुपन्देहीका सबै स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफलमा स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा भारतबाट आएका प्रवासी नेपालीलाई ल्याएर राख्ने सहमति भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले सीमानाकाबाट नेपाली ल्याउने प्रक्रिया केही दिन ढिला हुने बताए । ‘सबै तयारी सकिएको थियो, अन्तिममा क्वारेन्टाइन अभाव भयो, थप क्वारेन्टाइन व्यवस्थापन गरेपछि दुई–तीन दिनभित्र ल्याइनेछ,’ उनले भने । 

रुपन्देहीमा बुधबारदेखि सुरक्षामा थप कडाइ गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेका गाउँपालिका र नगरपालिकामा सहज रूपमा आवतजावतमा रोक लगाइएको छ । अन्य दिन विभिन्न काममा हिँड्ने गरिए पनि बुधबार भने पूर्ण रूपमा कडाइ गरिएको थियो ।

दशगजामा रोकिएका ७० भन्दा बढी नेपाली नवलपरासी भित्रिए

नेपाल–भारत सीमा दशगजामा रोकिएकामध्ये ७० जनाभन्दा बढी नेपाली पश्चिम नवलपरासी प्रवेश गरेका छन् । सुस्ता गाउँपालिकाले उनीहरूलाई प्रवेश गराएको हो । बुधबार स्वदेश प्रवेश गरेका ७० भन्दा बढी नेपालीलाई सुस्ता गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।

देश छिर्ने आसमा सीमामा बस्दै आएका प्रवासीलाई नेपाली र भारतीय बस्तीका स्थानीयले खाना खुवाउँदै आएका थिए । उनीहरूको अवस्था नाजुक हुँदै गएपछि नेपाल भिœयाइएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । भारतमा छिटपुट रूपले रेल र सरकारी बस चल्न थालेपछि विभिन्न सहरमा रहेका नेपालीहरू घर फर्कन दशगजामा जम्मा भएका थिए । कोरोनाको सुरक्षा सतर्कताअन्तर्गत दुई देशको नाका सिल भएका कारण सयौँ नेपाली दशगजामा अड्किएका हुन् । उनीहरू सुस्ता, गुठी प्रसौनी, गेर्मी, भुजहवालगायत सीमावर्ती क्षेत्रमा बस्दै आएका थिए । 

नवलपुरमा पनि संक्रमणको जोखिम बढ्यो 

पूर्वी नवलपरासीमा भारतबाट २१ जना आएका छन् । बौदीकाली गाउँपालिकाका १५, कावासोती नगरपालिकाका दुई र देवचुली नगरपालिकाका एकजना छन् । त्यसैगरी तनहुँको घिरिङ गाउँपालिकाका तीनजना छन् ।

उनीहरू रुपन्देहीको नाकाबाट लुकेर नेपाल छिरेको बताइएको छ । पूर्वी नवलपरासी प्रवेश गरेका २१ जनालाई क्वारेन्टाइनमा राखिएको र दुई दिनपछि उनीहरूको स्वाब संकलन गरेर कोरोना जाँच गरिने नवलपुरका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । भारतको बनारसबाट आएका उनीहरूसँगै नवलपुरमा कोरोना संक्रमणको जोखिम बढेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024