सुदूरपश्चिमबाट श्रम स्वीकृति सुरु

25 January, 2019

चित्रांग थापा

सरकारले एकपटक वैदेशिक रोजगारीमा गएकाहरुको हकमा दोस्रो पटक त्यहीँ मुलुकमा जान प्रदेशबाटै पुन: श्रम स्वीकृति दिन थालेको छ । शुक्रबार देखि सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयले पुन : श्रम स्वीकृति दिन सुरु गरेको हो।

श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त प्रमुख कृष्णानन्द जोशीका अनुसार एक पटक वैदेशिक रोजगारीका लागि गएकालाई दोस्रोपटक जानु परे ३ वर्षका लागि प्रदेशबाट नै श्रम स्वीकृति दिन सकिनेछ। ‘यो सुविधा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका श्रमिकहरुलाई प्रदान गरिने छ’ जोशीले भने। उक्त सेवाको शुक्रबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीे धनगढीमा शुभारम्भ गरेका छन्।

 

कार्यालय प्रमुख जोशीका अनुसार यो व्यवस्था यसअघि प्रदेश २, ३, ५, गण्डकी र कर्णालीबाट सुरु भइसकेको छ।प्रदेशका श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार डेस्क पनि थपिएको जोशीले बताए।

 

प्रदेशमा रहेका कार्यालयले पहिले श्रम स्वीकृति नलिएर गएकाहरुको हकमा अहिले वैधानिकरण गर्ने अधिकार प्रदेशका कार्यालयमा नरहेको जोशीले जानकारी दिए। ‘प्रदेश कार्यालयहरुले पुन : श्रम स्वीकृति प्रदान गर्दा कुनै प्रकारको अन्य शुल्क र दस्तुर लाग्दैन,’ उनले भने, ‘सम्वन्धित व्यक्तिले वैदेशिक प्रबर्द्धन बोर्डको कल्याण कोषमा १५ सय दस्तुर र वीमा वाफतको रकम आफैंले बैंकमा बुझाउनु पर्छ।’

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024