हीराबहादुर नेपालीको स्थायी घर गोर्खा हो । ०५० सालमा जागिरको सिलसिलामा उनी डोटी आइपुगेका हुन् । काठका मिस्त्री हुन् । सरकारी जागिर पनि काठका फर्निचर बनाउने, मर्मत गर्ने छ । दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयमा उनी बिहान १० देखि बेलुका चार बजेसम्म त्यही काम गरिरहेका भेटिन्छन् । तर उनको परिचय शिक्षालय परिसरसम्म मात्रै खुम्चिएको छैन, परिसर बाहिर पनि फैलिएको छ । जागिर बाहेकको समयमा समेत उनलाई फुर्सद छैन । फर्निचर तथा काठको काम गराउनेहरू उनको दैलोसम्म धाइरहेका हुन्छन् । उनी आफैंले जागिर र बाहिरको काम गर्न नभ्याएर गोर्खाबाटै दुई भाइ पनि बोलाएका छन् । उनका भाइहरूले मासिक ३० हजार बचाउँछन् । उनले भाइहरूको दैनिक ज्याला एक हजार तोकिदिएका छन् । आफू भने घण्टाका हिसाबले रकम लिन्छन् । दिउँसो जागिर गर्नुपर्ने भएकाले दिनभरि काम गर्न समयले साथ दिँदैन । ‘घण्टाको डेढसय रुपैयाँ लिन्छु,’ नेपालीले कान्तिपुरसँग भने, ‘समय पुग्दैन, शनिबारबाहेक अरू दिन साँझबिहान मात्र बाहिर समय दिन्छु ।’ ५५ वर्षको उमेर नाघेका बैजनाथ महतो मधेसी समुदायका व्यक्ति हुन् । उनले दिपायल क्षेत्रमै तीन दशक समय बिताइसके । यहाँको हावापानीसँग भिजिसके । उनले सन्तानहरूका लागि राम्रो व्यापारको व्यवस्था गरिदिएका छन् । तर बैजनाथको श्रमिक जीवन अझै संघर्ष गरिरहेको छ । निरक्षर उनी माछा मार्ने जाल र खाना पकाउने प्रेसर कुकर मर्मतको काम गर्छन् । यिनै कामबाट उनले जीवन चलाएका छन् । संघर्षका कथा सुनाउँदै भन्छन्, ‘युवा उमेरमा धेरै ठाउँमा भौतारिएँ, संघर्ष गरें तर आम्दानीका दृष्टिले डोटी फलिफाप भो ।’ काम गर्नेका लागि डोटीमा पैसा नै पैसा भएको उनको बुझाइ छ । दुर्गम गाउँ घांगलमा घर भएका वृद्ध हुन्, प्रताप पुनमगर । ०६२/०६३ को राजनीतिक परिवर्तनपछि जिल्लाको सदरमुकाम आएका मगरले थोरै समयमा धेरैलाई शिक्षा दिने गरी संघर्ष गरिरहेका छन् । ६० वर्षीय मगर दिपायलमा कसैले नआँटेको तरकारी खेतीमा जुटेका छन् । दिनरात पुनमगर दम्पती खेतमा भेटिन्छन् । पछिल्लो राजनीतिबाट निराश भएका मगर चर्को महँगीको जमिन भाडामा लिएर बेमौसमी तरकारी खेतीमा आम्दानी गरीरहेका छन् । ‘३ किलो अदुवा रोपेर २४ किलो बेचें, नाम र दाम दुवै आयो,’ खेतमा काम गरिरहेका मगरले खुसी हुँदै भने, ‘मेहनत गरेपछि सबैकुरा हुन्छ, अरूका जुठा भाँडा माझेर इज्जत फाल्नुभन्दा स्वदेशकै माटो मलजल गरेर पेट पाल्न उचित लाग्यो ।’ माथिका पात्रहरूले डोटीमा जताततै आम्दानीका स्रोत देखेर पसिना चुहाइरहेका बेला यहाँका युवाको लस्कर भने भारततिर कुदेको कुद्यै भेटिन्छ । ती युवाप्रति हीराबहादुर नेपालीको छोटो टिप्पणी छ, ‘शरीरमा बल भएका तर काम गर्ने अक्कल नभएकाहरू भारत जान्छन् । काम गर्नेलाई यतै पैसा नै पैसा छ ।’ अहिलेसम्म डोटीमा काठ, बिजुली, खानेपानी, घरको चिनाइ तथा रंगरोगन गर्ने जस्ता सीपमूलक काम गर्नेहरूको खडेरी छ । सीपमूलक काम गर्ने स्थानीय जनशक्ति नहुँदा स्थानीय उद्यमी, व्यवसायीहरूले दु:ख झेल्नुपरेको छ । सानो कामका लागि पनि बाहिरका कामदार बोलाउनुपर्ने, उनीहरूका हरेक सर्त पूरा गर्नुपर्ने जस्ता बाध्यता छन् । बर्सेनि सयौं युवाहरू निम्नस्तरको कामका लागि भारत जाने प्रवृत्ति छ । स्थानीय ठाउँमा काम पाइने भए पनि लाज मान्ने, अप्ठ्यारो अनुभव गर्ने गर्दछन् । ‘हातमा सीप भयो भने कसैका कुरा सहनु पर्दैन, उल्टै सम्मान पाइन्छ,’ डोटी उद्योग बाणिज्य संघका महासचिव नरेन्द्र खड्काले भने, ‘मैले पनि जीवनमा यता कुनै आयस्रोत नै नदेखी भारत जानुपरेको थियो, त्यहाँ नेपालीको अपमान देखेर गाउँ फर्कें, सानो लगानीबाट सुरु गरेको व्यापारले अहिले मलाई सम्मानित जीवन दिएको छ ।’ खड्का सरकारी तहबाटै स्वदेशमा काम गर्नका लागि युवाहरूलाई आर्कषण गर्ने खालका अभियान ल्याउनुपर्ने सुझाव दिन्छन् । २०६८ सालको जनगणना अनुसार डोटीमा १५ हजार ८ सय ८४ घरका २३ हजार ५ सय ४४ जना बिदेसिएका छन्, जसमध्ये ९६ प्रतिशत भारतमा जाने गरेका छन् ।