सीप परीक्षण केन्द्रमा सिलबन्दीपछि साउदीले पाँच कामको भिसा रोक्यो

31 July, 2026

Hom Karki

साउदी अरबमा सीप परीक्षण कार्यक्रम (एसभीपी) को प्रमाणपत्र चाहिने श्रमिकका लागि भिसा बन्द भएको छ । सीप परीक्षण गर्दै आएको काठमाडौंको बसुन्धरास्थित इन्ड्रस्ट्रियल ट्रेनिङ इन्स्टिच्युटमा नेपाल सरकारले सिलबन्दी गरेपछि साउदी दूतावासले पाँच प्रकारका काममा जाने नेपाली श्रमिकका लागि भिसा दिन छाडेको हो ।

नेपालमा श्रमिकलाई थप आर्थिक भार पार्ने गरी साउदीले काठमाडौंमा सीप परीक्षण सञ्चालन गर्दै आएको इन्ड्रस्ट्रियल ट्रेनिङ इन्स्टिच्युटमा नेपाल सरकारले गत बुधबार सिलबन्दी गरेको थियो । इन्स्टिच्युटले सीप परीक्षण गर्ने अनुमति नलिएको भन्दै युवा, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयले सिलबन्दी गरेका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतले सीप परीक्षणको प्रमाणपत्र माग भएको बाहेक काममा जाने श्रमिकका लागि भने भिसा जारी भइरहेको बताए । ‘साउदीले जुन–जुन काम वा पेसामा सीप परीक्षणको प्रमाणपत्र मागेको छ, त्यसका लागि भिसाको आवेदन नै पेस नगर्न हामीले वैदेशिक रोजगार व्यवसायीलाई अनुरोध गरेका छौं,’ साउदी दूतावासका कूटनीतिक अधिकारीसँग मंगलबार भेटेका बस्नेतले कान्तिपुरसँग भने, ‘श्रमिकलाई आर्थिक भार पार्ने गरी सीप परीक्षणका नाममा निजी संस्थामार्फत् एकाधिकार भएको छ । यो स्वीकार्य छैन ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024