साहुले कामबाट निकालेपछि कोरियामा नेपालीद्वारा आत्महत्या

14 June, 2011

मञ्जु थापा

तीन दिनअघि साहुले कामबाट निकालिदिएपछि दक्षिण कोरियामा एक नेपालीले आत्महत्या गरेका छन्। लमजुङको बाहुनडाँडा गाविस ५ निवासी धनराज गुरुङले थेगुमा आइतबार आत्महत्या गरेका हुन्।

उनी गत वर्षमात्रै इपिएस प्रणालीबाट दक्षिण कोरिया आएका थिए। थेगु छेथन्दोङ्गको कपडा कारखानामा काम कार्यरत उनलाई साहुले कामबाट निकालेपछि साथीहरुको कोठामा बस्दै आएका थिए। उनलाई साहुले मानसिक अवस्था ठीक नभएको आरोप लगाएका थिए। आत्महत्या गर्नुअगाडि उनले आफ्ना भाइलाई र कारखानाका साहुको नाममा दुई पत्र लेखेका छन्। साहुलाई लेखेको पत्रमा साहुले जबरजस्ती कामबाट निकाल्न खोजेको र मानसिक पीडा दिएको उल्लेख छ। उनले बेला बेलामा साहुले गर्ने दुर्व्यवहार र तनावका कुराहरु गर्ने गरेको उनका नजिकका साथीहरुले बताए।

उक्त घटनाको बारेमा जानकारी लिन सोमबार बिहान एनसीसी सउल शाखाका अध्यक्ष उदय राई घटनास्थल पुगेका छन्। मृतक गुरुङकी श्रीमती, एक छोरी एक छोरा छन्। उनी मंगलबारको उडानबाट नेपाल जाने तयारीमा थिए।

कोरियामा कामको लागि आएका श्रमिकहरुले आत्माहत्या गर्ने थुप्रै कारणहरु मध्ये सम्झौता विपरीत सोचे जस्तो काम नहुने, कामको कुनै सुनिश्चितता नहुने, कामको अत्यधिक चाप, साहुहरुको अमानवीय व्यवहार अथवा परिवारिक बिछोडका कारणहरु प्रमुख रहेको राईले बताए। गएको मार्च २९ मा अर्का एक नेपाली मान बहादुर दर्लामीले पनि डिप्रेशनका कारण आत्महत्या गरेका थिए। Published on: 14 June 2011 | Nagarik

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024