सरकारको सामाजिक सुरक्षा कोषमा हालसम्म साढे ३० लाख योगदानकर्ता आबद्ध भएका छन् । कोषको ३ साउनसम्मको तथ्यांकअनुसार ३० लाख ५० हजार नौ सय ९४ जना योगदानकर्ता आबद्ध भएका हुन् । कोषमा आबद्ध हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको संख्या सबैभन्दा बढी छ । २३ लाख ३२ हजार ७० जना वैदेशिक क्षेत्रका योगदानकर्ता कोषमा जोडिएका छन् ।
त्यसैगरी, औपचारिक क्षेत्रबाट सात लाख १६ हजार पाँच सय ७३, स्वरोजगार क्षेत्रबाट एक हजार दुई सय आठ र अनौपचारिक क्षेत्रबाट १२ सय २३ जना योगदानकर्ता जोडिएको कोषको तथ्यांक छ । यस्तै, २३ हजार पाँच सय पाँच रोजगारदाता पनि कोषमा सूचीकृत भएका छन् ।
औपचारिक क्षेत्रतर्फ प्रदेशगत रूपमा बागमती प्रदेशबाट सबैभन्दा बढी पाँच लाख २४ हजार आठ सय ३८ जना योगदानकर्ता र १५ हजार पाँच सय ६३ रोजगारदाता आबद्ध छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट तीन हजार सात सय ५४ जना योगदानकर्ता र तीन सय १२ रोजगारदाता जोडिएको कोषले जनाएको छ ।
यस अवधिमा कोषले कुल एक खर्ब २२ अर्ब ९८ करोड रुपैयाँ योगदान रकम संकलन गरेको छ भने २१ अर्ब ४२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको जनाइएको छ । कोषले विभिन्न सुरक्षा योजनाअन्तर्गत हालसम्म १२ लाख ९४ हजार नौ सय ७० वटा दाबी भुक्तानीमार्फत कुल २१ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गरेको हो । जसका लागि तीन लाख ६ हजार तीन सय ६० जनाले दाबी पेस गरेका थिए । योगदान रकमबाट दाबी भुक्तानी घटाएपछि कोषमा अहिले एक खर्ब एक अर्ब ५६ रुपैयाँ मौज्दात देखिन्छ ।
योजनागत संकलनअनुसार सबैभन्दा बढी रकम ‘वृद्ध अवस्था सुरक्षा योजना’ शीर्षकमा संकलन भएको देखिएको छ । जसअन्तर्गत ९३ अर्ब ३९ करोड नौ लाखभन्दा बढी संकलन गरिएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा पाँच अर्ब ८८ करोड, दुर्घटना तथा अशक्त–आश्रित सुरक्षा योजनामा सात अर्ब ३२ करोड ९५ लाख र अतिरिक्त योगदानतर्फ चार अर्ब ७४ करोडभन्दा बढी योगदान रकम संकलन भएको कोषले जनाएको छ ।