सामाजिक सञ्जालमार्फत युद्धको अफवाह फैलाएको आरोपमा खाडीमा ११ नेपाली पक्राउ

6 April, 2026

इजरायल, अमेरिका र इरानबीच जारी द्वन्द्वका विषयमा अफवाह फैलाउने श्रव्यदृश्य (भिडियो) सामग्री र तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ जना नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।

पक्राउ पर्नेहरूमा साउदी अरेबियामा चार, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा तीन–तीन तथा ओमानमा एक जना रहेका छन्। क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेका आक्रमणका तस्बिर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा त्रास फैलाउने गरी पोस्ट गरेमा ती देशका कानुनअनुसार सजाय भोग्नुपर्ने व्यवस्था छ। सोही कानून उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए।

“पक्राउ परेका नेपाली नागरिकको अवस्था र उनीहरूलाई छुटाउन सकिने विषयमा सम्बन्धित देशका दूतावास तथा नियोगहरूसँग समन्वय भइरहेको छ। उनीहरूले कुन कानुन उल्लंघन गरेका हुन् र कति जरिबाना लाग्छ भन्नेबारे जानकारी लिने काम भइरहेको छ,” प्रवक्ता क्षेत्रीले भने।

मध्यपूर्वका मुलुकमा युद्धको प्रभावका कारण रोजगारी गुमाउनुपर्ने जोखिम तत्काल नरहेको पनि क्षेत्रीले बताए। उनका अनुसार विशेष गरी होटल, रेस्टुरेन्ट र पर्यटन जस्ता क्षेत्रमा कार्यरत नेपाली कामदारले जागिर गुमाउने चिन्ता व्यक्त गरे पनि ठूलो स्तरमा त्यसको खतरा नरहेको सम्बन्धित नियोगहरूले जानकारी दिएका छन्। खाडी मुलुकमा युद्धबाट प्रभावित वा असुरक्षित भई घर फर्किन चाहने नेपालीको उद्धार कार्य निरन्तर भइरहेको उनले जानकारी दिए।

मन्त्रालयले जारी गरेको ‘कल सेन्टर’मा नेपाली नागरिकले उडानको अवस्था, घर फर्किने प्रक्रिया र श्रम स्वीकृतिबारे जिज्ञासा राख्ने गरेका छन्। “अहिलेसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराएका छन्। असुरक्षित महसुस गर्नेहरूको संख्या बिस्तारै कम हुँदै गएको छ र धेरैले सुरक्षित भएर उतै काम गर्ने इच्छा देखाएका छन्। ट्रान्जिटमा परेकाहरूको उद्धार लगभग पूरा भइसकेको छ,” उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024