चालू आर्थिक वर्ष ०८२/८३ को माघ मसान्तसम्म चार लाख ७२ हजार पाँच सय ७७ जना युवा वैदेशिक रोजगारीमा गएका छन् । माघमा मात्रै रोजगारी खोज्दै बिदेसिने युवाको संख्या अघिल्ला महिनामा भन्दा बढी छ ।वैदेशिक रोजगार विभागका अनुसार माघमा एक सय सात मुलुकमा रोजगारी गर्न जानका लागि ७० हजार पाँच सय तीन युवाले श्रम स्वीकृति लिएका छन् ।
यो संख्या मंसिर र पुस महिनामा जारी भएको श्रम स्वीकृतिभन्दा बढी हो । मंसिरमा एक सय आठ मुलुकमा ६५ हजार सात सय पाँच र पुसमा एक सय पाँच मुलुकमा ६२ हजार पाँच सय ५९ युवा रोजगारी खोज्दै गएका थिए ।
कात्तिकमा सबैभन्दा धेरै ७३ हजार ९४ र असोजमा ६४ हजार ६ सय ३४ युवाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । भदौमा जेन–जी आन्दोलन भए पनि ६७ हजार नौ सय ७२ र साउनमा ६८ हजार एक सय १० युवाले श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्ष ०८१÷८२ मा एक सय ५१ मुलुकका लागि आठ लाख ३९ हजार दुई सय ६६ युवाले श्रम स्वीकृति लिएका थिए ।
माघमा युएईका लागि धेरै श्रम स्वीकृति
माघको तथ्यांकअनुसार बिदेसिने युवाहरूको युएई पहिलो श्रम गन्तव्य मुलुकमा पुनः अगाडि आएको छ । यसअघि लगातार तीन महिना साउदी अरेबियाका लागि धेरै श्रम स्वीकृति भइरहेकोमा माघमा १५ हजार एक सय ३७ युवा युएई पुगेको विभागको तथ्यांक छ । दोस्रोमा साउदी अरेबियाका लागि ११ हजार पाँच सय ९२ ले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, कतारका लागि ११ हजार पाँच सय ८० र मलेसियाका लागि १० हजार तीन सय ४१ युवाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।
कुवेतमा पाँच हजार चार सय ४३, रोमानियामा तीन हजार नौ सय ४०, जापानमा एक हजार सात सय ६०, साइप्रसमा एक हजार दुई सय ५५, ओमानमा एक हजार दुई सय पाँच र बहराइनमा एक हजार एक सय २७ युवा पुगेको विभागको तथ्यांक छ ।
इजरायलसँग चाँडै श्रम सम्झौता नवीकरण
इजरायलसँग चाँडै श्रम सम्झौता नवीकरण हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । दुवै देशबिच श्रम सम्झौता नवीकरणका लागि पत्र आदान–प्रदान भई एक चरणको भर्चुअल बैठकसमेत सम्पन्न भएको प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए ।
‘एक चरणको भर्चुअल बैठक सकिएको छ, अब चाँडै अर्को बैठक पनि बस्दै छौँ,’ उनले भने, ‘इजरायलसँग चाँडै सम्झौता नवीकरण हुनेछ ।’ इजरायलसँग सम्झौता नवीकरण गर्दा यसअघि त्यहाँ कृषि इन्टर्न गरेर फर्किएका युवालाई कृषि फार्ममै रोजगारी दिनुपर्ने एजेन्डा राखिने भएको छ । कृषि फार्ममै रोजगारी गर्दा आकर्षक कमाइ हुने मन्त्रालयको दाबी छ । ‘कृषि इन्टर्न गरेर आएकाहरूलाई त्यहाँ रोजगारीको अवसर दिनुपर्ने एजेन्डा समावेश भइसकेको छ । सम्झौता नवीकरण हुँदा यो विषय पनि समेटिने विश्वास छ,’ घिमिरेले भने । २१ पुसको मन्त्रिपरिषद् बैठकले इजरायलसँग श्रम सम्झौता नवीकरण गर्न स्वीकृति दिएको थियो । त्यसयता श्रम मन्त्रालयले प्रक्रिया अघि बढाएको हो । इजरायलसँग भएको सम्झौता प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । त्यस्तै, ओमानसँग पनि नयाँ श्रम सम्झौता गर्न मन्त्रिपरिषद्को सोही दिनको बैठकले स्वीकृति दिएकोमा प्रक्रिया अघि बढाइएको प्रवक्ता घिमिरले जानकारी दिए ।