साउदीमा म्याद सकिएकालाई अप्रिल १८ सम्म सुविधा, सिधै फर्किन पनि पाउने

26 March, 2026

साउदी अरबले आवासीय अनुमतिपत्रको म्याद सकिएकालाई राहत दिने निर्णय गरेको छ । त्यहाँको गृह मन्त्रालयले क्षेत्रीय परिस्थितिका कारण समयमै देश छाड्न नसकेका विदेशीहरूको अवस्था व्यवस्थापन गर्न विशेष व्यवस्था लागू गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार फेब्रुअरी २५, २०२६ सम्म म्याद सकिएका सबै प्रकारका भिसा—भिजिट, उमरा, ट्रान्जिट तथा फाइनल एग्जिट—धारकलाई दुई विकल्प दिइएको छ ।

पहिलो, कम्पनीको अनुरोधमा अवसेर प्लेटफर्ममार्फत तोकिएको शुल्क तिरेपछि अप्रिल १८, सम्मका लागि भिसा नवीकरण गर्न सकिनेछ ।

दोस्रो, भिसा नथपाईकनै कुनै शुल्क वा जरिवाना नतिरी सिधै अन्तर्राष्ट्रिय नाकाबाट स्वदेश फर्किन सकिने सुविधा दिइएको छ ।

गृह मन्त्रालयले यो व्यवस्था साउदी नेतृत्वको निर्देशनअनुसार लागू गरिएको जनाएको छ । पछिल्लो समय क्षेत्रीय तनावका कारण धेरै विदेशी कामदार तथा आगन्तुकहरू निर्धारित समयमा स्वदेश फर्किन नसकेको सन्दर्भमा यो निर्णय गरिएको हो ।

मन्त्रालयले भनेको छ, ‘यो सुविधा लिएका व्यक्तिहरूले अनिवार्य रूपमा अप्रिल १८ भित्र साउदी छाड्नुपर्नेछ । अन्यथा, भिसा म्याद उल्लंघन गर्नेहरूविरुद्ध लागू कानुनअनुसार कारबाही गरिनेछ ।’

यस निर्णयले साउदीमा रहेका नेपालीसहित हजारौं विदेशी कामदार तथा आगन्तुकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024