सुरेन्द्र पौडेल
पाकिस्तानी नागरिकको हत्याको आरोपमा साउदी अरबमा मृत्युदण्डको सजाए पाएका एक नेपालीलाई माफी दिलाउन सरकारले ३० हजार साउदी रियाल (झन्डै ६ लाख रुपैयाँ) ‘ब्लडमनी’ (क्षतिपूर्ति रकम) प्रस्ताव गरेको छ।
पाकिस्तानी नागरिक मोहम्मद वसिरको हत्या तथा लुटपाटको आरोपमा धनुषा माछि जितकैया- ४ का ३१ वर्षीय उमेश यादव पाँच वर्षदेखि जेलमा छन्। उनलाई मंसिर पहिलो साता साउदीको जुवेल अदालतले स्थानीय कानुनअनुसार ‘टाउको काटी’ मृत्युदण्ड दिने फैसला गरेको थियो।
पीडित परिवारले क्षतिपूर्ति रकममा चासो देखाएपछि परराष्ट्र मन्त्रालयको निर्णयअनुसार साउदीस्थित नेपाली दूतावासले उक्त प्रस्ताव गरेको हो। त्यहाँको पाकिस्तानी दूतावासमार्फत् पीडित परिवारसमक्ष प्रस्ताव राखिएको स्रोतले जानकारी दियो।
‘हामीले मारिएका पाकिस्तानी नागरिक वसिरको परिवारलाई ३० हजार साउदी रियाल क्षतिपूर्ति दिने प्रस्ताव गरेका छौं,’ साउदीस्थित नेपाली दूतावासका द्वितीय सचिव सागर फुयाँलले टेलिफोनमा नागरिकसँग भने, ‘साउदीमा पीडित परिवारले क्षतिपूर्ति लिन माने दोषीले माफी पाउने कानुनी मान्यता छ।’
केही दिनअघि दूतावासले ‘क्षतिपूर्ति रकम प्रस्ताव गर्न’ वसिरका बाबु र श्रीमतीलाई अनुरोध गरेको थियो। उनीहरूले नेपाल सरकारलाई नै प्रस्ताव गर्न आग्रह गरेका थिए। त्यसपछि रकम तोकिदिन दूतावासले परराष्ट्रलाई पत्र पठायो। पीडित परिवारले प्रस्ताव स्वीकार गरे सम्पूर्ण रकम सरकारले बेहोर्नेछ।
‘पीडित परिवारले क्षतिपूर्ति स्वीकार गरे माफी दिने प्रक्रिया तुरुन्त सुरु हुन्छ,’ फुयाँलले भने, ‘साउदीमा रहेको पाकिस्तानी दूतावासलाई पनि पीडित परिवारलाई मनाउन सहयोग गरिदिन आग्रह गरेका छौं।’
क्षतिपूर्ति रकमबारे पीडित परिवारसँग छलफल अघि बढेकाले साउदीस्थित नेपाली दूतावासले यसअघि नै त्यहाँको गृह मन्त्रालय, कानुन मन्त्रालय, सर्वोच्च अदालत, गभर्नर कार्यालय, फैसला गर्ने जुवेल अदालत, यादव रहेको जुवेल सेन्टर जेललाई तत्काल सजाय कार्यान्वयन नगर्न आग्रह गर्दै पत्र पठाएको थियो। यसअनुसार उनको सजाय कम्तीमा ३ महिना कार्यान्वयन नगर्ने निर्णय भएको थियो।
सन् २००६ को अन्ततिर साउदी पुगेका यादव दुई महिनामै हत्याको आरोपमा पक्राउ परेका थिए। उनी राजधानी रियादबाट झन्डै साढे पाँच सय किलोमिटर पूर्व जुवेल सेन्टर जेलमा बन्दी जीवन बिताइरहेका छन्। उनले हत्याको आरोप स्वीकार गरे पनि लुटपाट भने नगरेको दूतावासका पदाधीकारीसँग बताएका थिए।
पाँच वर्षदेखि बेखबर रहेका यादवलाई मृत्युदण्ड दिइएको जानकारीपत्र मंसिर पहिलो साता साउदी सरकारले नेपाली दूतावासलाई दिएको थियो। त्यसपछि दूतावासका कर्मचारी उनलाई भेट्न जेल गएका थिए। भेटमा उनले अन्तिमपटक सात महिनाअघि परिवारका सदस्यसँग कुरा गरेको बताएका थिए। उनले आफूलाई मृत्युदण्ड दिइने लगभग पक्का भएको जानकारी परिवारलाई दिएपछि कुनै कुराकानी नभएको बताए।
‘पाकिस्तानी दूतावासलाई दोषीको परिवार अत्यन्त गरिब रहेको र क्षतिपूर्ति तिर्न नसक्ने भएकाले आशासमेत मारेर सम्पर्क नगरी बसेकाले जतिसक्दो कम क्षतिपूर्तिमा मनाउन सहयोग गरिदिन भनेका छौं,’ फुयालले भने, ‘हाम्रो अनुरोधमा पाकिस्तानी दूतावासका कर्मचारी सकारात्मक देखिएका छन्।’
यादवको घरमा श्रीमती (सञ्जुदेवी), दुई छोरा (कमलेश र निदेश), बाबु (भोला) र आमा (सुमन) छन्।