साउदीमा महिला घरेलु कामदारको किन भइरहेको छ मृत्यु?

18 March, 2025

हरेक दिन दर्जनौं केन्याली महिला खुसी हुँदै साउदी अरेबियामा घरेलु कामदारका रूपमा जान्छन्।

द न्यूयोर्क टाइम्सका अनुसार साउदी जानुअघि नैरोबी अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरू आफन्तसँग सेल्फी खिचिरहेका भेटिन्छन्। तर ‘डिपार्चर लन्ज’ भन्दा ‘अराइभल लन्ज’ को माहौल बेग्लै हुन्छ। साउदीबाट फर्किएका महिलाहरू तलब नपाएर, पिटाइ खाएर, खान नपाएर र यौन उत्पीडन भोगेर दुब्लाएका हुन्छन्। कति भने बाकसमा फर्किन्छन्।

साउदी अरेबियामा बर्सेनि सयौं महिला कामदारको शंकास्पद मृत्यु हुन्छ।

शव हेर्दा यातना दिएर मृत्यु भएको जस्तो देखिए पनि अधिकांशलाई साउदी सरकारले प्राकृतिक मृत्युको रूपमा प्रमाणित गर्छ भनेर टाइम्सले दाबी गरेको छ।

केन्या र युगाण्डाबाट घरेलु कामदारका रूपमा साउदी गएका ९० जना भन्दा बढी महिला र उनीहरूका आफन्तसँग कुरा गरेर बनाइएको समाचारमा कसरी साउदीमा त्यत्रो ठूलो संख्यामा महिला कामदारको मृत्यु हुन्छ भनेर विश्लेषण गरिएको छ।

साउदीमा विगत पाँच वर्षमा २७४ केन्याली कामदारको मृत्यु भएको र तीमध्ये धेरैजसो महिला छन्। गत वर्ष मात्रै ५५ जनाको मृत्यु भएको थियो। युगाण्डाबाट गएका धेरै महिला कामदारको पनि बर्सेनि मृत्यु हुने भए पनि युगाण्डाले त्यसबारे तथ्यांक सार्वजनिक गर्दैन।

नेपालबाट पनि ठूलो संख्यामा कामदार साउदी जाने भए पनि नेपाल सरकारले साउदी जान महिला कामदारलाई बन्देज लगाएको छ।

अरू देशमा घरेलु कामदारको काम सबभन्दा थोरै खतरा भएको मानिए पनि साउदीमा भने बर्सेनि धेरै महिला कामदारको मृत्यु भइरहेको हुन्छ। कतिपयको शरीरमा चोटपटक र करेन्ट लगाएर यातना दिएको निशान भए पनि साउदी सरकारले तिनलाई प्राकृतिक मृत्यु भन्छ।

एउटा उदाहरणमा सन् २०२२ मा एक जना केन्याली महिलाले आफूलाई मालिकले मारेर पानीको ट्यांकीमा फाल्ने धम्की दिएको भन्दै बचाउनु भनेर आमालाई फोन गरेकी थिइन्। नभन्दै पछि उनको शव छतको पानी ट्यांकीमा भेटियो। साउदी स्वास्थ्य अधिकारीले शव धेरै सडेकाले मृत्युको कारण पत्ता लगाउन नसकिने भने र प्रहरीले त्यसलाई पनि प्राकृतिक मृत्यु भन्यो।

यति ठूलो संख्यामा महिला कामदारको मृत्यु भए पनि साउदी सरकारका साथै केन्या र युगाण्डाले पनि यसलाई बन्द गर्न कुनै पहल गर्दैनन्। झन् यसलाई प्रश्रय दिन्छन्। कामदार पठाउने र लिने दुवै तर्फका राजनीतिज्ञ र ठूलाबडालाई फाइदा हुने भएकाले यो चलिरहन्छ। कामदारले साउदीबाट पठाएको रेमिटेन्सले केन्या र युगाण्डाको अर्थतन्त्रमा टेवा पुर्‍याउने भएकाले पनि वैदेशिक रोजगारीमा पठाएर लाभ लिने दलालहरूलाई आफ्नो धन्दा चलाइरहन सजिलो भएको छ।

यसमा संलग्न दुवै तर्फकाले कामदारको सुरक्षाभन्दा आफ्नो आर्थिक फाइदा हेर्छन्। म्यानपावर कम्पनी र रोजगारदाता कसैलाई पनि सजाय नहुने भएकाले पनि उनीहरूले सुध्रिनु पर्दैन।

धेरैवटा उदाहरण दिँदै रोजगारीमा सहभागी सबैले कामदारको प्रणालीगत शोषण गर्ने टाइम्सले जनाएको छ। कतिपय मेनपावर एजेन्सी केन्या र युगाण्डाका राजनीतिज्ञले चलाएको उदाहरण दिइएको छ। अर्कोतर्फ साउदीका एजेन्सी पनि त्यहाँको राजपरिवार र उच्च सरकारी अधिकारीसँग निकट हुन्छन्।

रोजगारीका लागि जाने कामदारलाई मान्छेजस्तो व्यवहार पनि गरिँदैन। कतिपय म्यानपावर कम्पनीले कामदारको तस्बिरको छेउमा ‘एड टु कार्ट’ भनेर सामान किने जसरी किन्नका लागि बटन राखेका हुन्छन्। एउटा कम्पनीले त केन्याली महिला कामदार (मेड) बिक्रीका लागि भनेर विज्ञापन गरेको टाइम्सले औंल्याएको छ।

फिलिपिन्सजस्ता देशले आफ्ना नागरिकका लागि न्यूनतम ज्याला तोक्न साउदीसँग वार्ता गरे पनि केन्या, युगाण्डा लगायत पूर्व-अफ्रिकी देशले त्यस्तो गर्दैनन्। यस कारणले पनि त्यहाँबाट गएका कामदार धेरै अन्यायमा पर्छन्।

साउदीको दशकौं पुरानो श्रम प्रणालीले पनि कामदारलाई अप्ठ्यारो पार्छ। प्रायजसो मालिकले कामदार पुग्नेबित्तिकै राहदानी लिएर राख्छन्। जति दुर्व्यवहार गरे पनि राहदानी मालिकसँग भएकाले कामदारले सहेर बस्नुपर्ने हुन्छ। भागेर गए राहदानी नभएको निहुँमा पक्राउ पर्ने खतरा हुन्छ।

पितृसत्तावादी साउदी अरेबियामा साउदी महिलाकै पनि अधिकार खासै हुन्नन्। त्यहाँ साउदी महिलाविरूद्ध नै पनि संरचनागत हिंसा हुन्छ। यस्तोमा घरेलु कामदारका रूपमा गरिब देशबाट आएका महिलाप्रति राम्रो व्यवहार हुने कुरै भएन। कैयौं महिलाले आफू रोजगारदाताबाट बलात्कृत भएको भन्छन् भने गर्भवती भएकालाई रोजगारदाताले देश फिर्ता पठाइदिन्छन्।

जातिवादका कारण पनि केन्या र युगाण्डाबाट गएका कामदारले धेरै सास्ती बेहोर्नुपर्छ। साउदीमा आउने विदेशी कामदारको वरियता तोकिएको हुन्छ र काला पूर्व-अफ्रिकीहरू त्यसको सबभन्दा पुछारमा हुन्छन्। त्यसैले उनीहरूले तलब कम पाउँछन् भने ज्यादती चाहिँ धेरै बेहोर्नुपर्छ।

साउदीले पछिल्ला वर्षमा श्रम नीतिमा सुधार थाले पनि त्यसको कार्यान्वयन फितलो भएकाले विदेशी कामदारले सास्ती पाइरहेका छन्।

यसरी साउदीमा ठूलो संख्यामा केन्या, युगाण्डा लगायतका महिला कामदारले ज्यादती भोग्नु परे पनि कामदारबाहेक अरू सबै पक्षलाई फाइदा हुने भएकाले यो क्रम चलिरहेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024