साउदीमा नेपाली कामदारको उपचार गर्दा लागेको २ करोड ५० लाख रुपैयाँ मिनाहा

23 April, 2021

होम कार्की

काठमाडौँ — साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले एक नेपाली कामदारको उपचार गर्दा लागेको झन्डै दुई करोड ५० लाख रुपैयाँ (८ लाख २३ हजार रियाल)को मिनाहा गरिदिएको छ ।

अस्पतालले साढे दुई वर्षपछि हरैचा–९,मोरङका वेदबहादुर भुजेलको उपचार खर्च मिनाहा गरिदिएको हो । उपचार खर्चको बिल भुक्तानीगर्न नपरेपछि उनी बिहीबार स्वदेश फर्केका छन् । उपचार खर्च तिर्न नसकेपछि अस्पतालले साढे दुई वर्षअघि रियादस्थित स्थानीय अदालतमा भुजेलविरुद्ध मुद्दा दायर गरेको थियो । रियादस्थित नेपाली दूतावासले निरन्तर मुद्दा फिर्ता लिएर उपचारको बिल मिनाहगर्न अनुरोध गर्दै आएको थियो ।

‘उहाँ गैरकानुनी हैसियतमा रहेर काम गरिरहेको अवस्थामा दुर्घटनामा पर्नु भएको थियो । उहाँको उपचारको क्रममा खर्च भएको अस्पतालको बिल तिर्ने जिम्मा कसैले पनि लिएन । उपचार खर्चको बिल कसैले तिर्न नमानेपछि अस्पतालले भुजेलविरुद्ध मुद्दा दायार गरी दूतावासको जिम्मा लगाएको थियो’, साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले कान्तिपुरसँग भने,‘दूतावासको अथक प्रयासको परिणामस्वरुप अस्पतालले दुई हप्ताअघि भुजेलविरुद्ध अदालतमा रहेको केस फिर्ता लिइदियो । त्योसँगै भुजेलको स्वदेश फिर्ती प्रक्रियाको बाटो खुल्यो ।’

साउदीमा कुनै पनि विदेशी नागरिकमाथि कुनै मुद्दा लागेसम्म साउदीबाट बाहिर निस्कन अनुमति दिइने गरेको छैन । भुजेल रियादस्थित एक कम्पनीमा काम गर्दागदै दुर्घटनामा परी परेका थिए । उपचारपछि उनी अढाई वर्षदेखि नै दूतावासको सेल्टरमा थिए । ‘साउदी अरबको जुन कम्पनीमा काम गर्न आउनु भएको थियो, त्यो कम्पनी छोडेर अन्यन्त्र काम गर्दागर्दा कार दुर्घटनामा पर्नुभयो,’ राजपुतले भने, ‘दुर्घटनालगत्तै अस्पतालमा भर्ना गरिएको थियो । करिब तीन महिनासम्म अचेत रहनुभयो । अस्पतालको लामो समयसम्मको निरन्तर उपचार र हेरचाहपश्चात उहाँको स्वास्थ्यमा सुधार आयो ।’

अस्पताल बसाइ र उपचार खर्चको बिल आठ लाख साउदी रियालभन्दा बढी आएको थियो । ‘अस्पतालको बिल निकै धेरै रहेको र गैरकानुनी हैसियतमा भएकोले उक्त रकम कसैले पनि तिर्ने अवस्था नदेखेपछि सुरुमा दूतावासले भुजेलको पहिलेको कम्पनी र म्यानपावर कम्पनीसँग कुराकानी गर्‍यो । ती कम्पनीहरुले २५/२५ हजार साउदी रियाल बेहोर्ने गरी जम्मा ५० हजार रियालमा भुजेलको तर्फबाट एक जना कानुन व्यवसायी राखी प्रतिरक्षाको सुरुवात गरिएको थियो,’ राजदूत राजपुतले भने, ‘दुई वर्षसम्म कुनै कानुनी प्रगति हुन सकेन । तापनि दूतावास उनलाई नेपाल पठाउन सकिने अवस्था सिर्जना गर्न निरन्तर प्रयासरत रह्यो । अस्पतालको बिल तिर्न नसकिने भएपछि सो अस्पताललाई नै वेदबहादुर भुजेलको केस फिर्ता गर्न राजी तुल्याउनुको विकल्प केही थिएन ।’ 

भुजेलले आफू स्वदेश फिर्न पाएकोप्रति खुसी व्यक्त गरेका छन् । ‘जिन्दगीमा नपाउनुसम्म दु:ख पाएँ । जे जस्तो भए पनि मलाई लामो समयसम्म दूतावासले शरण दिई राख्यो । घर आउन निकै समय लाग्छ जस्तो लागेको थियो’, उनले भने,‘दूतावासको सहयोगले घर फिर्न पाए । यसमै खुसी छु । यत्रो पैसा तिर्न परेन ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026