साउदीमा नेपालीको मृत्युदण्ड स्थगित

1 January, 2012

साउदी अरेबियाको एक अदालतले महिना दिनअघि मृत्युदण्डको फैसला सुनाएको धनुषाका उमेश यादवको सजाय तत्काललाई स्थगित भएको छ।

उनलाई पाकिस्तानी नागरिकको हत्या आरोपमा मृत्युदण्डको फैसला सुनाइएको थियो। साउदीस्थित पाकिस्तानी दूतावासले शनिबार त्यहाँको परराष्ट्र मन्त्रालयलाई पत्र लेखी यादवको सजाय तत्काललाई स्थगित गर्न आग्रह गरेपछि मृत्यदण्ड स्थगन गरिएको हो।

‘पाकिस्तानी दूतावासले साउदीको परराष्ट्र मन्त्रालयलाई पत्र लेखी यादवको सजाय स्थगित गर्न आग्रह गरेको छ,’ त्यहाँका नेपाली राजदूत उदयराज पाण्डेले नागरिकसँग टेलिफोनमा भने, ‘पीडक र पीडित परिवारबीच कुराकानी भएको र सजाय माफी हुने प्रक्रियामा रहेको अनुमान गर्न सकिन्छ।’

पाँच वर्षअघि रोजगारीका लागि साउदी पुगेका यादवलाई पाकिस्तानी नागरिक मोहम्मद वासिरको हत्या अभियोगमा एक महिनाअघि त्यहाँको अदालतले मृत्युदण्ड सुनाएको थियो। उनी साउदी पुगेको केही महिनादेखि नै वासिरको हत्या आरोपमा जेलमा छन्। साउदी कानुनअनुसार पीडितले चाहेमा अदालतको मृत्युदण्डको फैसलामा माफी गर्न सक्छन्। यादवको सजाय माफीका लागि साउदीस्थित नेपाली दूतावासले कुटनीतिक पहल गर्दै आएको थियो।

यसअघि पीडित पाकिस्तानी नागरिकका परिवारले ९८ हजार रियाल दिए सजाय माफी गर्न सकिने बताएका थिए। ‘हामीले ३० हजार रियाल (६ लाख ३० हजार रुपैयाँ) दिएर सजाय माफी गराउने पहल गरेका छौं,’ साउदीस्थित नेपाली दूतावासका दोस्रो सचिव सागर फुयालले भने, ‘यो रकममा पनि पीडित पाकिस्तानी नागरिकका परिवारसँगको सहमतिमा केही थप गर्न सकिन्छ।’

नेपाली नियोगका अनुसार पाकिस्तानी दूतावासले नै सजाय स्थगित गर्न आग्रह गरी पत्र पठाएपछि पीडित र पीडक परिवारबीच कुरा मिलेको र यादवको सजाय माफी हुनसक्ने सम्भावना छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024