साउदीबाट फर्किएर गाउँमै उद्यम

25 August, 2026

Menuka Dhungana

जिल्लास्थित साँफेबगर–४, पायडीका ३३ वर्षीय विष्णु बुढाथापा झिसमिसेमै उठ्छन् । चिया पिएपछि घर नजिकैको मिलका ढोका खोल्छन् । कुटानीपिसानीका लागि धान, गहुँ बोकेर गाउँले आउन थालेपछि उनको व्यस्तता बढ्छ । उनको मिल गाउँले जुट्ने थलो बनेकाले जहिल्यै चहलपहल हुन्छ । गाउँका धेरै युवा भारत र तेस्रो मुलुक गएकाले बस्ती सुनसान हुन्छ । वृद्धवृद्धा र बालबालिका मात्रै घरमा रहेका छन् ।

२१ वर्षकै उमेरमै वैदेशिक रोजगारीका लागि विष्णु साउदी अरब हानिएका थिए । त्यहाँ ७ वर्ष बिताएर फर्किएपछि गाउँमै बस्ने निधो गरे । अहिले दैनिकीको सुरुवात मिलबाट हुन्छ, दिउँसो वाक नेपाल साँफेबगरमा मार्केट को–अर्डिनेटरको काम गर्छन् । साँझ मिलमै फर्किन्छन् । बिदाको दिन माछा पोखरीमा बिताउँछन् । ‘बिहान मिल अनि दिउँसो कार्यालयको काम हुन्छ । साँझ फेरि मिलमा आउनुपर्छ,’ उनले भने, ‘फुर्सद नै हुँदैन । आफ्नै गाउँमा बसेर काम गरिरहेको कुराले भने सन्तुष्टि दिन्छ ।’ साँझ ६ बजेदेखि ८ बजेसम्म मिल चलाएपछि मात्रै उनी आराम गर्छन् ।

कक्षा १२ उत्तीर्ण गरेर २०६६ सालमा साउदी अरब पुगेका थिए । परिवारमा ६ भाइ, दुई बहिनी, बुबा, आमा र बज्यै थिए । आर्थिक अवस्था सहज नभएकाले पढाइलाई निरन्तरता दिन नसकेपछि उनी विदेशिए । साउदीमा उनले भारतीय रेस्टुरेन्टमा काम पाए । वेटर बन्ने उद्देश्यले पुगेकालाई सुरुमा क्लिनरको काम दिइयो । ‘वेटरमा गएको थिएँ, तर सुरुमा क्लिनर राखे,’ उनले सम्झिए, ‘काम सिकाउने रहेछन् । राम्रो भयो भने पछि राम्रो ठाउँमा लैजाने, नभए त्यही काम गर्ने अवस्था हुने रहेछ ।’

मिहिनेत गरेर दुई वर्षमै सुपरभाइजर बने । सुरुमा ७ सय रियाल तलब थियो । सुपरभाइजर भएपछि १ हजार ५ सय पाउन थाले । जिम्मेवारी र आम्दानी बढे पनि मुलुक फर्किने सोच बलियो हुँदै गयो । ‘जहाँ गए पनि दुःख गर्नैपर्ने रहेछ,’ उनले भने, ‘त्यति दुःख आफ्नै देशमा गर्नुपर्छ भन्ने लाग्यो ।’ अर्कोतर्फ पढाइ छुटेकोमा पछुताइरहेका थिए । गाउँ फर्किएर पढाइलाई निरन्तरता दिए । दुई वर्षअघि स्नातक तह पूरा गरिसकेका छन् ।

फर्किँदा गाउँमा सडक र बिजुली पुगिसकेको थियो । तर गाउँबाट वैदेशिक रोजगारीमा जाने लहर थियो । ‘त्यतिबेला बसाइँसराइको प्रभाव अहिलेको जस्तो थिएन,’ उनले भने, ‘अहिले घर छाडेर जाने क्रम बढेको छ । कतिपय घरमा वृद्धवृद्धा र बालबालिका मात्रै छन् ।’ युवा बाहिरिए पनि गाउँका आवश्यकता घटेनन् । विष्णुले त्यही आवश्यकता देखे व्यवसायका रूपमा मिल सञ्चालन गर्ने निर्णय गरे । धान र गहुँ पिसाउन पायडीबाट टाढाको घट्टमा जानुपर्थ्यो । वर्षायाममा समस्या झन् बढ्थ्यो । ‘विशेषगरी महिलालाई गाह्रो थियो,’ विष्णु भन्छन्, ‘घरको काम सकेर अन्न बोकेर टाढा जानुपर्ने बाध्यता थियो । गाउँमै मिल भयो भने धेरै सहज हुन्छ भन्ने लाग्यो ।’

बुवासित सल्लाह गरेर ९५ हजार रुपैयाँ लगानीमा जेनेरेटर राखे । ६ महिना त्यसैबाट मिल चलाए । गाउँमा बिजुली जडान भएपछि करिब ३ लाख रुपैयाँ खर्च गरेर मिल व्यवस्थित गरे । अहिले मिलमा धान र गहुँ पिसिन्छ र तेल पेलिन्छ । यसबाट मासिक २० देखि ३० हजार रुपैयाँसम्म नाफा हुने विष्णु बताउँछन् । मिलको महत्व गाउँका वृद्धवृद्धालाई अझ बढी छ । ७० वर्षीय हिरा बुढाका लागि मिल गाउँको आवश्यकतासँग जोडिएको सेवा हो । ‘यो मिल बन्द भयो भने हामीलाई अब धेरै दुःख हुन्छ,’ उनी भन्छन्, ‘हाम्रो धेरै आधार यही हो । टाढा जान सकिँदैन ।’

तीन वर्षअघि पुर्ख्यौली घरनजिकै उनले दुईवटा पोखरी बनाए । एक रोपनी क्षेत्रफलको पोखरीमा कमन र ग्रास कार्प पाल्न थाले । त्यसमा ४ लाख रुपैयाँ लगानी भयो । पहिलोपटक भुरा हाल्दा १ लाख रुपैयाँ खर्च भयो । ‘यस ठाउँमा माछा हुर्किँदैन भनेर मजाक उडाउँथे,’ विष्णुले सम्झिए, ‘पहिलोपटक माछा निकालेर देखाएपछि मात्रै विश्वास गरे । एक किलोको एउटै माछा उत्पादन गरेपछि पत्याउन थाले ।’ उनका अनुसार अहिले माछा गाउँमै बिक्री हुन्छ । प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री भइरहेको विष्णुले बताए । तीन वर्षको अवधिमा करिब १५ लाख रुपैयाँ बराबरको माछा बिक्री भएको उनको दाबी छ । वार्षिक करिब ५ लाख रुपैयाँको माछा बिक्री हुने र त्यसबाट करिब २ लाख ५० हजार रुपैयाँ नाफा हुने उनी बताउँछन् ।

बजारको समस्या छैन । उत्पादन कम छ । ‘अहिले बजार खोज्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘मागअनुसार उत्पादन गर्न सकेको छैन ।’ माछाको उत्पादन बढाउने, बजार विस्तार गर्ने र बिस्तारै बाख्रा तथा कुखुरापालनतर्फ जाने उनको सोच छ । श्रीमती शोभा बोगाटाको पनि उनलाई साथ छ । उनी भगवती आधारभूत विद्यालयमा पढाउँछिन् । ‘घरबाट सहयोग नहुने हो भने काम गर्न गाह्रो हुन्छ,’ विष्णु भन्छन्, ‘श्रीमतीको आफ्नो जागिर छ । मेरो काम छ । समय मिलाएर अगाडि बढिरहेका छौं ।’

सरकारी निकायबाट अपेक्षा गरेजस्तो सहयोग नपाएको विष्णुको गुनासो छ । ‘अनुदान वास्तविक व्यवसाय गर्नेले पाउनुपर्छ,’ उनी भन्छन्, ‘कागज मिलाउन सक्नेले मात्रै पाउने अवस्था भयो भने गाउँमा काम गर्न चाहने मान्छे निरुत्साहित हुन्छन् ।’ तर यस्ता कठिनाइले उनलाई गाउँ छाड्ने सोचसम्म पुर्‍याएको छैन । बरु उनी गाउँमै नयाँ सम्भावना खोजिरहेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024