साउदीको पश्चिमी क्षेत्रमा उच्च सतर्कता अपनाउन महावाणिज्यदूतावासको आग्रह

16 September, 2026

Hom Karki

साउदी अरबको पश्चिमी क्षेत्रमा सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाली महावाणिज्यदूतावास, जेद्दाले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महावाणिज्यदूतावासले मंगलबार जारी गरेको सूचनाअनुसार साउदी अरबको आधिकारिक सुरक्षा निकाय ‘जनरल डाइरेक्टोरेट अफ सिभिल डिफेन्स’ तथा राष्ट्रिय प्रारम्भिक चेतावनी प्रणालीमार्फत जेद्दा, मक्का, ताइफ, मदिना, आभा, यान्बु लगायतका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित सुरक्षा जोखिमबारे पूर्वचेतावनी जारी गरिएको छ ।

महावाणिज्यदूतावासले चेतावनी जारी भएको अवस्थामा तत्काल नजिकको पक्की भवनभित्र प्रवेश गरी झ्याल तथा सिसा नभएको भित्री कोठामा बस्न र जोखिम पूर्ण रूपमा नहटेसम्म बाहिर ननिस्कन आग्रह गरेको छ ।

त्यस्तै, झ्याल, सिसा, बाल्कोनी तथा भवनको छतबाट टाढा रहन, खुला सडक वा बाहिर रहेका बेला नजिकैको सुरक्षित भवनमा शरण लिन तथा सवारीसाधन चलाइरहेको अवस्थामा पुल वा अग्ला भवनबाट टाढा सुरक्षित स्थानमा गाडी रोकेर आश्रय लिन अनुरोध गरिएको छ ।

महावाणिज्यदूतावासले कुनै पनि संवेदनशील घटना वा जोखिमयुक्त स्थानमा भीडभाड नगर्न, फोटो वा भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा त्यस्ता सामग्री सम्प्रेषण नगर्न पनि सचेत गराएको छ। यस्ता गतिविधि स्थानीय कानुनविपरीत हुन सक्ने दूतावासको भनाइ छ ।

साथै सामाजिक सञ्जाल वा अनधिकृत माध्यमबाट फैलिने अफवाहमा विश्वास नगरी साउदी नागरिक सुरक्षा निकाय तथा सरकारी स्रोतबाट जारी आधिकारिक सूचनामात्र पछ्याउन नेपालीलाई अनुरोध गरिएको छ ।

आपत्कालीन अवस्थामा मक्का, मदिना र जेद्दा क्षेत्रका लागि एकीकृत नम्बर ९११ तथा अन्य क्षेत्रका लागि एम्बुलेन्स ९९७, प्रहरी ९९९ र सिभिल डिफेन्स ९९८ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

महावाणिज्यदूतावासले आवश्यक परे आपत्कालीन हटलाइन ०५३५०२४१६९, ०५५९७४४२५३ र ०५३१२५४०९९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024