सहयोगी नेपाली चेलीको क्यामरुनद्वारा प्रशंसा

16 March, 2014

नवीन पोखरेल

हेर्दा त्यति ठूलो नलाग्ने एउटा घटना अप्रत्यासित बाहिर आएपछि यो साता बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन एकाएक आलोचित भए । घटना एक जना नेपाली सुसारेसँग सम्बन्धित छ ।

प्रधानमन्त्री क्यामरुन दम्पतीले बालबच्चा रेखदेख गर्न नेपाली महिला गीता लामालाई केही वर्षपहिले राखेका थिए । मालिकहरूको ज्यादतीबाट पीडित आप्रवासी महिला कामदारहरूलाई मुक्ति दिलाउन कार्यरत एउटा च्यारिटी संस्था ‘कल्याण’ मार्फत गीता क्यामरुन निवास गएकी थिइन् । उनले सन् २०१० मा बेलायती नागरिकतासमेत लिइन् । त्यही साल क्यामरुन प्रधानमन्त्री भए । 

गीताको प्रसंगलाई लिएर अघिल्लो साता संसद्मै विरोध भएपछि क्यामरुनले त्यसको कडा प्रतिवाद गरेका छन् । प्रधानमन्त्री निवासमा विदेशी कामदार राखी बेलायती नागरिकतासमेत दिलाएको भन्दै आफ्नै दल कन्जरभेटिभ सम्बद्ध अध्यागमनमन्त्री जेम्स ब्रोकनसायरले अघिल्लो बिहीबार संसद्मा कटाक्ष गरेका थिए । सर्वत्र आलोचित भइरहँदा प्रधानमन्त्री क्यामरुनले साता दिनपछि त्यसको प्रतिवाद गरेका हुन् ।

इजरायल भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै क्यामरुनले गीताको कडा परिश्रमको प्रशंसा गरे । उनले बेलायती नागरिकता लिँदा सबै प्रक्रिया, आवश्यक जाँच आफैं पास गरेको र त्यसमा आफूले कुनै सहयोग नगरेको प्रस्ट्याएका छन् । बेलायती अखबार गार्डियनले क्यामरुनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘हामीसँग एकदम राम्रो काम गर्ने महिला गीता लामा छिन्, जसले हाम्रा बालबच्चाको रेखदेख गर्छिन्, उनी नेपालबाट आएकी हुन् । उनले सबै परीक्षा उत्तीर्ण गरेर बेलायती नागरिकतासमेत लिएकी छन् ।’ क्यामरुन दम्पतीका तीन सन्तान (छोरी न्यान्सी र फ्लोरेन्स, छोरा आर्थर) छन् । एक छोरा इभानको ६ वर्षकै उमेरमा सन् २००९ मा निधन भएको थियो ।

एकपटक गीताले बेलायती मन्त्रिपरिषद्को भूमिका के हो भनेर आफूसँग जिज्ञासा राखेको भने क्यामरुनले खुलाएका छन् । आफूले दिएको त्यसको जवाफ रहस्यमै छाड्दै क्यामरुनले मिडियासँग भने, ‘मैले उनलाई दिएको जवाफ भने तपाईं आफैं अनुमान गर्नुस् ।’

यसअघि प्रधानमन्त्री कार्यालय ‘टेन डाउनिङ स्टि्रट’ ले गीताले बि्रटिस नागरिकता प्राप्तिका लागि सन् २०१० मा निवेदन दिएको र निवेदनमा रोजगारदातामा प्रधानमन्त्री पत्नी समान्थाको नाम रहे पनि निवेदनलाई सघाउ हुने गरी क्यामरुन र समान्था कसैले पनि कुनै पत्र नलेखेको प्रस्ट पारेको थियो ।

नवनियुक्त अध्यागमनमन्त्री ब्रोकनसायरले अघिल्लो बिहीबार संसद्मै क्यामरुनले आफ्नो निवासमा घरेलु कामदार राखेको भनी कडा आपत्ति जनाएका थिए । मन्त्री ब्रोकनसायरले महानगरका विशिष्ट धनाढ्य वर्गहरूले घरेलु कामदारका रूपमा सस्तो ज्यालामा विदेशी राखेर सरकारलाई अध्यागमन कटौतीको पूर्वघोषित लक्ष्य पूरा गर्न असहज बनाइरहेको आरोपसमेत लगाएका थिए ।

बेलायत सरकारले सन् २०१५ सम्म कुल आप्रवासी संख्या एक लाख कटौती गर्ने बताए पनि ऊ आफ्नो लक्ष्यमा पुग्न असफल भइरहेको टीकाटिप्पणी छ । प्रधानमन्त्री क्यामरुनले भने त्यो करिब ३० प्रतिशतले झरेको बताउँदै अध्यागमन नियम दुरुपयोग गर्न कारक ठानिएका करिब सात सय नक्कली (बोगस) कलेज बन्द गरिसकिएको जनाएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024