सपनाको ट्रकदेखि मलेशियासम्म : बाध्यताले विदेशिएको जीवन

22 April, 2026

Raj Karan Mahato

एकाएक घरमा रुवाबासी चल्यो । घरको आँगनमा सन्नाटा छायो । महोत्तरीको गौशाला नगरपालिका–११ का ३४ वर्षीय सरोजकुमार महतोलाई भाइ राकेशले मलेसियाका लागि बिदाइको हात हल्लाए ।

यो क्षणले घरदेखि छिमेकीसम्मलाई रुवायो । वैदेशिक रोजगारीले नौजवानहरु परदेशिदाको व्यथा मधेसको मात्रै होइन देशकै साझा समस्या बनेको छ। सरोजको जीवन कथा कुनै एक व्यक्तिको मात्र होइन, हजारौं नेपाली युवाको साझा यथार्थ हो । आर्थिक अभाव, बढ्दो ऋण र परिवारको जिम्मेवारीले उनलाई आफ्नो जन्मभूमि छोड्न बाध्य बनायो ।

कुनै समय थियो, सरोज नेपालमै आफ्नै १२ चक्के ट्रक किनेर श्रम र पसिनाले भविष्य बनाउन खोजेका थिए । सडकमा गुड्ने त्यो ट्रक केवल गाडी मात्र थिएन, त्यो उनको सपनाको उडान थियो । आत्मनिर्भर बन्ने अठोट थियो । तर, कठोर यथार्थले उनलाई पराजित गर्‍यो । कमाइले खर्च धान्न सकेन । ऋण थपिँदै गयो र अन्ततः त्यो सपना चकनाचुर भयो । आर्थिक दबाबले थिचिँदै जाँदा उनले विदेश जाने कठिन निर्णय लिए । करिब अढाइ वर्षअघि उनी मलेशिया पुगे । त्यतिबेला पनि देशको अवस्था उस्तै थियो । आर्थिक मन्दी र बेरोजगारी । आजसम्म पनि खासै परिवर्तन भएको छैन त्यो अवस्थामा । त्यसैले उनी फेरि पनि निष्कर्षमा पुगे-‘विदेश नै ठीक ।

मलेशियामा उनी स्टोर किपरको रूपमा काम गर्छन् । उत्पादन भएका मेसिनरी पार्टपुर्जा तयार भएपछि प्याकिङ, लेबलिङ र अन्तिम जाँच गर्ने जिम्मेवारी उनको काँधमा छ । काम सानो देखिए पनि सरोजको काँधमा भने जिम्मेवारी ठूलो छ । किनभने त्यो कामसँगै जोडिएको छ उनको परिवारको आशा, ऋण तिर्ने बाध्यता र भविष्यको सपना । तर, यो कथाको सबैभन्दा मार्मिक क्षण त्यो हो-जब उनी विदेश जान लाग्दा भाइ राकेश महतोले उनलाई बिदाइ गरेका थिए । त्यो क्षण केवल बिदाइ मात्र थिएन, त्यो पीडा थियो, छुट्टिने वेदना थियो र आँखाभरि सपनासँगै आँशु पनि थिए ।

तस्बिरमा देखिने त्यो आलिङ्गन, त्यो चिसो हाँसो र आँशु झार्दै छुट्टिने दृश्य-जोकोहीलाई पनि भावविह्वल बनाउने खालको छ । त्यहाँ शब्द थिएनन्, तर भावनाले सबथोक बोलेका थिए, ‘छिट्टै फर्किनु, आफ्नो ख्याल राख्नु । हामी तपाईंलाइ पर्खिरहेका छौं ।’ सरोजको कथा केवल रोजगारीको मात्रै होइन, यो संघर्षको कथा हो । यो कथा हो-देशमै केही गर्न चाहँदा पनि बाध्य भएर विदेशिनु पर्ने नेपाली युवाको।

यो कथा हो-परिवारको लागि आफ्ना चाहना त्याग्ने उनिहरु जस्ता हजारौं साहसी युवाहररुको । आज उनी टाढा छन्, तर उनको मन अझै आफ्नै गाउँ, आफ्नै घर र आफ्नै मानिसहरूसँगै छ । उनको हरेक पसिनाको थोपा, हरेक मेहनत-एक दिन ऋणमुक्त भएर, सम्मानका साथ घर फर्किने सपनातर्फ उन्मुख छ । तर, परिवारका लागि त्यो प्रतीक्षाको घडी भने निकै पीडादायक छ । सरोजका लागि पनि त्यो बिरानो भूमि युद्धको मैदान भन्दा कम छैन ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024