होम कार्की
वैदेशिक रोजगार व्यवसायीले कुवेतको संगठित क्षेत्रको अनुमति लिएर कामदारलाई भेंडा गोठाला काममा पठाउने गरेका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार केही महिनायता यस्तो प्रवृत्ति बढेको हो । ‘हरेक दिन तीन/चार जना भेंडी गोठला परियो भन्दै भागेर उद्धारका लागि दूतावास आइपुग्ने गरेका छन्,’ कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले भने, ‘यस्तो स्थिति एक महिनादेखि देखिन थालेको हो ।’
दूतावासले भेंडा चराउने काममा ल्याउन म्यानपावरलाई अनुमति भने दिएको छैन ।
‘संगठित क्षेत्रमा कामदार ल्याउन अनुमति पाएका केही व्यवसायीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइसकेपछि त्यस्तो श्रमस्वीकृति पत्रको फाइल अन्य अनधिकृत एजेन्टलाई बेचेर पैसा कमाउने कार्यमा संलग्न भइरहेको छ,’ उनले भने, ‘त्यसलाई दुरुपयोग गरी अर्को पद, तलब सुविधाको नक्कली करारनामा बनाएर पठाउने गरेका छन् ।’
वैदेशिक रोजगार विभागका अनुसार साउनमा मात्रै २ हजार जनाले श्रमस्वीकृति लिएर गएका छन् । भेंडा गोठालाको माग धेरै भए पनि काम निकै कठिन हुने हुँदा यसमै भनेर नेपाली नआउने उनले बताए ।
त्यस्ता काममा जाने कामदारको तलब पनि अरूभन्दा बढी ७० कुबेती दिनार -झन्डै १६ हजार रुपैयाँ) पाउने गरेका छन् । ‘हामीले १ लाख ३० हजार रुपैयाँ तिरेर मस्जिदको काममा आएका थियौं,’ सुनसरीका कसिम खान र सप्तरीका फकिर खानले भने, ‘यहाँ आएपछि मात्रै भेंडीगोठमा परेको थाहा पाइयो ।’