धनकुटा : महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङ गाउँ यतिवेला शोकमा डुबेको छ। गाउँमा एक परिवारका सदस्यले आफ्ना अभिभावक गुमाएपछि उनीहरूका सन्तान मात्रै होइन, पूरै गाउँ शोकमा डुबेको छ।
महालक्ष्मी नगरपालिका केन्द्र जितपुर बजारबाट ढोडे हुँदै सिप्रिङ पुगिन्छ। बीचमा लक्ष्मी खोला बग्छ। पारि सिप्रिङ गाउँ छ भने वारि ढोडे। सिप्रिङ गाउँमा १७ घर छन्। ती सबै घर मगर समुदायका हुन्। सोही गाउँमा डम्बरबहादुर मगर र विद्या मगरको परिवार बसोबास गर्दै आइरहेका थिए।
सिप्रिङ गाउँका ४२ वर्षीय डम्बरबहादुर मगरको वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका बेला गत भदौ ३ गते मृत्यु भयो।
डम्बरबहादुरको मृत्यु भएको खबर पाएको तीन दिन नबित्दै भदौ ७ गते उनकी श्रीमती विद्या मगरको पनि मृत्यु भयो। करिब तीन दिनको अन्तरालमा श्रीमान् डम्बरबहादुर र श्रीमती विद्याको मृत्यु भयो। परिवारका सदस्यले विद्याको काजकिरिया गरे पनि डम्बरबहादुर शव कुवेतमा नै रहेका कारण काजकिरिया भएको छैन। आमाको काजकिरिया गरिसकेका परिवारका सदस्य कहिले बुबाको शव आउँला र काजकिरिया गर्न पाइएला भन्ने पर्खाइमा छन्।
अभिभावक गुमाएपछि तीन छोरी अहिले बेसहरा बनेका छन्। उनीहरूका जेठी छोरी १६ वर्षकी विपना मगर, १५ वर्षकी सञ्जु मगर र २ वर्षकी संयुक्ता मगर हुन्। बुबा डम्बरबहादुर विदेश गएपछि २ वर्षकी छोरी संयुक्ता र आमा विद्या मात्रै घर बस्थे। उनीहरूका दुई छोरी विपिना र सञ्जु अध्ययनका लागि धनकुटा सदरमुकाम बसेका थिए। दुई छोरी प्लस टु पढ्ने भएका छन्। कान्छी छोरी दुई वर्षकी छिन्। दुई वर्षको छोरी देख्दा जोकोहीको आँखा रसाउँछ। सानी छोरीलाई बुबाआमा गुमाएको पत्तै छैन।
तीन दिनको अन्तरालमा बहिनीज्वाइँलाई गुमाउँदा अहिलेसम्म विश्वास नै नलागेको विद्याका दाजु गणेशबहादुर मगरले बताए। भान्जीहरू देख्दा बहिनी ज्वाइँलाई झलझली सम्झिन्छु। आँखा रसाइहाल्छ। अन्नपूर्णसँग फोनमा कुरा गर्दासमेत उनी भक्कानिए। ‘घरको कमाइ गर्ने अभिभावक गुमाउँदा भान्जीहरूलाई कस्तो पीडा परेको होला ! सम्झिन्छु आँसु आइहाल्छ। हामी आफन्त सबैलाई पीडा भएको छ’, उनले भने।
कुवेतबाट श्रीमान्को मृत्युको खबर पाएपछि विद्या विक्षिप्त बनेकी थिइन्। श्रीमान् मृत्युको खबरले बेहोस् बनेकी थिइन, विद्या। उपचारका लागि महालक्ष्मी नगरपालिका केन्द्र जितपुरस्थित नगर अस्पतालमा पु¥याउना साथ अस्पतालले मृत घोषण गरिदिएको मृतक विद्याकी दाजु गणेशबहादुर मगरले बताइन्। ‘शुक्रबार फोनमा कुरा गर्दा बहिनीलाई हामी छौं धेरै चिन्ता नलिनु। छोरीहरू छन् भनेर सहानुभूति दिलाए। तर, शनिबार एक्कासि बहिनीको खबर सुन्दा छक्क परेँ’, उनले भने।
पारिवारिक अवस्था
डम्बरबहादुर मगरका बुबा हरिबहादुर मगरको तीन महिनाअघि जेठमा मात्रै मृत्यु भएको थियो। मृतक हरिबहादुर मगरका चार छोरामध्ये डम्बरबहादुर साहिँला छोरा हुन्। डम्बरका दाजुभाइहरू छुट्टिसकेका छन्। उनका दुई दाजुमध्ये जेठा गाईघाटमा बस्छन्। माइला घरमै छन् भने कान्छा भाइ वैदेशिक रोजगारीको सिलसिलामा विदेश छन्।
दाजुभाइसँग छुट्टिएर डम्बरबहादुर श्रीमती र तीन छोरीसहित बेग्लै बस्थे। उनीहरूका ३ छोरी छन्। दुई वर्षअघि विदेश गएका थिए, डम्बर। तीन छोरीमध्ये जेठी र माइली छोरी धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिर विद्यालयमा शिक्षा संकायको कक्षा १२ र ११ मा अध्ययनरत थिए। दुई वर्षकी कान्छी छोरी आमा विद्यासँगै गाउँमा बस्थिन्। अहिले बुबा र आमाको मृत्यु भएपछि तीन छोरीहरू हजुरआमासहित आफन्तसँग घरमा बस्दै आएका छन्।
शव ल्याउन परिवारको हारगुहार
डम्बरहादुरको शव कहिले आउने हो भन्ने चिन्ता परिवारमा छ। मृतक डम्बरको शव अहिले कुवेतमा छ। उनको शव ल्याउन सरकारी निकायसहित स्थानीय तहले पहल गरिरहेको छ। ज्वाइँको शव ल्याउन पहल गरिदिन जेठान गणेशबहादुर मगरले सरकारी निकायमा निवेदन दिएका छन्। उनले गत भदौ ९ गते महालक्ष्मी नगरपालिकासमक्ष निवेदन लेख्दै कुवेतमा मृत्यु भएका ज्वाइँ डम्बरबहादुर मगरको शव नेपाल र नेपालबाट घरसम्म निःशुल्क झिकाउन पहल गरिदिन अनुरोध गरेका छन्।
महालक्ष्मी नगरपालिकाका रोजगार संयोजक गौरव कार्कीले मृतकका जेठान गणेशबहादुर मगरबाट निवेदन प्राप्त भएको र उक्त निवेदन प्राप्त हुनसाथ प्रक्रिया अघि बढाइएको बताए। मृतकको शव झिकाउनका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन पेस गरिएको र पहल भइरहेको उनले बताए।
ऋणले विदेश जान बाध्य
घरछेउमै डम्बर र विद्याका परिवारले ५ रोपनी खेत किनेका थिए। खेत किन्दा ऋण लागेको थियो। गाउँघरमा बसेर जति कमाए पनि ऋण तिर्न धौ–धौ भएपछि डम्बरले विदेश जाने सोच बनाएका थिए। जेठान गणेशबहादुरका अनुसार ज्वाइँले जग्गा किनेको ऋण र छोरीहरूलाई पढाउन खर्चको जोहो हुने भन्दै दोस्रो पटक विदेश गएका थिए।
‘वैदेशिक रोजगारको सिलसिलामा ज्वाइँ पहिल्यै पनि १० वर्ष साउदी वा कतार बस्नुभएको थियो’, उनले भने, ‘एक वर्ष घरमै बसेर जग्गा किन्दाको ऋण र छोरीहरूलाई पढाउन भन्दै २०८० सालमा विदेश जानु भएको थियो।’ आफूले दुःख भोग्नुपरे पनि छोरीहरूलाई राम्रो शिक्षा दिने बाबुआमा सपना थियो। तर, छोरीहरूको त्यो सपना पूरा हुन नपाउँदै बाबुआमाले संसार त्याग्न बाध्य भए।
गाउँकै अग्रणी महिला थिइन्, विद्या
सिप्रिङ गाउँकै अग्रमी महिला थिइन्, विद्या। गाउँघरमा हुने कार्यक्रम तथा सामाजिक कार्यमा उनी सधैं अग्रसर हुन्थिन्। गाउँमा रहेको विद्यालयको व्यवस्थापन समितिमा रहेर उनले कामसमेत गरेकी थिइन्। केही कार्यक्रम गर्न सहभगी जुटाउनु पर्यो भने विद्यालाई भन्दा भेला हुने गरेको छिमेकी विमला थापाले बताइन्। सामाजिक क्षेत्रमा उनको सक्रियता राम्रो थियो।
उनको मृत्युले परिवारले सदस्य मात्र गुमाएको छैन, गाउँले नै एउटा सक्रिय महिला नेतृत्व गर्ने सदस्यसमेत गुमाएको थापा बताउँछिन्। उनीहरूको परिवारमा परेको शोकले गाउँलाई नै शोकमा पारेको उनको भनाइ छ। भविष्य राम्रो होस् भनेर वैदेशिक रोजगारीमा जाने चलन छ। तर, कतिपय यस्ता घटनाले कहालीलाग्दो बनाउने उनले बताइन्।
सहयोग संकलन सुरु
अभिभावक गुमाएपछि बेसहरा बनेका छोरीहरूको भरणपोषण र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ। घरमा कमाउने बाबुआमा गुमाएपछि बेसहरा बनेका उनीहरूलाई भरणपोषण र अध्ययनमा आर्थिक संकट भएपछि सामाजिक सञ्जालमा अभियान सुरु गरिएको छिमेकी विमला थापाले बताइन्। अहिले आर्थिक सहयोग जुट्न थालेको उनले बताइन्। आर्थिक सहयोग संकलन अभियानमा उनीसहित सुरेश राई, संगीता कटुवाल, तेजबहादुर अधिकारी संलग्न छन्। यो अभियान मामा गणेश मगरसँग सरसल्लाह गरेर सुरु गरिएको अभियानकर्ता विमला थापाले बताइन्। अहिले जुटेको सहयोग सोझै माइली छोरीको खातामा जम्मा हुने उनले बताइन्।
महालक्ष्मी नगरपालिकाले पनि दुई छोरीहरूको अध्ययनका लागि निःशुल्क पठनपाठनको व्यवस्था गर्ने नगरप्रमुख ध्रुवराज रायले बताए। आवासीय सुविधा दिने र उनीहरूको पढाइ नसकुन्जेलसम्म वार्षिक ३०÷३० हजार रुपैयाँको दरले आर्थिक सहयोग दिने नगरप्रमुख रायले बताए। त्यसैगरी, उनले डम्बरबहादुरको शव ल्याउन सरकारी प्रक्रिया अघि बढाइएको र छिट्टै शव आउनेसमेत जनाए।