श्रम स्वीकृति धमाधम

19 September, 2020

काठमाडौँ, असोज ३ गते । विश्वव्यापी महामारीका रूपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका बीचमै ५८ देशमा वैदेशिक रोजगारीमा जानका लागि सात हजार बढीले नेपालीले श्रम स्वीकृति लिएका छन् ।

गत असार १८ गते पुनः श्रम स्वीकृति र गत भदौ १४ गते नयाँ श्रम स्वीकृति खुला गरेपछि भदौ महिनासम्म ती देशमा जानका लागि सात हजार १७१ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कार्यालय ताहाचलले जनाएको छ । जसमा नयाँ श्रम स्वीकृति लिने एक सयभन्दा कम छन् भने बाँकी सबै पुनः श्रम स्वीकृति लिने रहेका छन् ।

कोभिड–१९ को जोखिम स्वदेश र विदेश जताजतै बढेपछि गत फागुन २९ बाट सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो । सो कार्यालयका अनुसार यस अवधिमा छ हजार ६४६ पुरुष र ५२५ महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

गएको भदौ महिनासम्म विभिन्न ५८ देशमा जानका लागि श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तीन हजार ४६८ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै श्रम स्वीकृति लिनेमा दोस्रो कतारका लागि एक हजार ३५३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस अवधिमा मलेसियाका लागि ६३९, जापानका लागि ३८३, साउदी अरेबियाका लागि ३०३ जनाले श्रम स्वीकृति लिएका छन् ।कुवेतका लागि २१७, ओमानका लागि १३५, बहराइनका लागि १४९, माल्दिभ्सका लागि ७१, पोल्यान्डका लागि ७० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै अफगानिस्तान, साइप्रस, इजरायल, माल्टा, पोर्चुगललगायत अन्य देशका लागि पनि नेपाली कामदारले श्रम स्वीकृत लिएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले नयाँ श्रम स्वीकृति खोल्ने निर्णय गरेसँंगै वैदेशिक रोजगार व्यवसायी तथा व्यक्तिगततर्फ नयाँ श्रम स्वीकृति लिने क्रम धमाधम भइरहेको जानकारी दिनुभयो ।

रोजगारदाता कम्पनीले श्रमिक लिनका लागि यसअघि भएको सम्झौता अनुसारको सेवा सुविधा दिने प्रतिबद्धता पत्र बनाई नेपाली दूतावास र वैदेशिक रोजगार विभागमा इमेल गरेमा श्रम स्वीकृति दिने गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024