श्रम सम्झौता छिट्टै गर्न मलेसिया तयार

3 April, 2014

मलेसियाले नेपालसँग छिट्टै श्रम सम्झौता गर्न तयार रहेको जनाएको छ । सन् २०१५ मा हुने संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचनका लागि समर्थन जुटाउन मंगलबार तीनदिने नेपाल भ्रमणमा आएका मलेसियाका गृहमन्त्री अह्मेद जाहिद हमिदीले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई बुधबार भेटी यस्तो कुरा बताएका हुन् ।  ‘मलेसिया छिट्टै श्रम सम्झौता गर्न तयार छ,’ भेटघाटपछि राज्यमन्त्री गुरुङले भने । करिब आधा घन्टा भएको भेटघाटमा दुई देशबीचको श्रम समस्या समाधान गर्न राज्यमन्त्री गुरुङले श्रम सम्झौताको प्रस्ताव राखे । मलेसियाका गृहमन्त्री हमिदीले भ्रमणबाट फर्किनसाथ त्यस विषयमा निर्णय गर्ने प्रतिक्रिया दिए । उनले राज्यमन्त्री गुरुङलाई मलेसिया भ्रमणको निम्तोसमेत दिए । राज्यमन्त्री गुरुङले हमिदीलाई गैरकानुनी भएर थुनामा रहेका कामदार सजिलै फर्किन सक्ने व्यवस्था मिलाउन आग्रह गरे । हमिदीले गैरकानुनी कामदार सजिलै फर्किन सक्ने व्यवस्था मिलाउने बचन गुरुङलाई दिए ।  तर हमिदीले आप्रवासी कामदारलाई व्यवस्थापन गर्न मलेसियाले बायोमेटि्रक प्रणाली, भिसा प्रशोधन, भिसा संकलन र कामदार प्रशिक्षणलगायत काम ‘आउटसोर्सिङ’ गर्न लागेको भन्दै त्यसलाई नेपालले मान्नुपर्ने बताए । ‘हामीले गर्न लागेको आउटसोर्सिङलाई तपाईहरूले फलो गर्नुपर्छ,’ हमिदीको भनाइ उद्धृत गर्दै भेटघाटमा सहभागी एक अधिकारीले भने । प्रत्युत्तरमा राज्यमन्त्री गुरुङले श्रम सम्झौताबाट सबै विषय सम्बोधन गर्ने बताए । मलेसियाले इन्ट्री भिसा शुल्क ७ सय रुपैयाँ लिन्छ । तर मलेसियाले मलेसिया भीएलएन नेपाल नामक कम्पनी आउटसोर्सिङ गरी भिसा प्रशोधन शुल्क ३ हजार २ सय रुपैयाँ लिन स्वीकृति दिएको छ । गत कात्तिक १५ देखि काम सुरु गरेको भीएलएनले मलेसिया जाने कामदारसँग करिब ७० करोड रुपैयाँ उठाइसकेको छ । भीएलएनले त्यसरी उठाएको पैसा हङकङ पठाउन खोजेपछि प्रशोधन शुल्कको वैधतामा समेत प्रश्न उब्जेको छ।  त्यस्तै मलेसियाले लागू गर्न खोजेको बायोमेटि्रक प्रणालीका लागि योग्य बनाइदिने भन्दै स्वास्थ्य व्यवसायी महासंघले प्रतिमेडिकल सेन्टर ५० लाख रुपैयाँ उठाइरहेको यसअघि नै खुलासा भएको थियो । यो प्रणाली लागू भए मलेसिया जाने हरेक कामदारले करिब १५ सय रुपैयाँ अतिरिक्त रकम तिर्नुपर्नेछ भने स्वास्थ्य परीक्षण शुल्क २ हजार ६ सय २५ रुपैयाँबाट बढेर करिब ६ हजार ५ सय रुपैयाँ पुग्नेछ । त्यस्तै बायोमेटि्रक उपकरण र सफ्टवयरका लागि हरेक मेडिकलले ८ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ ।  मलेसियाले कामदारको राहदानी संकलन गर्न अर्को कम्पनी ‘आउटसोर्सिङ’ गर्न लागेको छ, जसका लागि हरेक कामदारले ३ हजार २ सय रुपैयाँ खर्चिनुपर्नेछ। भेटघाटमा गृहमन्त्री हमिदी मलेसिया जाने कामदारलाई प्रशिक्षण दिन अर्को कम्पनी आउटसोर्सिङ गर्ने पनि बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024