श्रम रोजगारका उजुरी लिन कल सेन्टर सञ्चालन

2 April, 2019

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित गुनासो र उजुरी टिपाउन कल सेन्टर सञ्चालनमा ल्याएको छ । सोमबार पीडितसँग टेलिफोनमा कुराकानी गर्दै श्रममन्त्री गोकर्ण विष्टले सिंहदरबारस्थित मन्त्रालयको भुइँतलामा रहेको कल सेन्टरको उद्घाटन गरेका हुन् । 

 

वैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सञ्चालनमा ल्याइएको कल सेन्टरमा सेवाग्राहीहरूले श्रम, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षासँग सम्बन्धित समस्या र सुझाब टिपाउन सकिने मन्त्री विष्टले बताए । प्राप्त गुनासो तथा उजुरीलाई प्रत्यक्ष रूपमा सम्बोधन गरिने उनको भनाइ छ । 

 

यसरी हुनेछ, गुनासो र उजुरीको सम्बोधन

 

कल सेन्टरमा दैनिक प्राप्त हुने गुनासाहरू तत्काल सम्बोधन गर्न अनलाइन प्रणालीबाटै सम्बद्ध निकायमा समन्वय गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्गर अलीले बताए । ‘कल सेन्टरमा गुनासो आउनेबित्तिकै सम्बन्धित अधिकारीको मोबाइलमा रहेको एपले नोटिफिकेसन दिन्छ । सम्बन्धित अधिकारीले कुन समयमा उजुरी हेर्‍यो र के कारबाही अगाडि बढायो भन्ने विषयसमेतको निगरानी मन्त्रीज्यू, सचिवज्यूलगायतसम्बद्ध पदाधिकारीले मोबाइल एप र वेब लगइनबाटै प्रत्यक्ष गर्न सक्नुहुन्छ,’ उनले भने, ‘हामीले प्रविधिलाई अधिकतम प्रयोग गर्ने प्रयास गरेका छौँ । यसले टिपाएका गुनासा सम्बन्धित निकायमा पुग्न हप्तौँ लाग्ने अवस्था रहँदैन ।’

 

उजुरी र गुनासो कसरी टिपाउने ?

 

नेपालभित्रबाट कल सेन्टरको सम्पर्क नम्बर ११४१ र १६६००१५०००५ मा फोन गरेर गुनासो तथा उजुरी टिपाउन सकिनेछ । विदेशबाट ९७७१५९७०००८ नम्बरमा सशुल्क रूपमा कल गर्न सकिनेछ । ९८०१८०००१३ नम्बरमा भाइबर, इमो, ह्वाट्सएपलगायतका अनलाइन माध्यमबाट समेत फोन तथा म्यासेज गर्न सकिनेछ । यस्तै अबििअभलतभच२ाभउद।नयख।लउ मा इमेल गरेरसमेत उजुरी टिपाउन सकिनेछ भने ट्विटरमा २mय)िअबििअभलतभच  ह्यान्डल फलो गर्न तथा फेसबुकमा २mयअिबििअभलतभच  पेज लाइक गर्न सकिनेछ । अहिले परीक्षणका रूपमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन भइरहेको कल सेन्टरमा नेपाल टेलिकमको नेटवर्कबाट निःशुल्क फोन गर्न सकिनेछ । छिट्टै एनसेल र अन्य सेवा प्रदायकका ग्राहकले समेत निःशुल्क टेलिफोन गर्न सकिने व्यवस्था मिलाइनेछ । 

 

कल सेन्टरमा सम्बोधन हुने गुनासो

 

-वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषका साथै मन्त्रालयमातहतका निकायहरूबाट भइरहेका काम–कारबाहीसँग सम्बन्धित विषय

 

-वैदेशिक रोजगारीको क्षेत्रमा ठगी तथा अन्यायमा परेका कामदारका समस्या

 

-विदेशमा अलपत्र परेका तथा स्वास्थ्य समस्याबाट पीडित भएर घर फर्कन चाहने कामदारलाई राहत तथा उद्धार

 

-विदेशमा ज्यान गुमाएका तथा अलपत्र परेका नेपाली कामदारका शव नेपाल ल्याउन

 

-झुटा मुद्दामा जेल सजाय भोगिरहेका कामदारलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउन 

 

-वैदेशिक रोजगारसँग सम्बन्धित अभिमुखीकरण कार्यक्रम, सीप विकास तालिम, वैदेशिक रोजगारीमा सुरक्षित रूपमा जान अपनाउनुपर्ने प्रक्रियाहरू, म्यानपावर कम्पनीहरूको विषयको जानकारी 

 

-योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने प्रक्रियाहरू र यस सम्बन्धमा भोग्नुपरेका समस्याहरू

 

-प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सम्बन्धित जिज्ञासा तथा समस्याहरू

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024