श्रमिकमा आधारित हस्तलिखित पुस्तिका विमोचन

18 July, 2025

विष्णु घिमिरे

साउदी : नेपाली दूतावास रियादद्वारा साउदीमा कर्मथलो बनाउने नेपाली श्रमिकमा आधारित सचेतनामूलक हाते पुस्तिका विमोचन सम्पन्न गरिनुको साथै सोसम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ।

गत असार २७ गते दूतावास प्राङ्गणमा सम्पन्न कार्यक्रममा साउदी अरेबियाका लागि नेपाली महामहिम राजदूत डा. नरेश विक्रम ढकालले उक्त सचेतनामूलक हाते पुस्तिका विमोचन गरेका थिए। हाते पुस्तिकामा मुख्य रुपमा साउदी अरेबियामा रहेका र साउदी आउन चाहने नेपाली श्रमिकले जान्नुपर्ने विषयहरू तथा राजदूतावासले प्रदान गर्ने सेवा तथा भूमिका, कन्सुलरसम्बन्धी सेवा, सामाजिक सुरक्षा योजना तथा साउदी अरबमा कुनै नेपालीको दुर्घटना र मृत्यु भएमा क्षतिपूर्ति तथा शव नेपाल पठाउने प्रक्रिया लगायतका विषयहरूमा विस्तृतमा जानकारी समावेश गरिएको छ।

कार्यक्रममा राजदूत ढकालले सहभागीहरूलाई सम्बोधन गर्दै कार्यक्रमको मुख्य उद्देश्य साउदी अरबमा विभिन्न पेशा व्यवसाय तथा रोजगारी गरी बसेका करीव चार लाख नेपाली र भविष्यमा आउने नेपाली श्रमिकहरूले समेत जान्नु पर्ने कुरा, पालना गर्नु पर्ने नियम र कर्तव्य, राजदूतावासले प्रदान गर्ने सेवा तथा भूमिका र यहाँको नियम(कानुनका बारेमा सुसुचित गराउने र साउदी अरेबियामा रहेका नेपाली डायस्पोरा मार्फत यस सम्बन्धी अधिकतम सूचना एवं जानकारी प्रवाह गर्ने रहेको बताए।

साथै, अन्तरक्रिया कार्यक्रममा उठेका विषयहरू लगायत नेपाल र साउदी अरेबिया बीचको द्विपक्षीय श्रम सम्झौता, दुर्घटना र मृत्यु भएमा नेपालीले पाउने क्षतिपूर्तिलगायत राजदूतावासले गरिरहेका महत्वपूर्ण कार्यहरू र प्रगति एवं चुनौतीका विषयमा समेत जानकारी गराएका थिए।

कार्यक्रममा हाते पुस्तिकामा समावेश भएका विषयहरूमा राजदूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीले प्रस्तुतीकरण गर्नुको साथै अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै विमोचन गरिएका पुस्तिका सम्बन्धमा थप सुझाव समेत मागेका सुरक्षा भने वैदेशिक रोजगारीको क्रममा श्रमिक समस्या तथा मृत्युवरण भएका नेपालीहरूको विवरणबारे दूतावासमा आधिकारिक रूपमा सूचना प्रवाह गर्न आग्रहसमेत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रसचिव अमृतबहादुर राईको प्रतिनिधिको रुपमा मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले सचिवको शुभकामना सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा भर्चुअल माध्यमबाट श्रम गन्तव्य मुलुकका नेपाली नियोगहरूका महामहिम राजदूतहरू, महावाणिज्यदूतहरू र अन्य पदाधिकारीहरू, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कन्सुलर सेवा विभाग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट पदाधिकारीहरू सहभागी रहनुको साथै सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तथा एमआरसी नेपालका प्रतिनिधिहरू लगायत साउदीमा रहेका नेपाली समुदायको उपस्थित रहेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026