श्रमिकको क्षमता बढाउन नेपाल र कोरियाबीच समझदारी

10 November, 2023

नेपाली श्रमिकको दक्षता बढाउने सम्बन्धमा नेपाल र कोरियाबीच सम्झौता भएको छ।

यस सम्बन्धमा नेपालको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र दक्षिण कोरियाको ग्लोबल इन्स्टिच्युट फर ट्रान्सफरिङ स्किल्स (गिफ्टस) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

दक्षिण कोरियाको एचआरडीअन्तर्गत रहेको गिफ्ट्सका कार्यकारी निर्देशक बियोङ वुक ली र प्रतिष्ठानका कार्यकारी निर्देशक उमाकान्त आचार्यले हस्ताक्षर गरेका हुन्। तालिम प्रतिष्ठानले विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गर्दै आएका १५ वटा तालिम केन्द्रलाई प्रदेश तहमै सम्झौता गरेको छ।

सम्झौता अनुसार आगामी दिनमा कोरिया जाने नेपाली युवालाई तालिमको सीप परीक्षण, प्रमाणीकरण र स्तरीकरण गरिने छ। कोरियामा काम गर्ने नेपाली श्रमिकहरूलाई कोरियाका रोजगारदाताले एकदमै मनपराउने गरेको गिफ्ट्सका कार्यकारी निर्देशक लीले बताए।

इपिएस कोरिया शाखाका निर्देशक गुरूदत्त सुवेदीले थप कार्ययोजना बनाएर अघि बढ्ने बताए। प्रतिष्ठानबाट अब दिइने तालिम कोरिया जाने नेपालीहरूका लागि मात्र नभएर स्वदेशमै रोजगर हुन पनि सघाउने बताए।

‘कोरिया जानेका लागि मात्र नभई सबै नेपालीहरूका लागि यो तालिम फलदायी हुने छ किनभने अब तालिम मात्र होइन, सीप परीक्षण गरी प्रमाणपत्र पनि दिइने छ’ उनले भने। प्रतिष्ठानबाट प्रदान गरिने कतिपय तालिमहरू तालिम निःशुल्क हुनेछन् भने कतिपय तालिम सशुल्क हुनेछन्। प्रतिष्ठानले हाल सामान्य खालका तालिम प्रदान गर्दै आएको छ। अब यसलाई थप व्यवस्थित गरेर अत्याधुनिक सुविधायुक्त केन्द्र बनाउन लागिएको निर्देशक सुवेदीले बताए।

प्रतिष्ठानले कोरियाको श्रम बजारसँगै नेपालको श्रम बजार तथा अन्य गन्तव्य मुलुकलाई आवश्यक पर्ने खालको श्रम शक्ति उत्पादन गर्ने दाबी पनि गरेको छ। प्रतिष्ठानका कार्यकारी निर्देशक उमाकान्त आचार्यले यस्तो खालको तालिम प्रदान गरेपछि कोरियामा जाने कामदारलाई समेत थप सहज हुने बताए।

नेपालीहरूलाई रोजगारीको लागि दक्षिण कोरिया सबैभन्दा राम्रो रहेको भन्दै उनले थप सीप सिकाएर कोरियासँगै अन्य देशमा समेत नेपालीहरूलाई काम गर्न सहज हुने उनको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024