श्रमको सम्मान खोज्दै सहर सफाइकर्मी

2 February, 2026

Shanti Tamang

काठमाडौंका हामी हिँड्ने सफा र धुलोरहित सडकमा कसले पसिना बगाएका होलान् ? धेरैलाई जानकारी नहुन सक्छ । हामीलाई जानकारी नभए पनि सरसफाइकर्मी वर्षौंदेखि सडक सफा गर्नमा तल्लीन छन् ।

बनेपाकी रमिला देउलाले काठमाडौं महानगरपालिकामा कुचिकारका रूपमा ३० वर्षअघि नै सडक सफाइको काम सुरु गरिन् । २०५२ सालमा कामकै सिलसिलामा काठमाडौं पसेकी उनले महानगरको कर्मचारीका रूपमा काम सुरु गरिन् । तर, त्यसवेला उनलाई गरिने व्यवहार भने डरलाग्दो थियो । उनीजस्ता सरसफाइको काम गर्नेलाई घरको पेटीमा समेत बस्न दिँदैनथे । काम गरिरहँदा कोही आइपुगे, काम नै रोक्नुपर्थ्यो । घरको मंगाल सफा गर्नुपर्थ्यो ।

मान्छेलाई जस्तो व्यवहार पटक्कै गरिँदैनथ्यो । तर, अहिले ती दिनमा आकाश–जमिनको फरक छ । अहिले र पहिलामा आफ्नो कामको विषयलाई लिएर गरिने विभेद फरक भएको उनी बताउँछिन् । कामकै आधारमा उनले भोगेको एउटा विभेद यस्तो थियो– अलि पहिले नै एकजना सरले तिमीले राम्रो काम गर्दी रहेछौ । भित्र काम गर्ने मानिस भएन । त्यसैले अब बाहिर काम गर्नुपर्दैन । भित्र चिया बनाउने काम गर भन्नुभयो । त्यहीँ अर्को हाकिम सरुवा भएर आउनुभयो । उहाँले फलानो यस्तो हो, यस्ताको हातबाट के चिया खानु भन्नुभयो । कार्यालयभित्रै यस्तो व्यवहार हुन्थ्यो ।’

करिब १३ वर्षदेखि उनी नाइकेका रूपमा काम गर्दै छिन् । उनको काम कहाँ सफा भयो, कहाँ बाँकी छ, कसलाई, कहाँ पठाउने भन्ने भएको छ । उनको भूमिकामा परिवर्तन भएसँगै कुचीकारलाई गर्ने व्यवहारमा परिवर्तन भएको उनलाई लागेको छ । ‘पहिले सफाइको काम गर्नेबित्तिकै हाम्रो नजिक नबसोस्, वरपर नदेखियोस् भन्ने हुन्थ्यो । पानीसमेत खान दिँदैनथे । घरको पेटीमा समेत बस्न दिँदैनथे । उनले भनिन्, ‘अहिले धेरैजसो मानिसमा परिवर्तन आएको छ । काम गर्ने, सफा गर्ने मानिस हो, बस्नुस् । पानी पिउनुस् भन्छन् । पानी किनेरै दिन्छन् । चिया खान दिन्छन् । अहिले धेरै परिवर्तन आएको छ ।’

उनले काम सुरु गर्दाताका बिहान ५ देखि ९ बजेसम्म र दिउँसो १ देखि ४ बजेसम्म गरी आठ घन्टा काम गर्नुपर्थ्यो । अहिले त्यो समयावधि फेरिएर बिहान ६ देखि दिउँसो २ बजेसम्म भएको छ । पहिला उनले काम गर्दा स्वास्थ्य सुरक्षाका सामान केही पाइँदैनथ्यो । सडक बढार्न कुचो मात्र दिइन्थ्यो । अहिले सुरक्षाका सामान मास्क, पन्जा, हेलमेटजस्ता धेरै सामान उपलब्ध हुन्छन् । कोभिडपछि दिनमा एक सिफ्ट मात्र काम गर्नुपर्ने भए पनि सरसफाइ क्षेत्रमा कर्मचारीको अभावका कारण कामको भार थपिएको उनी बताउँछिन् । ‘पहिलेजस्तो मान्छे पनि धेरै छैनन् । कामको भार थपिएको छ । कसैले काम छाडे, मान्छे थपिएन । हामीले जनप्रतिनिधिलाई कुरा पनि राखेका छौँ । अब आउने भाइबहिनीलाई हाम्रो भन्दा राम्रो होस् भन्ने लागेको छ,’ उनले भनिन् ।

सफाइकर्मीलाई हेर्ने नजर

देउलाले भनेजस्तै सफाइकर्मीलाई हेर्ने नजरमा धेरै परिवर्तन आएको छ । त्यसैले, पछिल्लो समय यो पेसामा युवापुस्तासमेत देखिएका छन् । तीन वर्षअघि तीन सयजना सरसफाइकर्मी भर्ती गर्दा धेरै युवा आएका छन् ।

मकवानपुरकी अनिता कार्कीले महानगरमा सफाइको काम गरेको तीन वर्ष पुग्नै लाग्यो । पहिला सिलाइबुनाइको काम गर्ने उनी अहिले महानगरको सफाइकर्मी भएकी छिन् । बिहान ६ देखि २ बजेसम्म काम गर्छिन् । १ नम्बर वडाको धेरै क्षेत्रमा काम गर्ने भए पनि उनी आवश्यकताअनुसार विभिन्न वडामा पुग्छिन् । ‘महानगरको सफाइकर्मी हुँ भन्न गाह्रो छैन । हामीले गर्दा नै पहिले धेरै फोहोर काठमाडौं अहिले सफा भएको छ । धेरै मान्छेलाई हामीले गर्दा नै सफा भएको भन्ने भएको छ । त्यसैले, खुसी लाग्छ,’ उनले भनिन् । कम्पनीमार्फत काम गरिरहेका उनीहरूले मासिक १८ हजार पारिश्रमिक पाउँछन् । कम्पनीमार्फत पाँच वर्षका लागि काम गरिरहेकी उनी महानगरले आफूहरूलाई करारमा राखिदिए सफाइकर्मीमाथि न्याय हुने बताउँछिन् ।

जुम्लाकी हिरा नेपाली काठमाडौं बस्न थालेको नै १५ वर्ष भयो । उनले १२ कक्षासम्म पढेकी छिन् । उनलाई पनि सफाइकर्मी भएर काम गर्दा खुसी नै लाग्छ । आफ्नै देशमा बसेर काम गर्न पाउँदा उनलाई गर्व महसुस हुन्छ । ‘सफाइकर्मी भएकै कारण कसैले नराम्रो व्यवहार गरेजस्तो लाग्दैन,’ उनले भनिन्, ‘मलाई मेरो जिल्लाका मान्छेले कहाँ, के काम गर्छौ ? भनेर प्रश्न गर्छन् । म महानगरमा सफाइको काम गर्छु भनेर गौरवसाथ भन्न सक्छु ।’

काठमाडौंका जोन कुँवरले १२ कक्षासम्म पढेका छन् । सात वर्ष दुबईमा बसेर सन् २०२१ मा नेपाल फर्किएका हुन् । नेपाल आएपछि महानरपालिकाले तीन सयजना सरसफाइकर्मी माग गर्‍यो । त्यसपछि उनी महानगरपालिकामा सफाइकर्मीको रूपमा गरिरहेका छन् । सुरुका दिनमा सडकमा कुचो लिएर निस्कनुपर्दा अप्ठ्यारो भए पनि अहिले कामकै कारण फरक अनुभव नभएको बताउँछन् । ‘सुरुका दिन अप्ठ्यारो लाग्थ्यो । लाज पनि लाग्थ्यो । तर, अहिले काम गर्दै गएपछि महानगरमा काम गर्ने भनेपछि मान्छेले अहो ! भनेर सम्मान बढाइदिएका छन् । त्यसैले, अहिले यहाँ काम गर्छु भन्दा खुसी लाग्छ,’ उनले भने ।

उनी मास्क, चस्मा लाएर हिँड्नुपर्ने अवस्थालाई आफूहरूले अहिलेको अवस्थामा ल्याउन सकेकोमा खुसी लाग्ने बताउँछन् । ‘बाटोमा हिँड्न सकिने अवस्था भएको छ । नाक, मुख थुन्नुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम इमानदार भएर गरेका छौँ । त्यसैले, महानगरले हाम्रो टोलीलाई करारमा राख्यो भने राम्रो हुन्थ्यो भन्ने लागेको छ । उमेर बढ्दै गएपछि हामीलाई लिने कोही पनि हुन्न । हाम्रो दु:ख बुझिदिए हुन्थ्यो ।’

रञ्जु कार्की पनि महानगरमा सरसफाइकर्मी भएर काम गर्न थालेको तीन वर्ष लाग्न थाल्यो । दोलखाकी उनी सुरुवाती दिनमा घरेलु कामदारको रूपमा काम गर्थिन् । महानगरले सरसफाइकर्मीको माग गरेपछि उनी यो पेसामा छिरिन् । सरसफाइकर्मी भएर काम गरिरहँदा उनलाई सबैले गर्ने व्यवहार एकैनास हुँदैन । खोला, ढलसमेत काम गर्नुपर्ने भएकाले उनले कहिलेकाहीँ अरूको हेलोहोचो पनि सहनुपर्ने हुन्छ । जे भए पनि उनी महानगरले सरसफाइकर्मीलाई महानगरले करारमा लिए हुन्थ्यो भन्ने लागेको छ । ‘हाम्रो कामलाई सबैले सकारात्मक रूपमा लिँदैनन् । दैनिक आठ घन्टा काम गर्नुपर्ने हाम्रो पेसाको महŒव कम छैन । त्यसैले अहिले कम्पनीमार्फत काम गरिरहेका हामीलाई महानगरले नै लिए हुन्थ्यो भन्ने लागेको छ,’ कार्कीले भनिन् ।

शोभा बरुवालले महानगरमा सरसफाइकर्मीको रूपमा काम थालेको पाँच वर्ष भयो । सफाइकर्मी भएकै कारण उनले सुरुवाती दिनमा केही फरक व्यवहार भोगिन् । तर, अहिले अवस्था फरक भएको उनी बताउँछिन् । ‘मैले काम सुरु गर्दा फोहोरमा काम गर्ने भनेर मान्छेले फरक व्यवहार गर्थे । तर, अहिले केही फरक आएको छ । हामीले गर्दा नै काठमाडौं सफा हुँदै गएको हो भन्ने मान्छेलाई पर्न थालेको छ,’ बरुवालले भनिन् । उनी आफ्नो काममा ठिकठाकै भएको बताउँछिन् । उनका अनुसार सबैले कामको आधारमा भेदभाव नभए हुन्थ्यो ।

सफाइकर्मीलाई पनि सुनियोस्

महानगरका सरसफाइकर्मीमध्ये श्याम पोडे स्थायी कर्मचारी हुन् । उनले महानगरमा सफाइकर्मीको रूपमा काम सुरु गरेका करिब १८ वर्ष भयो । हाल उनी वडा २७ मा नाइकेको रूपमा कार्यरत छन् । सफाइकर्मीको रूपमा काम गर्दाको दिन सम्झँदै उनले भने, ‘हामीले गर्ने कामलाई लिएर गर्ने व्यवहारमा एक प्रतिशत मात्र फरक आयो होला । अझै पनि व्यवहार त्यस्तै छ ।’ उनले काम गर्दाताका सफाइकर्मीलाई फोहोर काम गर्ने फोहोरीको रूपमा हेरिन्थ्यो । अहिले पनि खासै परिवर्तन नभएको उनी बताउँछन् ।

आफूले काम गरेका वर्ष थपिँदै गए पनि स्तर वृद्धि विकासदेखि दरबन्दीअनुसारको भर्नालगायत विभिन्न कुरामा महानगरले चासो नराखेकोमा दु:ख लागेको बताउँछन् । ‘कुनै वेला ३५ सयजना सरसफाइकर्मी थिए । अहिले छ सय जना जति होलान् । तैपनि, नयाँ भर्ना गरिएको छैन । हाम्रा स्तरवृद्धि पनि निकै समयदेखि रोकिएको छ । तैपनि, खोइ हाम्रो कुरा कसले सुन्ने ?’ पोडेले भने । बिहानैदेखि फोहोरमै रहेर काठमाडाैँलाई सफा, धुलोरहित बनाउन लागिपरेका उनीहरूको एउटै चाहना छ, ‘काम सानोठुलो हुँदैन । हामीलाई सम्मानजनक रूपमा हेरियोस् । हामीलाई पनि सुनियोस् ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024