शून्य लागतमा आठ सय श्रमिक मलेसिया जाने

23 January, 2026

शून्य लागतमा वैदेशिक रोजगारीमा गएर मासिक ६० देखि ६५ हजार रुपियाँ कमाइ हुन्छ भन्दा जोकोहीलाई पत्याउन गाह्रोे पर्छ । अधिकांश युवाले खाडी र मलेसियामा मासिक ३०/३५ हजार कमाउन जानका लागि दुई/तीन लाख रुपियाँसम्म तिरेर गइरहेको बेलामा शून्य लागतमा विदेश जान पाइन्छ भन्दा नपत्याउनु स्वाभाविक पनि हो तर मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडी नामक कम्पनीले नेपालबाट शून्य लागतमा यो वर्ष आठ सय श्रमिक लैजाने गरी माग गरेको छ ।

नेपालमा रहेका आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल सर्भिसेज प्रालिमार्फत शून्य लागतमा न्यायोचित भर्ती प्रणालीमार्फत छ सय महिला र दुई सय पुरुष गरी आठ सय नेपाली श्रमिक लैजान लागेको हो । सन् २०२२ मा विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडीले शून्य लागत तथा अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुसार नैतिक भर्ती प्रणाली अवलम्बन गर्दै नेपाली श्रमिकलाई शून्य लागतमा रोजगारीमा लैजाने प्रतिबद्धता गरेको थियो ।

विस्ट्रोन टेक्नोलोजीले श्रमिक विदेश जाने प्रक्रिया राहदानी बनाउनेदेखि श्रम स्वीकृति लिन आउन जाने टिकट, स्वास्थ्य परीक्षण, बिमा, सामाजिक सुरक्षा एवं कल्याणकारी कोष, पूर्वप्रस्थान अभिमुखीकरण तालिमलगायतको खर्चस्वरूप प्रतिश्रमिक एक लाख २० हजार रुपियाँ पठाउने गरेको आकर्षण इन्टरनेसनलका सञ्चालक विष्णु केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो कम्पनीले नेपाली श्रमिकलाई सुरक्षित, मर्यादित र ऋणमुक्त रोजगारी प्रदान गर्ने दीर्घकालीन प्रतिबद्धतासमेत जनाउँदै आएको छ । मलेसियाले देशभित्र देखिएको श्रमिक अभावको परिपूर्ति गर्न दक्षिण एसियाका विभिन्न देशलाई स्रोत मुलुकका रूपमा चयन गरी श्रमिक आपूर्ति गर्दै आइरहेको पनि आकर्षणका सञ्चालक केसीले जानकारी दिनुभयो ।

नेपाल सरकार र मलेसिया सरकारबिच सन् २९ अक्टोबर २०१८ मा श्रम सम्झौता भएको थियो । उक्त सम्झौतापछि मलेसियाका उत्पादन, निर्माण, सेवा, कृषि तथा अन्य विभिन्न क्षेत्रमा नेपालबाट श्रमिक वैधानिक र व्यवस्थित रूपमा जाने गरेका छन् । प्रमुख केसीले शून्य लागत प्रणालीमार्फत विदेश गएका नेपाली श्रमिकले आफ्नो आम्दानी ऋण तिर्न खर्चिनु नपरी औपचारिक माध्यमबाट विप्रेषण नेपाल पठाउन सक्षम हुने गरेको बताउनुभयो ।

उहाँका अनुसार वेस्टर्न टेक्नोलोजी बहुराष्ट्रिय कम्पनी भएकाले श्रमिकसँग कुनै पनि किसिमको शुल्क लिन नपाइने स्पष्ट नीति रहेको छ । कम्पनीमा जाने श्रमिकले आफ्नो राहदानी आफैँ राख्न पाउने, कम्पनी मन नपरे १५ दिनभित्र नेपाल फर्किन सक्ने व्यवस्था पनि गरिएको छ । आकर्षणले विगत १० वर्षदेखि शून्य लागतमा वैदेशिक रोजगारी उपलब्ध गराउँदै आएको छ । गत वर्ष दुई हजार ७०६ जनालाई शून्य लागतमा रोजगारीका लागि मलेसिया पठाएको सो कम्पनीले जनाएको छ । मलेसियामा हाल न्यूनतम तलब एक हजार सात सय रिङ्गिट तोकिएको छ । मलेसिया सरकारले आफ्ना नागरिक र आप्रवासी श्रमिकबिच न्यूनतम तलब समान रूपमा लागु गर्दै आएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारमा जानेमध्ये हाल करिब १० प्रतिशत शून्य लागतमा गइरहेको र १५ देखि २० प्रतिशत सहुलियत शुल्कमा विदेश गएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला केही वर्षयता मलेसियाका बहुराष्ट्रिय कम्पनीले नेपाली श्रमिकलाई शून्य लागतमा लैजान थालेका हुन् ।

श्रमविज्ञ रामेश्वर नेपालले मलेसियाका बहुराष्ट्रिय कम्पनीले सप्लाई चेनमा रोजगारीका लागि आउने श्रमिकले कुनै शुल्क नतिरेको यकिन गर्न कडाइ गरेपछि विशेष गरी मलेसियामा रहेका इलेक्ट्रोनिक्स कम्पनीले रोजगारीका लागि जाने श्रमिकको सम्पूर्ण लागत खर्च उपलबध गराउन थालेको बताउनुभयो । उहाँको बुझाइमा अन्य सामान्य कम्पनीमा जानेभन्दा बहुराष्ट्रिय कम्पनीमा काम गर्न जाने श्रमिकको कार्यस्थल सुरक्षित, मर्यादित र व्यवस्थितका साथै कमाइ र सेवा सुविधा धेरै राम्रो हुन्छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026